कम्युनिष्ट सरकारले अर्थतन्त्रलाई साँच्चै समाजवाद उन्मुख बनाउन सक्ला ?
भेषराज पोखरेल
फागुन २६, २०८० शनिबार ६:०:१२
कम्युनिष्ट दलको मुख्य एजेन्डा अर्थतन्त्र सुधारको हुन्छ । आत्मनिर्भर अर्थतन्त्र र समान आर्थिक वितरण केन्द्रमा राखेर शासनसत्ता अघि बढ्ने योजना हुन्छ । नेपालमा पुनः १३ महिनापछि कम्युनिष्ट दल एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर सरकार बनाएका छन् । यो दह्रो कम्युनिष्ट शक्तिसँगै अन्य साना तीन दल संलग्न भएर बनेको सरकारले कस्तो आर्थिक प्रारुप (मोडल) अपनाउने होला ? गठबन्धनका दलहरूले समाजवाद उन्मुख अर्थतन्त्र बनाउने सहमति पनि गरिसकेका छन् । ठूला कम्युनिष्ट शक्तिले सत्ताको लगाम समाएको अवस्थामा साँच्चै अर्थतन्त्रलाई समाजवाद उन्मुख बनाउन सक्ला या नेपाली अर्थतन्त्रलाई जेलेर रहेको दलाली र सबैतिर व्याप्त कमिसनतन्त्रलाई अझै बढाउने होला ? अर्को, समाजवाद उन्मुख अर्थतन्त्रका कुरा गरे पनि चलिरहेको खुला पूँजीवादलाई व्यवस्थित रुपमा अघि बढाउन सक्लान् ?
पछिल्लो समयमा विश्वका कुनै पनि कम्युनिष्ट राष्ट्रले परम्परागत सिद्धान्त वा समाजवाद अनुसार आफ्ना अर्थतन्त्र अघि बढाउन सकेका छैनन् । उनीहरुले खुला बजारमा आधारित पूँजीवादलाई व्यवस्थित रुपमा अघि बढाएरै आर्थिक रुपमा सम्पन्न बनेका छन् । सुशासनलाई भने मुख्य आधार बनाएको देखिएको छ । चीन, भियतनामदेखि संसारका अन्य कम्युनिष्ट राष्ट्रहरू यही अर्थतन्त्रको प्रारुप अपनाएर आर्थिक रुपमा सक्षम भएका छन् । अहिलेको कम्युनिष्ट नेतृत्वको सरकारले विश्वका यी राष्ट्रको मोडल अपनाउने हिम्मत गर्न सक्यो भने पनि नेपालको अर्थतन्त्रले मुहार फेर्ने निश्चित छ । नेपालको लगभग ६३ प्रतिशत जनमत कम्युनिष्ट शक्तिले प्रतिनिधित्व गर्छ ।
यति ठूलो जनमत भए पनि अहिलेसम्म नेपालका कम्युनिष्ट दलहरूले गठबन्धन भएर वा नभएर होस् पटक, पटक सरकार हाँक्दा समेत आर्थिक परिवर्तनको छनक पनि दिन सकेको देखिँदैन । संसदमा प्रतिनिधित्व गर्ने ठूला दल वा बाहिरका साना कम्युनिष्ट दलका नेताहरूले देशमा व्याप्त दलाल पूँजीवाद तथा कमिसनको जालोको विरोधमा त बोल्छन् तर पटक, पटक ठूला दलका शीर्ष नेताले सरकार हाँके पनि अर्थतन्त्रमा रहेको चरम दलाली र कमिसनको जालो तोड्न प्रयास गरेको देखिन्न । प्रयाससम्म नगरेपछि त्यस्तो जालो तोड्न सक्ने कुरा भएन । प्रधानमन्त्री पुष्पकमल दाहालको अर्थतन्त्र प्रतिको सोचाइ तथा एमालेका अध्यक्ष केपी ओलीको अर्थतन्त्रलाई बुझ्ने तरिकाले अर्थतन्त्रले मुहार फेर्नेमा शंका गर्ने प्रशस्त ठाउँ छ । नयाँ गठबन्धनले हामी केही गरिछाड्छौं भनेर प्रतिबद्धता गरेकाले केही पनि हुनेछैन भन्न भने सकिन्न ।
एमाले, माओवादी केन्द्रको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी सामेल भएका छन् । साना दलहरू गठबन्धनमा सामेल भए पनि अहिले कम्युनिष्ट शक्ति नै शासनको मुख्य कर्ता हुनेछ । गठबन्धनमा सुझाव, सल्लाह, एजेन्डा निर्माण जे जसो भए पनि माओवादी केन्द्र र एमालेको केन्द्रीय नीति, नेताहरूको व्यवहार, सोचाइ नै पूर्ण रुपमा हावी हुने निश्चित छ । अर्थमन्त्रालय अहिले माओवादी नेता वर्षमान पुनले सम्हालेका छन् । उनले ११ वर्ष पहिले पनि अर्थमन्त्रालय सम्हालेका थिए । त्यस बेला उनको अर्थमन्त्रीको कार्यकाल विवादित त थिएन तर अर्थतन्त्रले विशेष बाटो बनाउने खालको थिएन ।
मौलाइरहेको दलाल पूँजीवाद तथा कमिसनतन्त्रलाई यता टाल्ने, उता थोरै च्यात्ने काम मात्रै गरेका थिए । त्यसयता एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्न गयो । सो दलका शक्तिशाली अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न पुगे । दलाली र कमिसन तन्त्र कम गर्ने होइन डरलाग्दो गरी बढ्न गयो । कयौँ डरलाग्दा अनियमितता र भ्रष्टाचारमा मुछिएका नेताहरूलाई कारबाही होइन संरक्षण गरियो । यो पक्षमा एमाले वा ओलीको नीतिमा कुनै पनि परिवर्तन आएको देखिएको छैन । अर्को, कांग्रेस, माओवादी गठबन्धनको अघिल्लो सरकारका अर्थमन्त्री बनेका जनार्दन शर्माको रातको समयमा मन्त्रालयभित्र दलाललाई भित्र्याएर करका दरमा फेरबदल गरेर अर्थव्यवस्थामै प्रहार भएको थियो । अहिलेका अर्थमन्त्री पुनले यी अवस्थालाई पूर्णरुपमा जितेर नौलो नीति अघि सार्न ज्यादै कठिन छ । शीर्ष नेतृत्वको नीतिलाई कुनै पनि नेताले चुनौती दिन नसक्ने अवस्थामा एकजना औसत क्षमता भएका नेताले चुनौती दिन कठिन छ । स्यालको सिंग खोज्नु जत्तिको हो ।
अब यही चलिरहेको आर्थिक संरचनालाई टालटुल गरेर सक्रिय पार्ने कुरा गरौं । अहिलेको अर्थतन्त्रले खुला बजारमा आधारित पूँजीवादको प्रतिनिधित्व गर्छ तर अत्यन्तै विक्रीत अवस्थामा । अहिलेको नेपालको अर्थतन्त्रका लगभग सबै पक्ष दलाली र कमिसनखोर र तस्करको चंगुलमा छन् । त्यसको प्रत्यक्ष सम्बन्ध राजनीतिको उच्च तहसम्म छ । त्यसलाई नियन्त्रण गरेर निश्चित बाटोमा हिँडाउन सामान्य ज्ञान, सोच, विचार र सामान्य हिम्मतले सकिने अवस्था छैन । अहिले नेपालका उद्योगपतिहरु प्रायः सबै विदेश निर्मित विलासीदेखि दैनिक आवश्यकीय सामग्री आयात गरेर व्यापार गर्न थालेका छन् । यसले आन्तरिक उत्पादन बढ्ने अवस्था लगभग समाप्त गर्दैछ ।
अर्को, उद्योगीहरु बैंकर, लघुवित्त कम्पनी सञ्चालक, बिमा कम्पनी सञ्चालक भएका छन्, अझ पुनर्बिमा कम्पनीमा पनि लगानी सुरु हुँदैछ । प्रायः सबै पुराना ठूला औद्योगिक घरानाले यसरी नै आफ्ना व्यवसाय गर्दैछन् । यो अवस्थामा सरकारले व्यवस्थित अर्थतन्त्र बनाउन कठिन छ । उद्योगमा आन्तरिक लगानी कसरी बढाउने ? निर्यात कसरी बढाउने ? अहिले लघु वित्त संकटमा छन्, आम सर्वसाधारणले यी संस्थाबाट ठगिएको महसुस गर्दैछन् । बैंकहरुबाट ऋण लिएर व्यवसाय गर्ने अवस्था लगभग समाप्त हुँदैछ ।
लामो समयदेखि सरकारले विकास बजेट खर्च गर्न सकेको छैन । जति खर्च गरेको छ ती योजना पनि लथालिङ्ग अवस्थामा छन् । राष्ट्रिय गौरवका आयोजना पनि लगानी खाइरहने तर पूरा नै नहुने सुरसाको मुखजस्तो अवस्थामा पुर्याइएको छ । सरकारका मुख्य सचिव नै भ्रष्टाचारीसँग साँठगाँठ गरेका समाचार बाहिर आइरहेका छन् तर सरकारले कुनै कारबाही गर्न सक्ने अवस्थामा छैन । यस्तो अवस्थामा अन्य सचिव र सहसचिवहरूलाई राष्ट्रको काम समयमा गराउन सक्ने अवस्था छैन । बजेट कार्यान्वयनमा यिनीहरुको ठूलो भूमिका हुन्छ ।
दलहरूका शीर्ष नेतृत्वको यही मानसिकता र अर्थमन्त्रीको बाध्यताले यो अवस्थामा परिवर्तन गरेर आन्तरिक अर्थतन्त्रमा सुधार गर्न कठिन छ । पूँजीवादलाई व्यवस्थित गर्न पनि अहिले ज्यादै कठिन भएको अवस्थामा समाजवाद उन्मुख अर्थतन्त्रको कल्पना दुरूह छ । हुनसक्छ कम्युनिष्ट नेताहरूमा नयाँ गठबन्धन बनेपछि बुद्धि, विवेक, हिम्मतको मूल फुटेर आउने हो कि, परिवर्तन आउला कि ?
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार