प्रदेश प्रमुखहरुको अपमानजनक बर्हिगमनको कुप्रथा कहिलेसम्म ?
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १५:३१:२०
९ चैत, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा भएको सत्ता गठबन्धन छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' फेरी एमालेतिर गएपछि बनेको नयाँ सत्ता समीकरणले सुरुमै प्रदेश प्रमुखहरूलाई चलाउने काम गर्यो र यो व्यवस्थामाथि नै प्रश्न उठाइन थालेको छ । कांग्रेसको भागबाट प्रदेश प्रमुखमा नियुक्त भएका तीन जना हटाएर नयाँलाई नियुक्ति दिने काम भयो । अघिल्लो सोमबार बसेको मन्त्रिपरिषद बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका कांग्रेस निकट प्रदेश प्रमुखलाई हटाएपछि सुमित्रा भण्डारी, डिल्लीराज भट्ट र नजिर मियाँले मौका पाए ।
राजनीतिक अभिप्रायले मनलाग्दी नियुक्ति दिने र हटाउने काम हुन थालेपछि प्रदेश प्रमुखहरुको पदलाई लिएर यतिबेला नेपाली राजनीतिमा विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन् । संविधानले प्रदेश प्रमुखको हैसियत आलङ्कारिक र पाँच वर्ष हुने भने पनि यो कार्यान्वयनमा छैन । संघीय सरकारको अनुकूलतामा उनीहरुको कार्यकाल निहित हुने गरेको छ । संघीय सरकारको समीकरण परिवर्तन हुना साथ प्रदेश प्रमुखहरु पनि फेरिने कुप्रथा स्थापित भएको छ र यही अनुसारका टिप्पणीहरू हुन थालेका छन् ।
यसले राजनीतिक रुपमा कुप्रथा भनेर चर्चा पाइरहँदा सोही दिन मधेश प्रदेशका पूर्वप्रमुख एवं राजनीतिक विश्लेषक डा. राजेश झा अहिराजले प्रदेश प्रमुख र राष्ट्रपतिसम्म नै चलिरहेका कुरीतिमाथि प्रश्न उठाएर एउटा स्टाटस लेखका छन् । जुन शासकीय स्वरूप र राजनीतिक बेइमानीबाट भइरहेका कुप्रथामाथि व्यङ्ग्यात्मक र विचारणीय पनि छ । डा.अहिराजले ‘प्रदेश प्रमुख हटाउँदा राष्ट्रपति नैतिक जिम्मेवार हुनु नपर्ने’ शीर्षक दिएर ७ वटा प्रश्नलाई बहसमा ल्याएका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति र सात वटै प्रदेशका प्रमुखहरूले लोकसेवाका कर्मचारीलाई किन विश्वास गर्न सक्दैनन् भन्ने उनको पहिलो प्रश्न छ । यसमा उनले राष्ट्रपति, उपराष्ट्रपति र सात वटै प्रदेशका प्रमुखहरूले आफ्ना निजी सचिवालयमा लोकसेवा पास गरेर आएका सरकारी कर्मचारीलाई राखेर काम गर्नुपर्नेमा अनावश्यक बाहिरका आफन्तलाई राखेर सचिवालय बनाउने प्रचलन गलत भएको कुरा उठाएका छन् ।
योग्य, दक्ष र राज्यले विश्वास गरेका लोकसेवाका कर्मचारीलाई जिम्मेवारी नदिएर उनीहरुको विकल्प खोज्दा स्वकीय सचिवालयबाट नीति विपरीत काम हुने र त्यसले पदीय मर्यादामाथि पनि प्रश्न उठाउने भन्दै उनले उनीहरुका सचिवालय र सल्लाहकारमाथि प्रश्न उठाएका हुन् । दाेस्राे तर अति महत्वपूर्ण कुरा उनले गठबन्धन परिवर्तन हुँदा राष्ट्रपति र उपराष्ट्रपति पद मुक्त नहुने तर प्रदेश प्रमुखहरूलाई किन पद मुक्त गरिन्छ भन्ने गम्भीर प्रश्न उठाएका छन् ।
नियुक्त भएकाहरूको न कुनै गल्ती र बिना कारण स्पष्टीकरणको मौका पनि नदिएर किन हटाउने ? प्रदेश प्रमुखहरुको अपमानजनक बर्हिगमनको कुप्रथा कहिलेसम्म ? यसको अभिप्रायमा खोजी गर्ने कि नगर्ने भन्ने पूर्वप्रमुख एवं राजनीतिक विश्लेषक डा.अहिराजको प्रश्न छ । अकारण हटाउला र नयाँ पठाउँदा देशलाई आर्थिक भार पर्ने र हटाउनै पर्ने अवस्था आए राजीनामा मागेर सम्मानपूर्वक हटाउनुपर्ने विधि स्थापित गर्नुपर्ने माग उनको छ । यो व्यवस्था नै भागबन्डाको व्यवस्था भएकाले यो व्यवस्था रहेसम्म नेपाल र सर्वसाधारण नेपालीहरूको अवस्था दयनीय रहने भएकाले यसको नतिजा जनताको आधारभूत अधिकारको सुरक्षा गर्दै निर्दलीय शासन हुनुपर्ने तिर जान सक्ने पूर्वप्रमुख डा.अहिराजको सन्देश छ ।
उनले भने झैं प्रदेश प्रमुख देशको आवश्यकता र सहि कामको लागि नभएर कार्यकर्तालाई सरकारी सुविधा उपलब्ध गराउन यो पद सिर्जना गरिएको भन्दा फर नपर्ने अवस्था राजनीतिक दलहरूले बनाएका छन् । नेपालबहससँगको कुराकानीमा पनि अहिराजले प्रदेश प्रमुखको मात्र नभएर उपराष्ट्रपति, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूका विषयमा पनि केही व्यवस्थाहरू परिवर्तन गर्न आवश्यक भएको बताए ।
सबैभन्दा खराब काम स्वकीय सचिवालयबाट हुने उनको भनाइ छ । सचिवालय राख्नैपर्ने अवस्था भएका सरकारी कर्मचारीलाई प्रयोगमा ल्याएर राजनीतिक कार्यकर्तालाई नियुक्ति दिन नहुने उनले बताए । सचिवालयकै कारण पनि राष्ट्र प्रमुख र प्रदेश प्रमुखमाथि प्रश्न उठिरहेकाले यस विषयमा राजनीतिक चेत भएकाहरूले बहस चलाउनुपर्ने र नेतृत्वमा रहेका राजनीतिक दल एवं तिनका नेतालाई पाठ सिकाउनुपर्ने उनको भनाई छ ।
प्रदेश प्रमुखमाथि राजनीतिक चलखेलको कथा तत्कालीन नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीबाट समय अघि नै प्रदेश प्रमुख हटाउने प्रचलन सुरू भएकामा त्याे अहिले पनि जारी छ । ओलीले आफू प्रधानमन्त्री हुँदा प्रदेश प्रमुख हटाएका थिए । त्यसपछि आउने सरकारले पनि त्यसै गर्यो । ०७४ को निर्वाचन अघि र निर्वाचनपछि कांग्रेस नेतृत्वमा बनेको संयुक्त सरकारको समीकरण परिवर्तन भएपछि पनि प्रदेश प्रमुखहरु हटाइए । अहिले राजनीतिक समीकरण फेरिएसँगै प्रदेश प्रमुखको पद पनि धरापमा पर्न थालेको छ ।
अहिराजकै भनाइमा अहिले आएर यो पद अलांकारिक र संवैधानिक भन्दा पनि आफ्ना कार्यकर्तालाई आफू सत्तामा रहेसम्म जागिर खुवाउने माध्यम हुन पुगेको छ । संविधानले राष्ट्रपति र प्रदेशका प्रमुखहरूलाई संवैधानिक हैसियतमा काम गर्ने अधिकार दिएको छ । अर्थात् प्रदेश प्रमुख पद आलंकारिक हो । मुलुक संघीय प्रणालीमा गएसँगै २०७२ सालपछि सिर्जना भएको हो यो पद । संविधानतः यसको परिकल्पना संघको उपस्थिति प्रदेशमा गराउने र संघमा राष्ट्रपतिले जस्तै प्रदेशमा प्रदेश प्रमुखले संविधान अनुसारका काम कारबाही गर्ने हो ।
पहिलो पटक २०७६ साल कार्तिक १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६-७-१७ को निर्णयबाट सिफारिस भई आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरू पदमुक्त भएका थिए । प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पछिल्लो कदमको राजनीतिक तथा संवैधानिक दृष्टि गलत भएको भनिएको थियो ।
त्यतिबेला पहिलो प्रदेश प्रमुखका रुपमा नियुक्त भएका गोविन्दबहादुर तुम्बाहाङ, रत्नेश्वर लाल कायस्थ, अनुराधा कोइराला, बाबुराम कुँवर, उमाकान्त झा, दुर्गा केशर खनाल, र मोहनराज मल्ल पदमुक्त भएका थिए । त्यसपछि संघीय व्यवस्थामाथि नै विभिन्न प्रश्नहरू उठ्न थालेका थिए । अहिले पनि प्रदेशको आवश्यकता छैन भन्ने आवाज बलियो हुँदै जानुमा समय नपुगी प्रदेशका प्रमुखहरूलाई हटाइनु पनि कारण बनेको छ ।
सरसर्ती हेर्दा प्रदेश प्रमुखहरूलाई हटाइनुमा राजनीतिक पूर्वाग्रहबाहेक बर्खास्तको अन्य कुनै कारण देखिँदैन । यही नै कारण हो भने, यसलाई किमार्थ पनि उचित ठहर्याउन नसकिने राजनीतिक विश्लेषकहरू बताउँछन् । उनीहरूकाे भनाइमा तत्कालीन ओली नेतृत्वको सरकारले हेक्का नराखी संघीयता कार्यान्वयनका प्रारम्भका दिनमा जे–जस्तो नजिर स्थापित गर्यो, यसले संघीयताको भविष्यमा नै धक्का दिएको छ । यस अवस्थामा वर्तमानमा सत्तामा रहेकाले पनि उही नीति लिएर अघिल्लो सरकारले बनाएका प्रदेश प्रमुख हटाइएका छन् ।
यसले शक्तिमा रहनेले भविष्यमा वर्तमान सरकार सञ्चालक सत्ताबाट टाढिएका बेला यस्तै राजनीतिक आग्रहका आधारमा कित्ताकाटको परिणाम बेहोर्न बाध्य बनाएको छ । विना कारण प्रदेश प्रमुख हटाउने कुप्रथाप्रति अहिले विभिन्न टिप्पणी त हुने गरेका छन तर, ति पर्याप्त छैनन् । नेपालको संविधान २०७२ ले परिकल्पना गरेको संघीयताको कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको प्रदेश प्रमुखको पदको ओज यतिखेर संकटमा परेको अनुभव गर्न थालिएको छ । यसको प्रमुख कारण हो, वर्तमान संघीय सरकारको सोच युक्त रबैया ।
विज्ञका भनाइमा संविधानअनुसार नियुक्त भएका प्रदेश प्रमुखलाई संविधानले तोकेको पाँच वर्षे अवधि पूरा गर्न नपाउँदै पदमुक्त गरिनुलाई विभिन्न कारणले स्वाभाविक मान्न सकिँदैन । यद्यपि, सत्तारुढ दलले भने पदमुक्तिको यो प्रक्रियालाई स्वाभाविक मानेको छ । यतिखेरको मूल प्रश्न के हो भने अनाहकमा प्रदेश प्रमुखको बर्खास्ती संघीयता मास्ने रणनीति अनुसार भएको भन्न थालिएको छ । प्रदेश प्रमुख विवादित भएमा, पदको मर्यादा भुलेमा वा अन्य गलत आचरण भएका अवस्थामा प्रमुख राजनीतिक शक्तिबीच सहमति कायम गरेर हटाउन सक्ने भन्ने संविधानको मर्ममाथि पनि प्रहार भएको छ ।
संविधानले प्रदेश प्रमुख सम्बन्धित प्रदेशमा राष्ट्रपति र संघीय सरकारको प्रतिनिधिका रूपमा रहने परिकल्पना गरेको छ । प्रदेश प्रमुखका लागि कुनै पनि प्रकारको कार्यकारी अधिकारको व्यवस्था संविधानतः गरिएको छैन । तर, सम्बन्धित प्रदेशको सरकार गठन, सरकार सञ्चालन, कानुन निर्माण र कानुन जारी हुने प्रक्रियाका सन्दर्भमा प्रदेश प्रमुखको भूमिका नहेरी कार्यकर्ता भर्ती गरे जसरी राख्ने र हटाउने प्रचलन सुरु भएको छ ।
नेपाल अहिले संघीयता कार्यान्वयनको जटिल अवस्थामा रहेको सर्वविदितै छ । संघीयताको कार्यान्वयन सन्दर्भमा संघीय, प्रादेशिक तथा स्थानीय गरी तीनै तहका सरकार क्रियाशील हुनुपर्ने हो । तर, वेला वेलामा यी तीनै तहका सरकारबाट केही यस्ता निर्णय हुने गर्छन्, जसले संघीयताको इमानदार कार्यान्वयनमा प्रश्नचिन्ह खडा हुन थालेको छ । पछिल्लो पटक एमाले नेतृत्वमा सत्ता समीकरण बनेपछि प्रदेश प्रमुख हटाइए पछि संघीयता कार्यान्वयनमै प्रश्नचिन्ह लगाएको छ ।
त्यसो त संवैधानिक र कानुनी रूपले प्रदेश प्रमुखलाई किन पदमुक्त गरियो भनेर राष्ट्रपतिलाई प्रश्न गर्ने ठाउँ नहुन सक्छ । राष्ट्रपतिलाई यो अधिकार संविधानले नै दिएको छ । संविधानमा निर्धारित अवधिभन्दा पहिले नै उनीहरूलाई राष्ट्रपतिले पदमुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । संविधानको यो प्रावधानको आशय विना कारण पनि हटाउन मिल्छ भन्ने चाहिँ सायद होइन । अहिले उत्पन्न अन्योल यही नै हो । तर, जुन तीव्र गतिमा सरकारले सिफारिस गर्यो र राष्ट्रपति कार्यालयद्वारा तत्काल जे निर्णय सार्वजनिक गरियो, त्यसमा राष्ट्रपतिप्रति पनि सन्देहको औंला ठडिनु अस्वाभाविक होइन । राष्ट्रपतिको कार्यालयले कम्तीमा प्रदेश प्रमुखलाई हटाउनुपर्ने कारणबारे सरकारलाई एकपटक सोध्नु उचित हुन्थ्यो भन्ने पूर्व प्रमुख अहिराजको पनि तर्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार