वर्षे अधिवेशनको पहिलो दिन: खोज्दा-खोज्दै नभेटिएको ‘सहमति’
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार २०:५३:१०
२८ वैशाख, काठमाडौं । समस्याग्रस्त सहकारीहरूको रकम अपचलन बारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसदको वर्षे अधिवेशनको पहिलो दिनमै दुवै सदनका कार्यसूची प्रभावित भएका छन् ।
जनताको सार्वभौम थलोका रूपमा रहेको सङ्घीय संसदको बजेट अधिवेशनसँग नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरी पारित गर्नुपर्ने दायित्व रहेको छ । पहिलो दिनमा झै सहकारीका विषयमा संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने भन्नेमा मुख्य दलबीचको मतान्तर कायमै रही घेराउ र नाराबाजीमा बैठक सम्पन्न हुन थालेमा ती महत्वपूर्ण कार्यसूचीमाथिको छलफल सहज हुने देखिँदैन ।
सहकारी र लघुवित्त पीडितको सवालका साथै केही दिनदेखि देशका विभिन्न ठाउँमा भएका आगजनी तथा डढेलोबाट जनधनको क्षति, वातावरण प्रदूषणको असर, राष्ट्रिय गौरवका आयोजनाका कामको गति, सरकारको पूँजीगत खर्चमा कमी, खानेपानी अभाव, अशन्न मनसुन जन्य विपद्को पूर्व तयारी, बजार मूल्य नियन्त्रण र सहज आपूर्ति, अर्थतन्त्रलाई कसरी सुधार गर्ने जस्ता जनताका समसामयिक समस्या ज्यूकात्यूँ छन् ।
यी विषय मुख्य रुपमा सदनमा उठाउन सत्तापक्ष र प्रतिपक्षका सांसदलाई सदनका बैठक नियमित चल्नुपर्ने आवश्यकता छ तर एउटै विषयमा लगातार सदन अवरोध हुनु र सहमतिमा पुग्न नसक्नुले जनतामा एक प्रकारको दिक्दारी महसुस भएको हुनसक्छ । यसले संसदीय व्यवस्था र प्रणालीमाथि समेत निराशा पैदा गर्न सक्ने स्वयम् सांसदहरूको बुझाइ छ । राष्ट्रिय सभाको आजको पहिलो बैठकमा जनस्तरका मुद्दामा केन्द्रित हुनुपर्ने भन्दै सत्ता पक्ष नेकपा (एमाले) का नेता देवेन्द्र दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका मन्तव्यका सार पनि यस्तै थिए ।
प्रमुख प्रतिपक्षी काँग्रेसलगायत दलले सहकारी अनियमितताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएकाले उक्त समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदन चल्न नदिने अडान राखेपछि पहिलो दिनका कार्यसूची प्रभावित भएका हुन् । यही जेठ १ गते संसद्मा राष्ट्रपतिको सम्बोधनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा सदनका बैठकमा प्रस्तुत हुनै नपाएकाले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन नै परिवर्तन हुने देखिएको छ ।
यही वैशाख २ गते हिउँदे अधिवेशन पनि सहकारीकै विषयमा अवरोधका कारण विधेयकहरूमा पर्याप्त छलफल हुन नपाइ अन्त्य भएको थियो । उक्त विधेयक अधिवेशनको अन्तिम दिन पनि सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रतिपक्षको माग सम्बोधन नभएपछि अवरोधका बीच समापन भएकाले धेरैले बजेट अधिवेशनमा सहमतिको यात्रा आरम्भ हुने अपेक्षा गरेका थिए तर परिणाम त्यस्तो हुनसकेन । यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकहरू सँग गत्यावरोध अन्त्यका लागि परामर्श गर्नुभएको थियो तर ती प्रयास पनि सार्थक हुनसकेनन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसको आजको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटम लाइन’ भएको पुनः स्पष्ट गरेको थियो ।
सो दलले सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको संलग्नताको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग पुनः अघि सारेको थियो । कार्य व्यवस्था परामर्श समितिमा सहमतिको प्रयासका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको प्रतिनिधिसभाको पहिलो बैठकजस्तै दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण स्थगन भएको थियो । पहिलो बैठक कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले विरोध र नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगन भएको थियो । सभामुख घिमिरेले दोस्रो बैठकको कारवाही आरम्भ गर्नासाथ प्रतिपक्षका सांसद रोष्ट्रम घेराउसहित नाराबाजीमा उत्रँदै गर्दा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए पनि विपक्षीले बाटो छेकेका थिए । सभामुख घिमिरेले आसन ग्रहण गरी उपप्रधानमन्त्री लामिछानेका कुरा सुनेर आफ्ना भनाइ राख्न आग्रह गर्दा पनि विपक्षीले नमानेपछि आजको कार्यसूचीमा रहेका कार्यक्रम सूचीबाट हटाइ बैठक स्थगनको घोषणा गरे ।
राष्ट्रिय सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्ने क्रम पूरा भएको थियो भने प्रतिनिधिसभामा बोल्ने क्रम पनि चल्न सकेन । प्रतिनिधिसभाका सभामुख घिमिरेले र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सम्बन्धित सभाका बैठकमा मुलुकका सामु देखिएका चुनौती र समस्या प्रस्तुत गर्न र जनताप्रति जवाफदेही भएर प्रस्तुत हुन सरकार तथा सांसदलाई गरेको आग्रह कामयावी हुन सकेन ।
पटक पटकका आग्रहका बीच सदनमा अवरोध र नाराबाजी भइरहे पछि बैठक स्थगन गर्न उनीहरू बाध्य भयो । सहमतिको बिन्दू खोजेर आगामी बैठक सहजरूपमा सञ्चालनका लागि मुख्य दलका शीर्ष नेताको पहल कुन रूपमा अघि बढ्छ त्यस आधारमा वर्षे अधिवेशनको सार्थकता निहित रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार