आईजीपी हटाउने प्रयासः गृहमन्त्रीको चाहनामा प्रधानमन्त्री र बालकोट बाधक
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार १२:२:१७
५ असार, काठमाडौं । कास्की प्रहरी र रुपन्देही प्रहरीमा सहकारी ठगी सम्बन्धमा परेको पूरक जाहेरीको विषयमा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृहसचिव र प्रहरी महानिरीक्षक हटाउने प्रस्ताव गर्दा प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरे पनि हटाउने कोशिश भने जारी राखेका छन् । सहकारी ठगी सम्बन्धी आफ्नो विरुद्धको उजुरी रोक्न नसकेको आरोपमा गृहसचिव र प्रहरी महानिरीक्षकको भुमिकालाई लिएर गृहमन्त्री लामिछानेले असन्तुष्टि जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै असहमति प्रकट गरेका थिए ।
उनले गृहसचिव एकनारायण अर्याललाई तुरुन्तै हटाउने र उनको स्थानमा प्रधानमन्त्री कार्यालयमा रहेका कृष्णहरि पुस्करलाई ल्याउन प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री तयार भएपनि केपी ओलीको प्रष्ट असहमतिका कारण अहिले पनि लामिछाने गृहसचिव र आईजीपी वसन्त कुँवर हटाउने गरी सचिवालयलाई तयारी थाल्न निर्देशन दिएको बताइएको छ ।
अघिल्लो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर लामिछानेले आईजीपी बसन्तबहादुर कुँवरले असहयोग गरेको भन्दै हटाउने प्रस्ताव गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएर विचाराधीन रहेको जाहेरी सर्वोच्च अदालतले झिकाउन माग गरेपछि उनीविरुद्ध परेको पूरक उजुरी बाहिर आएसँगै गृहमन्त्री लामिछानेले आईजीपीलाई हटाउने प्रस्ताव गरेको बालुवाटार निकट स्रोतले जनाएको छ । त्यसपछि सुरक्षा अंगका तीन वटै आईजीपी प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । उनीहरुले गृहमन्त्रीले व्यक्तिलाई केन्द्रमा राखेर आईजीपी हटाउनु पर्ने प्रस्ताव गरेकोमा त्यो राम्रो पक्ष नभएको भन्दै सरकारलाई समेत भोलिका दिन अप्ठेरो पर्ने तथा निर्वाचनको बेला नकारात्मक सन्देश फैलन सक्ने बताएका थिए ।
‘उपप्रधानमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीको पूरक जाहेरी बाहिर आएको र त्यस बारेमा आफूलाई जानकारी नदिएको भन्दै आईजीपीले असहयोग गरेको बहानामा हटाउने प्रस्ताव गरेका हुन्, प्रधानमन्त्रीले यो विषयमा अलि पेचिलो हुन्छ , ओली जीको प्रष्ट असहमति छ, केही समय कुरौ भनेका थिए’, बालुवाटार निकट स्रोतले भन्यो । कास्की प्रहरीमा पूरक जाहेरी गत माघमै परेको भए पनि त्यसलाई गोप्य राखिएको थियो ।
गत चैतमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक कुँवर कुम जोडेरै बसेका थिए । त्यसबेला कास्की प्रहरी प्रमुख एसपी मोहन थापालाई समेत बोलाएर राज्य व्यवस्था समितिको बैठकमा लगिएको थियो । सहकारी ठगी तथा विभिन्न विषयमा उनीहरुले समितिलाई जवाफ दिनुपर्ने थियो । बैठकमा दुवै जनाले सांसदहरुको जिज्ञासा मेटाउने काम गरे । तर त्यहाँ नेपाल प्रहरीका महानिरीक्षक कुँवरले दिएको जवाफप्रति धेरैको ध्यान जान सकेको थिएन ।
प्रधानमन्त्री प्रचण्डले संसदको रोस्टममा उभिएर सहकारी ठगी प्रकरणको आफूले पनि आन्तरिक छानबिन गरेको भन्दै रवि लामिछाने निर्दोष रहेको प्रमाणपत्र दिएका थिए । प्रहरीमा त्यसको अनुसन्धान हुँदै गर्दा प्रधानमन्त्रीले संसदको रोष्टमबाटै निर्दोष सावित गरिदिएका थिए । जब कि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा एआईजी किरण बज्राचार्यको नेतृत्व हुँदै गर्दा सहकारी ठगीमा रवि लामिछानेको विषयमा सबै फाइल मगाएर अनुसन्धान शुरु भएको थियो । त्यहीकारण बज्राचार्य लगायतको टीमलाई सरुवा गरिएपछि अहिले त्यो अनुसन्धान रोकिएको छ । सूर्यदर्शन सहकारी ठगीमा परेको उजुरीका कारण गृहमन्त्री र आईजीपी बीचको सम्बन्ध चिसिएपछि एआईजी श्याम ज्ञवाली आईजीपी हटाउनका लागि लबिङ गरिरहेका छन् । उनी आगामी भदौ २६ मा उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएकाले अहिलेबाटै नियमावली संशोधन गर्न लागिपरेका छन् ।
तर प्रधानमन्त्री प्रचण्डले गृह जिल्ला चितवन पुगेर स्पष्टीकरण दिए, ‘नेपाल प्रहरीमा आईजीपी परिवर्तन हुँदैन, त्यो हल्लामात्रै हो ।’ यसपछि आईजीपी कुँवरलाई केही राहत भएको छ तर उनको निकम्मापनले नेपाल प्रहरीमा सीमा नाघेको बताउनेहरूको कमी भने छैन । आईजीपी राख्ने वा नराख्ने विषयमा बालकोटस्थित केपी ओली निवासले पनि निर्धारण गर्ने भएकाले प्रचण्ड एक्लैले निर्णय गर्नसक्ने अवस्थामा छैनन । त्यही कारण उनले रविलाई तत्कालै यो विषय पेचिलो हुने भन्दै पन्छाएका थिए । ‘मैले ३ वटै आईजीपीलाई बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, त्यही स्पिरिटमा काम गर्नुस् भनेको छु,’ प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रुपमै आईजीपी नहटाउने भन्दै रविलाई सन्देश दिए ।
त्यसअघि आइतबार प्रहरी प्रधान कार्यालयले पनि सूचना जारी गरेर प्रहरी संगठन र नागरिक स्तरमा निराशाजनक सन्देश प्रवाह गर्ने प्रचार भएको भन्दै खण्डन गरेको थियो । भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएर आईजीपी परिवर्तनको प्रयास भएको, तर आफूले नमानेको सन्देश दिएका छन ।
गृह मन्त्रालय स्रोतका अनुसार आईजीपी कुँवरसँग रवि सन्तुष्ट छैनन् । आईजीपी कुँवर आफ्नो स्पिरिट अनुसार हिँड्न नसकेको गृहमन्त्री लामिछानेले पटक पटक बताउँदै आएका छन् । विभिन्न घट्नाक्रमहरु लामिछाने प्रतिकूल हुन थालेपछि आईजीपीप्रति आँखा लगाउँदै गर्दा आईजीपीले पनि ओली र प्रधानमन्त्रीलाई रिझाउन थालेका छन् । ‘सर्वसाधारणमा सकारात्मक सन्देश जाने गरी कतिपय काम तत्कालै गर्नुपर्नेमा त्यो हुन सकेन’,गृहमन्त्रीको सचिवालयमा रहेका एक सदस्यले भने । गृहमन्त्री लामिछाने हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा नेतृत्वमा रहेका श्यामलाल ज्ञवालीलाई प्रहरी प्रमुख बनाउन चाहन्छन् । ज्ञवाली अहिले लामिछानेकै क्वार्टर मन्त्रीको सचिवालयमा भेटिने गरेका छन् ।
गृहमन्त्री लामिछानेले प्रहरीका काम कारबाहीबारे सूचना संकलन गर्न र निर्णयबारे सहयोग गर्न पूर्व प्रहरी उच्च अधिकृतहरूको अनौपचारिक समूह पनि बनाएका छन् । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान विवादमा तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यसहितको टोली बाहिरिएपछि गृहमन्त्री लामिछानेले सीआईबी नेतृत्वमा ज्ञवालीलाई रोजेका थिए । त्यसयता लामिछानेले आईजीपीभन्दा बढी ज्ञवालीलाई नै विश्वासमा लिएर काम गरिरहेका छन् । ५६ वर्षे उमेर हदका कारण एआईजी ज्ञवाली २६ भदौमा अनिवार्य अवकाशमा जानेछन् । तर त्यसअगाडि नै आईजीपी बनाउने हो भने कम्तीमा चैतसम्म प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।
प्रहरी नियमावली अनुसार आईजीपीको उमेर हद ५८ वर्ष हुन्छ । साथै ३० वर्षे सेवा अवधि पनि छ । दुईमध्ये जुन पहिला पूरा हुन्छ, त्यही लागू हुने व्यवस्थाअनुसार प्रहरी प्रमुख भइहाले पनि ज्ञवाली लामो समय नेतृत्वमा रहिरहन सक्दैनन् । तर प्रहरी समायोजनका लागि आवश्यक कानुनी प्रबन्ध गर्ने क्रममा प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने तयारी छ । त्यसो भएमा भने उनको कार्यकाल लम्बिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार