शर्तले बेरिएको गठबन्धनले राज्य सञ्चालनका निश्चित सिद्धान्त र संस्कारलाई अघि बढाउन सक्ला ?
भेषराज पोखरेल
चैत ३, २०८० शनिबार १०:४७:४८
अहिले कम्युनिष्ट शक्तिको गठबन्धनको सरकार बन्न गएको छ । यो गठबन्धनबाट सबै कम्युनिष्ट शक्तिहरू खुसी भएका त छैनन्, एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरु खुसी भएका छन् । समाजवादी मोर्चामा संलग्न जनता समाजवादी र रास्वपाका नेताहरु पनि खुसी भएका छन् । कम्युनिष्ट इतरका कांग्रेसदेखि अन्य दलका नेताहरु भइरहेको गठबन्धन टुटेर अर्को बन्न गएकोमा खुसी हुने कुरा भएन ।
कम्युनिष्ट नेताहरु खुसी हुँदै गर्दा एउटा प्रश्न तेर्सिएको छ, यो गठबन्धन राज्य सञ्चालनका निश्चित सिद्धान्त र संस्कारलाई अघि बढाउन बनेको हो कि सबै दलका शर्त पूरा गरेर मिलीजुली खान ? सबैभन्दा पहिलो सर्त आलोपालो प्रधानमन्त्री बन्ने छ । डेढ वर्षपछि माधव नेपाल प्रधानमन्त्री बन्ने, त्यसपछि चुनावी सरकारको प्रधानमन्त्री केपी ओली । यो शर्त नै लोकतन्त्र विरोधी र गठबन्धन संस्कृतिको विरोधी हो ।
गठबन्धन बनाउने भनेको निश्चित सिद्धान्त मिल्ने दलका बीचमा निश्चित उद्देश्य प्राप्तिका लागि गरिने हो । अझ कम्युनिष्ट शक्ति एक बनाउनुपर्छ भन्ने नेताहरूले एकजना नेतालाई बलियो प्रधानमन्त्री बनाएर निश्चित सिद्धान्तलाई स्थापित गर्न गठबन्धनका सबै दल र नेता कृत संकल्प भएर लाग्ने कि म प्रधानमन्त्री नभएर सरकार छाड्छौं, यो मन्त्रालय नपाए गठबन्धन टुट्छ भन्ने ? यो त लोकतान्त्रिक संस्कार तथा व्यावहार होइन, यो त समय आएका बेला राज्य संयन्त्रबाट जे लिन सकिन्छ लिने उपक्रम हो ।
अहिले अर्थतन्त्र बाह्य रुपमा लयमा छ भने आन्तरिक रुपमा डरलाग्दो गरी ओरालो लाग्दै गएको छ । आन्तरिक रुपमा लगानी निरुत्साहित हुँदै गइरहेको छ । बैंकहरुका ठूलो रकम जम्मा हुँदै गएको छ तर ऋणको माग भएको छैन । अर्थतन्त्रको बाह्य पक्ष राम्रो हुँदै जाने, आन्तरिक पक्ष ओरालो लाग्दै जाँदा अब त्यसका असर देखिन धेरै समय लाग्नेछैन । ठूला बचत तथा ऋण सहकारीहरू डरलाग्दो गरी ढलिरहेका छन् । सानो कमाइ हुने जनताको ठूलो रकम हिनामिना गरेर सहकारी सञ्चालकहरू फरार हुने वा केही गरेर दिन्छौं भन्दै बसेका छन् ।
जनता भने चिन्तित अवस्थामा रोइरहेका छन् । उनीहरुले कमजोर धितोमा बढी कमिसन आउने क्षेत्रमा वा आफ्ना मान्छेलाई ऋण लगानी गरेर अप्ठ्यारो अवस्था सिर्जना गरेका छन् । अर्को, प्रायः सबै बैंकले लघुवित्त वित्तीय संस्था खोली विपन्न समुदायमा लगानी गरेर ठूलो ब्याज असुल्ने, चक्रवृत्ति ब्याज लिने, लगानी उठ्न नसके जग्गा नै हड्ने गर्दा गरिब जनता झन् गरिब बन्दै छन् । सहकारीबाट पीडित भएका र लघुवित्तबाट ठगिएका विपन्न जनता सडकमा आइरहेका छन् ।
पछिल्लो समयमा बैंकहरुले एकातिर लगानी गर्न नसक्ने अर्को पहिलेदेखि कमजोर धितोमा कमिसनको चक्करमा ठूलो धनराशि लगानी गरेर डुब्ने अवस्थामा पुग्दै गरेको देखिएको छ । यो अवस्था डरलाग्दो हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको कम्युनिष्ट बाहुल्य गठबन्धन सरकारको यी कुरालाई सुधारेर अर्थतन्त्रलाई निश्चित बाटोमा ल्याउने योजना होला ? गृहमन्त्री बनेका रास्वपाका अध्यक्ष रवि लामिछानेको नाम सहकारी ठगी अर्थात् अनियमिततामा जोडिएको छ । उनको नाममा सहकारीको ऋण छैन होला तर त्यो प्रकरणमा उनी खेलेका त अवश्य हुन् नि । कारबाही गर्ने स्थानमा उनी नै छन् । दलका नेताहरु वा उनका आफन्त वा कमिसन दिने व्यक्तिहरू जोडिएकाले सहकारीबाट ठगिएका सबै जनताले समयमा न्याय पाउन कठिन देखिएको छ ।
लघुवित्त तथा तराईमा डरलाग्दो रुपमा रहेको मिटरब्याज पीडितलाई पहिलाजस्तो जाँचबुझ गर्ने समिति बनाएर टार्ने अवस्था नै देखिएको छ । सडकमा आएका मिटरब्याजपीडितसँग वार्ता भयो समिति गठन, लघुवित्तपीडितसँग पनि वार्ता अनि समिति तथा सहकारी पीडितसँग पनि त्यही नै हुन हो । छानबिन समितिले समयमा सत्य तथ्य प्रतिवेदन तयार गर्ने र सरकारले वास्तविक ठगलाई कारबाही गरेर जनतालाई ढुक्क पार्ला ? यसका लागि त गठबन्धन दलका नेताहरूले इमानदारिता देखाउन सक्नुपर्छ र त्यग पनि गर्न सक्नुपर्छ । नेताहरूले निश्चित मन्त्रालयको प्राप्तिमा गरेको मरिहत्ते र मन्त्रीहरूको अवस्थालाई हेर्दा आमूल परिवर्तन हुने गरी कुनै निर्णय गर्छ जस्तो देखिएको छैन । तस्करी र यी माथिका कार्यमा यिनै ठूला दलका नेताहरु नै संलग्न भएको देखिएकाले शंका गर्ने ठाउँ प्रशस्त छ ।
सायद सबै वर्ग, सबै क्षेत्र तथा सबैं लिंगको प्रतिनिधित्व बनाउने भनेर समानुपाति र प्रत्यक्ष दुई खाले निर्वाचन पद्धति बनाइएको होला । दलहरूले यसको गलत रुपमा उपयोग गर्नाले एक्लै कुनै पनि दलको बहुमत नआउने अवस्था बन्न गयो । अझ कुनै नीतिगत उद्देश्यबिना गठबन्धन बन्ने र जहिले पायो त्यहीले गठबन्धन टुटाएर अर्को गठबन्धन बनाउने व्यवहारले राजनीतिक रुपमा स्थिरता आउँदैन । सरकार वा त्यसका वरिपरि यिनै दल थिए, अहिले पनि यिनै दल र यिनैका नेता सरकार वा त्यसका वरिपरि नै छन् ।
बजेट किन समयमा खर्च भएन भनेर खोज्ने हो भने यिनै दलका शीर्ष नेता, कर्मचारी संयन्त्रका शीर्ष पदाधिकारी नै पूर्ण रुपमा जिम्मेवार देखिन्छन् । अख्तियार किन प्रभावकारी भएन ?, न्यायालय किन कमजोर भयो, राष्ट्र र जनतालाई प्रत्यक्ष प्रभाव पर्ने मुद्दामा किन प्रतिकूल फैसला गर्छन् ? प्रहरी तथा केन्द्रीय अनुसन्धान विभागले किन अपराधमा संलग्न नेताहरूलाई उन्मुक्ति दिएर अनुसन्धान प्रतिवेदन तयार गर्छ ? भनेर हेर्ने हो भने यिनै दलका शीर्ष नेता र तिनका वरिपरीको शक्तिकेन्द्रका घेरमा रहेका नेताहरु पूर्ण रुपमा जिम्मेवार देखिन्छन् । यो गठबन्धनले जेजस्ता काम गर्छौं भनेर न्यूनतम् साझा कार्यक्रम तयार गरे पनि यी कुरालाई समेटेको देखिँदैन ।
केही कुरा समेटिहाले पनि कार्यान्वयनको मुख्य अवरोध उनीहरू नै हुने छन् । अब प्रश्न गरौं, यो गठबन्धन तथा यसको सरकार यी कुराहरुलाई मुख्य केन्द्रमा राखेर अघि बढ्लान् ? एमालेका अध्यक्ष र उनको शक्तिकेन्द्र तथा प्रधानमन्त्री प्रचण्ड र उनको शक्ति केन्द्र आत्मसमीक्षा गरेर यी कुरामा गम्भीर होलान् ? यी माथिका कुरामा मात्रै ध्यान दिएर नीति निर्माण गर्ने र इमान्दार रुपमा कार्यान्वयन गर्ने हो भने देशले काँचुली फेर्न कुनै अप्ठ्यारो पर्नेछैन । होइन, यस्ता तमाम समस्यालाई टालटुल गरेर प्रचार गर्नतिर लागे भने देशमा अरु नयाँ, नयाँ समस्याहरू जन्मने क्रम अझ बढेर जानेछ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार