कांग्रेस बहस : महासमिति बैठकले राष्ट्र तथा जनताका समस्यामाथि गम्भीर छलफल गर्ला ?
भेषराज पोखरेल
फागुन ८, २०८० मंगलबार १३:४१:४
गठबन्धन सरकारले जनतामा उत्साह भर्न नसकेको र आन्तरिक अर्थतन्त्र खस्कँदै गएको अवस्थामा नेपालको सबैभन्दा ठूलो र प्रजातान्त्रिक दल नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । आमनागरिकले केही राम्रो हुँदैछ, केही समयपछि राम्रो हुनेछ भन्ने आशा गर्न पनि भुल्दै गएको अवस्थामा भइरहेको, प्रजातन्त्रका लागि लामो संघर्ष गर्दै आएको र प्रजातन्त्र पुनः स्थापनापछि सत्ता र त्यसको वरिपरि रहेको दलका नेताहरूले यो बैठकमा कस्ता विषयमा बहस गर्लान् ? के निष्कर्ष निकाल्लान् ? देश र जनताको जीवनस्तर उकास्न कस्तो रणनीति तयार गर्लान् ? आम चासोको विषय बन्न पुगेको छ ।
कांग्रेस अहिले गठबन्धन सरकारको सबैभन्दा ठूलो साझेदार दल हो । संसदमा उसको सबैभन्दा ठूलो दलको हैसियत छ । सरकार कांग्रेसको नेतृत्वमा त छैन तर जिम्मेवार तथा संसदको सबैभन्दा ठूलो दल भएकाले उसका निर्णयहरू चासोका साथ लिने गरिन्छ । यो महासमिति बैठकमा आगामी निर्वाचन अघिसम्म सत्ता गठबन्धन कायम गर्ने कि नगर्ने ? भन्ने कुरामा बढी जोड दिने अवस्था देखिएको छ । अहिले खस्किएको देशको अर्थतन्त्र कसरी उकास्ने ? अझ कांग्रेसकै हातमा रहेको अर्थतन्त्र कसरी व्यवस्थित गरेर दिगो रुपमा बलियो बनाएर लैजाने ? भन्ने विषयमा कांग्रेस महासमिति बैठकमा वृहत् छलफल होस् र भरपर्दो निष्कर्ष निकालियोस् भन्ने आमजनताको चाहना देखिन्छ । अर्को, युवाहरूको विदेश जाने लर्को कसरी कम गर्ने भन्ने विषय तथा जनताका समस्याका बारेमा पनि छलफल होस् भन्ने चाहन्छन् । कांग्रेस महासमिति बैठकमा यी विषयले विशेष प्राथमिकता पाउलान्, यी विषयमाथि तातो बहस होला ? अहिलेको चासोको विषय यही हो ।
कांग्रेसका महामन्त्रीहरूले मिसन ०८४ होइन मिसन आज हुनुपर्छ भन्दै आएका छन् । कांग्रेस भने त्यो बाटोमा छैन । ऊ मिसन आज या ०८४ मा कुहिरोको कागजस्तै हराइरहेको छ, गन्तव्य पहिल्याउन सकेको देखिन्न । कांग्रेसले कुनै स्टन्टवाजी गर्दैन, दिगो अर्थतन्त्र, सबल समाज तथा जनजीविकाको कुरा गर्छ त भनिँदै आएको छ तर त्यो बाटो पनि स्पष्ट छैन । गठबन्धन सरकारको मुख्य घटक तथा सबैभन्दा ठूलो दल कांग्रेसले अर्थतन्त्र सम्हालेको अवस्थामा अर्थतन्त्रका आन्तरिक पक्ष सबै रुपमा कमजोर बन्दै गएका छन् । बाह्य पक्षमा सुधार भएर सन्तोष गर्ने ठाउँ त छ तर त्यो युवाहरूको अति पलायनबाट आर्जित विदेशी धन अर्थात् रेमिट्यान्सबाट भएको स्पष्ट छ ।
आन्तरिक अर्थतन्त्रका अवयवहरू कमजोर छन् । उत्पादन बढेको छैन, आमनागरिकको क्रयशक्ति बढेको छैन भने उपभोगमा गिरावट आइरहेको छ । जसले गर्दा उपभोग्य सामग्रीको आयात घटेको तथ्यांकले स्पष्ट गरेको छ । आन्तरिक सामग्रीको उत्पादन र निर्यात दुवै घटिरहेको छ । रोजगारी बढाउने र युवाहरूलाई नेपालमै रोजगारी दिएर विदेश जानबाट रोकिने कुरा त आइरहन्छन् तर त्यसको विपरीत कामका लागि वा पढ्न दैनिक २ हजारभन्दा धेरै युवाहरू विदेश गइरहेको तथ्यांकले देखाइरहेको छ । यस्तो अवस्थामा कांग्रेसका अर्थमन्त्रीले कुनै खालको भरपर्दो योजना अगाडि सार्न सकेका छैनन् । यी कुराहरू कांग्रेस महासमितिमा गम्भीर छलफलको विषय हुनुपर्ने हो । यो समग्र कांग्रेसको असफलता कि अर्थमन्त्रीको मात्रै ? पार्टीभित्र खोजीको विषय बन्नु आवश्यक छ ।
आर्थिक वर्षको ६ महिना बित्दा विकास बजेट लक्ष्यभन्दा धेरै कम खर्च भएको छ । मन्त्रालयगत अवस्थालाई हेर्दा पनि अर्थमन्त्रालयको खर्च नै कमजोर देखिएको छ । समग्र विकास बजेट जम्मा ३२ प्रतिशत खर्च भएको तथ्यांकले देखाएको छ । अर्थतन्त्र कमजोर अवस्थामा रहेका बेला ऋण लिएर भए पनि विकासका क्षेत्रमा खर्चको मात्रा बढाउनुपर्ने हो तर २ खर्बभन्दा बढी बजेटकै सीमा घटाइयो । यसले अर्थतन्त्रलाई थप शिथिल बनाउने निश्चित छ । अर्थतन्त्र कमजोर भयो भन्दै जनमानसको मनोविज्ञान गिराउने काम भयो भनि रहिन्छ तर कसैले केही भन्नुपर्दैन, प्रष्ट देखिएकै कुरा हो नि । अर्थतन्त्र लयमा आएको भए राजस्व संकलन राम्रो हुनुपर्थ्यो तर तथ्यांकले त्यस्तो देखाउन्न । कतिपय महत्वपूर्ण भन्सार विन्दुबाट लक्ष्यको आधा पनि भन्सार राजस्व उठेको छैन । उद्योग, व्यापारका क्षेत्रमा सुधार हुनुपर्ने हो तर त्यस्तो नभएर शिथिल देखिएको छ । यसले उद्योग, व्यवसाय क्षेत्रको सरकार प्रतिको भरोसा टुट्दै गएको छ । यो अवस्थाप्रति कांग्रेसका नेताहरु गम्भीर हुनुपर्ने हो । यस्ता कुराहरूमा गम्भीर नभएर भावी गठबन्धन तथा आरोप प्रत्यारोपमा समय खेर फाल्ने, अन्य पक्षका नेताहरूले जेजस्ता आवाज उठाए पनि संस्थापन पक्षका नेताहरूले त्यसलाई आफ्नो अहमको विषय बनाउने हो भने कांग्रेस जनतासामू के भनेर जाला ?
अचम्म लाग्दो विषय के छ भने कांग्रेसमा एकभन्दा अर्का विद्वान् नेताहरु प्रशस्त छन् तर उनीहरुको बौद्धिकताको उपयोग केमा भन्ने स्पष्ट छैन । अर्थतन्त्रदेखि अन्य तमाम राष्ट्रिय समस्यामा गम्भीर बहस नगर्ने, समाधान नखोज्ने, कार्यान्वयनमा बेवास्ता गर्ने प्रवृत्ति कांग्रेसका लागि अबका दिनमा भारी पर्ने निश्चित छ । कांग्रेसका अर्थमन्त्रीले अर्थतन्त्रमा सुधार गर्न नसक्नुको कारण पार्टी पंक्तिबाट सहयोग भएन कि ? अन्य मन्त्रालयका मन्त्रीहरूलाई पनि असहयोग भयो कि ? प्रधानमन्त्री वा गठबन्धनका अन्य दल तथा तिनका नेताहरूले काम गर्न अवरोध गरे कि ? यी कुराको गम्भीर खोजी गरेर समाधान निकाल्न जति ढिला गर्यो कांग्रेसलाई जनताका सामुन्ने मुख देखाउन कठिन पर्ने अवस्था आउनेछ ।
जनताले कांग्रेसप्रति देश र जनताको पक्षमा आमूल परिवर्तनकारी काम गर्छ भन्ने विश्वास गर्न छाडेको देखिन्छ । उनीहरुले आक्रोश, आवेश र मनोगत रुपमा कुनै निर्णय गर्दैन कि भन्ने आशासम्म गरेको देखिन्छ । कांग्रेस नेतृत्व पक्षले भने सत्ताको लोभमा जस्तो पनि सम्झौता गर्न सक्छ भन्ने डरको मानसिकतामा भने भएको देखिन्छ । जनतामा यस्तो मानसिकता हुनु कांग्रेसका लागि राम्रो होइन । यसको निराकरणका लागि महासमितिमा बैठकमा गम्भीर छलफल हुनुपर्छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपजनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
कृत्रिम बौद्धिकता 'एआई'को प्रयोगद्वारा जीवनको खोज
पुष १७, २०८१ बुधबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार