सुन र सहकारी प्रकरणले दुङदुङती गनायो माओवादी !
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार २०:२३:६
३ चैत, काठमाडौं । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकु शिविरमा भएको भ्रष्टाचारका फाइल अझै अख्तियार र सर्वोच्च अदालतमा सुरक्षित छन् । तत्कालीन कमाण्डर रामबहादुर थापादेखि कृष्णबहादुर महरा हुँदै जनार्दन शर्मा र टोपबहादुर रायमाझीसहित १४ जना नेतामाथि अरबौं क्यान्टोनमेन्ट भ्रष्टाचारको विषय अहिले चर्चामा मात्रै छ । यो प्रकरणको छानविन नहुँदै माओवादी सुन र सहकारी प्रकरणमा मुछिन आइपुगेको छ ।
एमाले र माओवादी मिलेर नेकपा बनेपछि अहिले बादल र रायमाझीसहितका केही नेता एमालेमा छन् । माओवादीमै भएका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन र पुर्वसभामुख भइसकेका उपाध्यक्ष कृष्णबहादुर महरालगायतका केही नेता सुन र सहकारीमा मुछिएका छन् । सुन तस्करी र सहकारी ठगीका विषयले नेकपा माओवादी नै पहेँलो भइसकेको अवस्था छ । अर्थमन्त्री बनेका वर्षमान माथि पनि सुन प्रकरणमा जोडिएको गाइगुई चल्न थालेको छ ।
यही सुन र सहकारी प्रकरणले बदनाम भइसकेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले देशका प्रधानमन्त्री छन् । देशको चाबी उनको हातमा छ । उनले भर्खरै सत्ता समीकरण बदलेर सरकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाएका छन् । यही बेला माओवादीका शीर्ष नेता र उनको परिवार सुन तस्करी र सहकारी ठगीमा तानिएका छन् ।
सहकारी ठगी तथा सुन तस्करी प्रकरणमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश शुक्रबार साँझ पक्राउ परेका छन् भने उपराष्ट्रपतिका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङविरुद्ध १ सय ३८ केजी सुन तस्करी प्रकरणमा मुद्दा दायर भएको छ । यो भन्दा उच्च स्तरबाट सुन तस्करलाई संरक्षण गर्ने पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि के कारबाही हुन्छ भन्ने प्रश्न आकर्षित भएको छ ।
पुर्वमाओवादी र अहिले नेकपा एमालेका उपाध्यक्ष बादलका छोरा प्रतीक थापा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणमा मुछिएका छन् । यही प्रकरणमा करोडौं ठगी धन्दामा संलग्न भएको आरोपमा पूर्व उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दिप रायमाझी अहिले जेलमा छन् । उनीहरू पुर्वमाओवादी हुन् ।
अब माओवादीमा अरु को को सुन तस्करीमा जोडिएका छन् भन्ने खोजी भइरहेको छ । तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि जेलमा नै छन् । दीपेश पुनले जीबी राई अध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दीपेश जोडिएका छन् । उनी माओवादी केन्द्रका विशेष प्रदेश कमिटीका सदस्य तथा अखिल क्रान्तिकारीका महासचिव हुन् । पुनका अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमा संलग्न भएको भन्दै खोजी भइरहेको छ ।
आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि महरामाथि मुद्दा दर्ता त भएको छैन । महरा बाबुछोराले चिनियाँ सुन तस्करहरूसँग २५६ पटक टेलिफोन संवाद गरेको कल डिटेल रेकर्ड प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।
इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ । सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहाँबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ जसलाई सुन जाँचबुझ आयोगले पनि प्रमाण मानेको छ । प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायाँमा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अर्कातर्फ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ३८ किलो सुन तस्करी गरेको आरोपमा पूर्व उपराष्ट्रपति पुनका तत्कालीन सल्लाहकार ‘वैदेशिक मामिला विज्ञ’ गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । विमानस्थल भन्सार कार्यालयका अनुसार १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो जरिवाना र ५ वर्ष कैद सजाय माग दाबीसहित मुद्दा दर्ता भएको हो । भन्सारले गरेको छानबिन र अनुसन्धानमा भरियाले विमानस्थल हुँदै दुबईलगायत देशबाट तस्करी गरेर ल्याएको सुन गुरुङले बुझिलिने गरेको पाइएको थियो । उनी डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुखसमेत हुन् ।
प्रधानमन्त्री प्रचण्डसँग माओवादी युद्धकालदेखि निकट मित्र रहेका महराको सुन तस्करी काण्डले माओवादी समेत मुछिएको छ । यसअघिका थुप्रै प्रकरणहरूमा उनी विवादित रहँदै आए । माओवादी सशस्त्र युद्धअघि ०४८ सालमा मशालबाट चुनाव जितेर संसदीय दलको नेता बन्दादेखि ०७४ सालमा सभामुख हुँदासम्म महरा सधैँ शक्तिको नजिक रहे, कम्तीमा प्रचण्डका अनवरत सारथी बनिरहे महरा ।
पार्टी अध्यक्ष प्रचण्ड देशको प्रधानमन्त्री पदमा भएकै बेला उनै महरामाथि अवैध सुन तस्करीमा संलग्न भएको आरोपमा मुद्दा चलाउन सिफारिस भएको छ । सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । राज्यको उच्च पदमा रहिसकेको व्यक्ति शक्ति र रवाफमा राज्यसंयन्त्र नै कब्जा गरेर सुन तस्करीमा लाग्नु लज्जाको विषय हो ।
युद्धकालीन राजनीतिसम्म इमान्दार नेताको छवि बनाएका महरा शान्तिपूर्ण राजनीतिमा आएसँगै एकपछि अर्को विवादमा निरन्तर मुछिँदै र जोगिँदै आएका थिए । माओवादीले लडाकू व्यवस्थापनका लागि शिविर निर्माण र उनीहरूको व्यवस्थापनका नाममा राज्य कोषबाट करिब ४० करोड रुपैयाँ पेश्की रकम लगेको थियो । सो बेला महरा सञ्चारमन्त्री थिए ।
त्यस्तै १८ भदौ २०६७ मा उनले एक चिनिया नागरिकसँग ५० करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियोमा उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न सांसद खरिद गर्नुपर्ने भन्दै रकम मागेका थिए । अडियो टेप सार्वजनिक भएपनि उनीमाथि अनुसन्धान भएन । पदाधिकारी विहीन अवस्थामा रहेको त्यतिबेलाको अख्तियारमा सचिव भगवतीकुमार काफ्ले कार्यवाहक प्रमुख थिए, उनले अनुसन्धान अघि बढाउन सकेनन् ।
२०७४ सालको आम निर्वाचनमा दाङ–२ बाट चुनाव जितेका महरा सभामुख निर्वाचित भए । सभामुख रहेकै बेला २०७६ सालमा महरामाथि संघीय संसद सचिवालयकै कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो । आरोप लागेका महरा पक्राउ परे र पुर्पक्षका लागि थुनामा पनि परे । तर जिल्ला अदालतबाट सफाइ पाएपछि रिहा भए । उनै महरामाथि अहिले सुन तस्करीमा संलग्न रहेको आरोप लागेको छ । यसरी हेर्दा माओवादी नेता श्रङ्खलाबद्ध सुन, भ्रष्टाचार र ठगी प्रकरणमा लिप्त भएर पार्टीलाई नै बदनाम बनाएको देख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार