प्रधानमन्त्रीको सुन र गृहमन्त्रीको सहकारी कनेक्सन, कसरी हुन्छ तस्करमाथि कारवाही ?
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार १३:१९:३४
३ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर करिब ६१ किलो र भेपमा ९ किलो सुन ल्याउने तस्करको सञ्जाल सत्तारुढ दल नेकपा माओवादीका नेता र कार्यकर्तावरिपरि देखिएपछि उनीहरुलाई कारवाही गर्ने भन्दा पनि जोगाउने कसरत बढी हुँदैछ ।
पप्रधानमन्त्री पुष्पकमल दाहालको दल माओवादीका नेता सुनमा र उपप्रधानसहित गृहमन्त्री बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएका कारण सत्तामा रहेको माओवादीले आफ्नै नेताहरूलाई कारवाही गर्ने त परको कुरा बयान समेत नलिने परिस्थिति बनिरहेको छ ।
गत साउन २ गते मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएको ६० किलो तस्करीको सुन सिनामंगलबाट बरामद भएको थियो । त्यस्तै गत पुसमा विमानस्थल भन्सार कार्यालयले जफत गरेको नौ किलो सुन भन्सारबाटै हराएको थियो । उक्त नौ किलो सुन ई–सिगरेटभित्र लुकाएर ल्याइएको थियो । सुन तस्करीका यी दुवै प्रकरणमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मुछिएको थिए ।
सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरेर प्रतिवेदन मात्र बुझाएन अदालतमा मुद्धा समेत दायर गर्यो । सुन तस्करीलाई संगठित अपराध तथा अन्तरदेशीय अपराधअन्तर्गत राखेर सीआईबीले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा तस्करहरूको सम्पर्क सम्बन्ध माओवादीका उच्च तहका नेताहरू, उनीहरूका छोरा, आफन्त र पार्टी कार्यकर्तासँग देखिएको थियो । स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयबाट हराएको नौ किलो सुन र विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएको सुन एउटै तस्कर समूहको भएको पाइएको थियो । तस्करको त्यो समूहले सुन तस्करीमा माओवादीका नेता–कार्यकर्तालाई प्रयोग गरेको पनि पाइएको थियो ।
‘माओवादीभित्रै यो सञ्जाल क्रियाशील भएको देखियो कहिलेदेखि भन्ने एकिन छैन’ स्रोतले भन्यो । विगतमा सिआइबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग तीन घण्टा बयान लिएको थियो । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल सिआइबीले नै मुद्धा चलाएर थुनामा छन् । चिनियाँले माओवादीका उच्च नेताहरूको पनि नाम लिएका छन् ्। सुन तस्करी प्रकरणमा बेल्जियन नागरिक दावा छिरिङ पनि जोडिएका मात्र होइन उनी थुनामा रहेका छन् ।
छिरिङले रोल्पाका माओवादी नेताको सहयोगमा काम गरेका थिए । विगतमा सिआइबीले ६० जनाभन्दा बढी माओवादीका नेता–कार्यकर्ताको फोन सम्पर्कलाई अनुसन्धानको दायरमा ल्याएको थियो । सीआइबीले ६१ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्दा छिरिङको मुख्य सहयोगीका रूपमा पक्राउ परेका किशोर बस्नेतको सम्पर्क माओवादी नेताहरूसँग देखिएको थियो ।
सीआइबीले छिरिङको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि देखिएको पाएको थियो । उनीहरूसँग किन छिरिङले सम्पर्क गरे भन्नेबारे केही खुलेको छैन। यस्तै ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका दाओजिन वाङको सम्पर्क पनि माओवादीका केही नेतासँग देखिएको छ ।
छिरिङले ठमेलमा सञ्चालन गर्दै आएको होटल भियनामा माओवादीका उपमहासचिव वर्षमान पुनका भाइ प्रनिससमेत साझेदार छन् । होटलमा छिरिङ, अमला रोका, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिक जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ र प्रनिस पुन साझेदार छन् । प्रहरीले कृष्णबहादुर महरा, वर्षमान पुन, राहुल महरा, दिपेश पुन, प्रनिस पुन, अमला रोका, बिन्दु मगरलगायत २५ जनाको सूची बनाएको थियो । तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङको पनि माओवादीका केही नेता–कार्यकर्तासँग सम्पर्क रहेको थियो । चिनियाँ तस्करहरूले पछिल्लोपटक माओवादीका नेता–कार्यकर्तासँग ह्वाट्स एपमार्फत कुराकानी गरेको पाइएको छ ।
सुन तस्करी प्रकरणमा सीआईबीले अध्यागमनका तत्कालीन प्रमुख सहसचिव झलकमान अधिकारीसहित प्रत्यक्षअप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिसँग पनि सोधपुछ गरेको थियो तर त्यतिबेला अधिकारीलाई प्रतिवादी बनाएको थिएन । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा प्रति नबनाएको स्रोतको दावी छ । अधिकारीमाथि पानी तान्ने पम्पमा समेत सुन तस्करी गर्न सहयोग गरेको आरोप छ। दावा छिरिङको सम्पर्क अधिकारीसँग पनि देखिएकाले सीआईबीले उनीसँग सोधपुछ गरेको थियो ।
सुन तस्करीमा चिनियाँ नागरिक ली हानसोङ, दाओजिन वाङलगायत मुछिएका छन् । नौ किलो र ६० किलो सुन तस्करीमा एउटै समूह रहेको पाइएको थियो । ६१ किलो सुन तस्करीमा रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टियान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचोङ, ली वेन सुङ, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल पक्राउ परेका थिए । त्यसमा वर्षमान पुनको सचिवालयमा काम गरिरहेका जीवन रोका , अर्का एक दिनेश रोका पनि सुन तस्करको सञ्जालमा रहेको प्रहरीको दावी छ । यद्यपि उनीहरुलाई प्रहरीले एक पटक पनि सोधपुछ गरेको भेटिएन । वर्षमान पुन र उनको परिवारसँग सरोकार राख्ने व्यक्ति सुन तस्करीमा देखाउपनि पुनलाई कोही कसैले एक पटक पनि सोधपुछ गर्ने काम भएको छैन । उनी अहिले अर्थमन्त्रालयमा रहेका छन् ।
वर्तमान गृहमन्त्री रवि लामिछाने पनि उनीहरुलाई जोगाउन खोजेका छन् । प्रहरीलाई कारवाही गरेर उनीहरुलाई माफी दिन खोजेका स्रोतको दावी छ । दिपेश पुनलाई पक्राउ गरेको भएपनि उनलाई सहकारी ठगीमा अनुसन्धान गरिएको छ । लामिछानेको ध्यान सुन तस्करीलाई कारवाही गर्ने भन्दा पनि सहकारी ठगी अनुसन्धानलाई अल्मल्याउने र गिजोल्नेमा देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट सूर्यदर्शन सहकारीको अनुसन्धान गर्ने टिमलाई नै हटाइएको छ । गृहमन्त्री रवि लामिछानेका व्यापारिक साझेदार जीबी राईमाथि अनुसन्धान भैराखेको अवस्थामा सीआईबीका प्रमुख एआइजी किरण बज्रचार्यसहित त्यसको अनुसन्धानमा खटिएको टिमलाई हटाइएको हो ।
पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको ‘ग्रिन सिग्नल’ पाएपछि ग्यालेक्सी टिभीका पूर्वसञ्चालकसमेत रहेका रविमाथि अनुसन्धान अघि बढाइएको थियो । त्यसलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि त्यसमा प्राविधिक रूपमा मात्र होइन सिंगो व्यूरो नै लागेर अनुसन्धान गरिरहेको छ ।
सहकारी ठगीसम्बन्धी सबै कागजात झिकाएर अध्ययन–अनुसन्धान गरिरहेको सीआईबीलाई तत्कालिन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबी प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई मन्त्रालयमै बोलाएर रविमाथि पनि अनुसन्धान थाल्न निर्देशन दिएका थिए । सीआईबी स्रोतका अनुसार एआइजी बज्राचार्यले सुरुमा प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चपदस्थ कर्मचारीसँग परामर्श गरेकी थिइन् । त्यसपछि उनले प्रधानमन्त्री दाहालसँग पनि परामर्श लिएकी थिइन् ।
‘यो अनुसन्धान प्रधानमन्त्रीसँगको छलफलपछि अघि बढेको हो । परिणाम निकाल्ने गरी सीआईबी अनुसन्धानमा जुटेको छ,’ स्रोतले भनेको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणलाई लिएर गत माघ २२ गते सहकारीपीडितले पूरक निवेदन दिएका थिए । त्यसपछि प्रधानमन्त्री र गृहमन्त्री दुवैले त्यसमाथि चासो बढाएका छन् । सूर्यदर्शन सहकारीको ठगी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन रहेका बेला प्रहरीमा पनि ठगीविरुद्ध उजुरी परेको हो । यसअघि गत भदौमा पनि प्रहरीमा उजुरी परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार