रविन्द्र मिश्र नेतृत्वको पार्टीको नाम परिवर्तन : बन्याे साझा विवेकशील !
इन्द्र रिजाल
बैशाख १४, २०७६ शनिबार २३:३:१८
काठमाडौं । संचारकर्मी एवं पूर्वपत्रकार रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझाले पार्टीको नाम परिवर्तन गरेको छ ।काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको पूर्ण वैठकले पार्टीको नाम परिवर्तन गर्दे साझा विवेकशील पार्टी राख्ने निर्णय गरेको हो ।
तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ । नामका बारेमा जनमानसमा भ्रम उत्पन्न हुने देखिएपछि पार्टीको नाम परिवर्तन गरेको सो पार्टीले शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दे जानकारी गराएको हो ।
वैशाख ११, १२ र १३ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्दे साझा विवेकशीलले जेठको १ गतेदेखि कम्तिमा तीन महिना पार्टी निर्माणका लागी देशको यात्रामा निस्कने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचन गैर दलीय बन्नु पर्छ भन्ने धारणालाई प्रमुख एजेण्डा बनाउने सो पार्टीले जनाएको छ ।
पत्रकार सम्मेलनमा साझा विवेकशीलका संयोजक रवीन्द्र मिश्रले दुईतिहाई बहुमतसहितको शक्तिशाली सरकारप्रति आम नागरिकमा चरम निराशा उत्पन्न भएको बताए ।
राज्यको हरेक निकायमा राजनीतिकरण, भ्रष्टाचार र वेथितिले मातृभूमीको स्वाभिमान र संवृद्धिको आशामाथि कुठाराघात गरिदिएको उनले बताए ।
केन्द्रिय समिति बैठकले कोष संकलनका अन्य अभियान कायम राख्ने निर्णण् गरेको प्रवक्ता डा सूर्यराज आचार्यले जानकारी दिए ।
पार्टीले आउँदा दिनहरूमा आफ्ना गतिविधिलाई मूलत भ्रष्टाचार विरोधी अभियानमा केन्द्रीत गर्ने उनले बताए ।
साझा विवेकशीलले नीतिगत प्राथमिकता सहित वृहत क्षेत्रगत नीतिहरू तय गरेको र तीन महिने यात्राको क्रममा प्राप्त सुझावहरू पनि समेटेर विस्तृत कार्यक्रमहरू तर्जुमा गरिने जानकारी पनि गराएको छ ।
साझा विवेकशीलले जारी गरेको विज्ञप्ती :
केन्द्रीय समितिकको बैठकका प्रमुख निर्णयहरू
आज देश एउटा गम्भिर विरोधाभाषबाट गुज्रिरहेको छ। एकातिर दुईतिहाई बहुमतसहितको शक्तिशाली सरकार छ। अर्कोतिर आम नागरिकमा देशको दूरावस्थाप्रति चरम निराशा उत्पन्न भएको छ। राज्यको हरेक निकायमा भएको असोचनीयस्तरको राजनीतिकरण, भ्रष्टाचार र वेथितिले मातृभूमीको स्वाभिमान र संवृद्धिको आशामाथि कुठाराघात गरिदिएको छ। यसले इमानदार, सक्षम र देशभक्त वैकल्पिक पार्टीको अपरिहार्यतालाई व्यावहारिकरूपमैँ प्रमाणित गरिदिएको छ।
सोही परिप्रेक्ष्यमा हाम्रो पार्टीले देशको राजनीतिक परिस्थितिलाई गम्भिर ढङ्गबाट विश्लेषण गरी तदअनुसार पार्टीको रणनीतिक कार्यक्रम तय गर्न वैशाख ११, १२ र १३ गते पार्टी संयोजक रवीन्द्र मिश्रको अध्यक्ष्यतामा बसेको केन्द्रीय समितिको पूर्ण वैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ। ती निर्णयका प्रमुख बुँदाहरू निम्न अनुसार छन्।
१. जेठको १ गतेदेखि कम्तिमा तीन महिना वैकल्पिक राजनीतिको भरपर्दो संवाहक बन्न सक्ने पार्टी निर्माणका लागि आम सर्वसाधारणसँग खुल्ला अन्तर्कृया गर्न पार्टी नेतृत्व देशको यात्रामा निस्कने छ। सो यात्राका क्रममा आम जनताको चासोका राष्ट्रिय एजेन्डा र अपेक्षाको पहिचान गरिने छ। साथै वृहत राष्ट्रिय स्वार्थ, मातृभुमीको सेवा र स्वाभिमान, भ्रष्टाचारमुक्त राज्य, सुसंस्कृत राजनीति र समतामुलक संवृद्धिप्रति प्रतिवद्ध हरेक नागरिकसँग देश रूपान्तरणको अभियानमा कसरी हातेमालो गर्न सकिन्छ भन्नेबारे बिमर्श गरिने छ। सो यात्रामा पार्टीसँग आवद्ध नभए पनि देशको रूपान्तरणमा सकृय रहेका कुनै पनि तप्का र विचारका प्रवुद्ध व्यक्तित्वहरूलाई संभव भएसम्म सामेल गरिनेछ। यात्राको निचोडका आधारमा पार्टीले विविध एजेन्डा र अडान तथा उच्च नेतृत्व लगायत विभिन्न तहका समितिलाई विस्तार गर्ने बारेमा आवस्यक निर्णय लिनेछ।
२. संसारका विभिन्न सुसंस्कृत देशहरूले अभ्यास गरेजस्तै स्थानीय तहको निर्वाचन गैर(दलीय बन्नु पर्छ भन्ने धारणालाई पार्टीले आफ्नो एउटा प्रमुख एजेण्डा बनाउने छ। त्यसले दलिय संबद्धताको आडमा स्थानीय तहमा हुने भ्रष्टाचारलाई न्यूनिकरण गर्नमात्र मद्दत गर्दैन, समाजको हरेक पक्षमा व्याप्त अनावश्यक र घातक दलिय भागभन्डा र अवाञ्छित राजनीतिकरणले ल्याएका विकृतिलाई पनि रोक्न मद्दत पुर्याउँछ।
३. भ्रष्टाचारले आक्रान्त समाजमा पार्टीले आउँदा दिनहरूमा आफ्ना गतिविधिलाई मूलतस् भ्रष्टाचार विरोधी अभियानमा केन्द्रीत गर्नेछ।
४. देशको रुपान्तरणको सोच र अभियानमा युवाहरुको यथोचित प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म युवाहरूका लागि ४० प्रतिशत स्थान आरक्षण गर्ने निर्णय गरेको छ।
५. विदेशमा रहेका पार्टीका सदस्यहरूलाई ‘विशेष प्रदेश’को मान्यता दिने, पार्टीको निर्वाचनमा उनीहरूलाई मतदानको अधिकार दिने, विदेशका पार्टी आवद्ध सद्भाव समूहहरूले पार्टीको महाधिवेशनमा प्रतिनिधहरू पठाउन सक्ने र सद्भाव समूहरूको अन्तराष्ट्रिय सञ्जालका संयोजकलाई पार्टीको पदेन केन्द्रीय सदस्य बनाउने निर्णय पनि गरिएको छ।
६. हालैको समयमा पार्टीबाट छुट्टिएर गएका साथीहरूले पनि ‘विवेकशील’ नाम प्रयोग गरिरहेको हुँदा प्रेस तथा आमरूपमा देखिएको अन्यौल र भ्रम चिर्न, त्यसले सृजना गरेका प्राविधिक जटिलताहरुलाई सहज बनाउन तथा धेरै शुभेच्छुकहरूको अनुरोधलाई आत्मसात गर्न पार्टीले आफ्नो नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’मा परिवर्तन गर्ने निर्णय गरेको छ।
७. सबैको सद्भाव, सहयोग र सकृयताबिना यो देशमा सुसंस्कृत राजनीति स्थापित गरेर समतामूलक संवृद्धि हासिल गर्ने हाम्रो लक्ष्य पुरा हुन सक्दैन। आवश्यक आर्थिक आधारबिना पार्टी निर्माण हुनै सक्दैन। त्यसैले पार्टीले “दिनक एक कप चिया कम पिउँ, बचेको रकम साझा विवेकशीललाई सहयोग गरौँ” अभियान सञ्चालन गर्नेछ। कोष संकलनका अन्य अभियान कायम रहने छ।
८. पार्टीले नीतिगत प्राथमिकता सहित वृहत क्षेत्रगत नीतिहरू तय गरको छ। तीन महिने यात्राको क्रममा प्राप्त सुझावहरू पनि समेटेर विस्तृत कार्यक्रमहरू तर्जुमा गरिने छ।
प्रवक्ता
डा. सूर्यराज आचार्य
साझा विवेकशील पार्टी
मिति: १४ वैशाख २०७६
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार