कांग्रेसले राष्ट्रका गम्भीर विषय छाडेर केमा बहस गर्दैछ ?
भेषराज पोखरेल
भदौ १८, २०८१ मंगलबार १२:२०:३४
नेपालको सबैभन्दा पुरानो र ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्यो । त्यो बैठकमा कुन कुन क्षेत्र बहसका विषय बने होलान् ? आमजनताले चासो राख्नु स्वभाविककै हो । महामन्त्रीहरूले बैठकमा प्रस्तुत हुने प्रतिवेदन र तिनमाथि सभापति शेरबहादुर देउवासँगको छलफललाई हेर्दा कांग्रेसले देशका अति महत्वपूर्ण र गम्भीर विषयलाई छाडेर पार्टीभित्रका अति सामान्य कुरामा बहस गर्दै अल्झिएको र अल्झिने अवस्था देखिएको छ ।
गुणस्तर र व्यवस्थापन दुवै खस्कँदै गएको समग्र शिक्षा क्षेत्र, आन्तरिक रुपमा कमजोर बन्दै गएको अर्थतन्त्र, राजनीतिकरणले थिलोथिलो बन्दै गएको न्याय क्षेत्र, नयाँ नयाँ क्षेत्र र प्रविधि उपयोग गर्दै बढ्दै गएको तस्करी, राजनीतिभित्र डरलाग्दो गरी मौलाएको दलालीकरण र कमिसनको प्रवेशका कारण पूर्ण रुपमा ध्वस्त भएको सहकारी क्षेत्र, देशका कुनै पनि क्षेत्रमा क्षमता देखाउन नसकेको कर्मचारी तन्त्रजस्ता अनेकौं गम्भीर क्षेत्र विसद बहस र छलफलका विषय बन्न सकेनन् । आफू बाँचेसम्म सत्ता र शक्ति मेरै हातमा हुनुपर्छ, सके लिएर देखाओ भन्ने नेतृत्वलाई रोक्ने विषयमा छलफल चले र चलिरहेका छन् । केन्द्रीय समितिमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदन परिमार्जितसहित पारित गरेको बताइयो । कांग्रेसजस्तो जिम्मेवार दल गम्भीर विषयमा केन्द्रित नभएर आन्तरिक मामिलामै अल्झनु राष्ट्रका लागि त नराम्रो कुरा हो नै सो दलका लागि पनि घाटाको विषय हो ।
कांग्रेसले आफूलाई प्रजातान्त्रिक दलका रुपमा दाबी गर्दै आए पनि आन्तरिक रुपमा भने प्रजातान्त्रिक अभ्यास सन्तोषजनक छैन । नेतृत्वको वरिपरिको वर्ग र त्यससँग जोडिएको तलसम्म रहेको वर्ग सकेसम्म आफू नमर्दासम्म सत्ता र शक्ति आफ्नै हातमा राख्न सबै शक्ति खर्च गर्दै आएको छ । नेतृत्वमा रहेको यो प्रवृत्ति रोक्न नसके नयाँ, नयाँ नेताको उदय हुन सक्दैन । युवाहरूको आकर्षण रहँदैन, उनीहरुले कहिले सत्ता, शक्तिमा पुग्ने र आफ्नो क्षमता देखाउने ? भनेर एक पटक सोच्नेछन् । यो अवस्थामा नयाँ विचारको बहस, विश्लेषण तथा भइरहेका विषयहरूमा नयाँ सोच आउन सक्दैन । सधैं एक खाले नेतृत्व वर्गको चंगुलमा विचारलाई पनि अठ्याइरहने खतरा रहन्छ ।
अहिले कांग्रेसमा त्यस्तै छ । महामन्त्री गगन थापाको महाधिवेशन समयमै हुनुपर्ने र कांग्रेसको संगठन सुदृढ गरेर आगामी निर्वाचनमा गठबन्धन गर्नु हुँदैन भन्ने प्रतिवेदन मिलाएर मात्र पारित भयो । अर्का महामन्त्री विश्वप्रकाश शर्माको राष्ट्रपति, प्रधानमन्त्री तथा सांसदहरुको हदबन्दी तोक्ने विषय संविधान संशोधनको विषय बनाउने भनेर पारित भयो । संगठन सुदृढ गरेर कांग्रेस एक्लै चुनाव लड्ने कुरा पनि जस्ताको तस्तै पारित भएन । यसको मुख्य कारण सभापतिको वरिपरि रहेर सत्ता र शक्तिमा रमाइरहेका गठबन्धन नहुने हो भने आफूहरू हार्ने अवस्था रहेकाले गठबन्धनकै पक्षमा छन् । यसले नयाँ नेतृत्वलाई अगाडि आउन रोकिरहनेछ । अर्को, विश्वप्रकाश शर्माले ल्याएको हदबन्दीले पनि सत्ता र शक्तिमा सधैं हाबी हुने बुद्धि, विवेक, ऊर्जा केही नभएका वर्गलाई घाटा पर्ने भएकाले सिधै पारित भएन ।
कांग्रेस तुलनात्मक रुपमा सांगठनिक संरचनाका हिसाबले व्यवस्थित दल भएकाले त्यसभित्र विभिन्न विषयगत विभागहरू छन् । ती विभागहरूमा राष्ट्र र जनताका प्रत्यक्ष सरोकार राख्ने विषयमा सार्थक छलफल नै हुँदैन । यी समितिहरुलाई पुतली अर्थात् बुख्याँचाजस्ता भएका छन् । शिक्षा किन कमजोर हुँदै गयो ? शिक्षा समितिले वृहत् अध्ययन अनुसन्धान र गम्भीर बहस छेड्न सक्नुपर्थ्यो । कहिले ग्रेस परिवर्तन गर्ने, कहिले परीक्षा खुकुलो बनाउने गरेर शिक्षा क्षेत्र सुध्रन्न । शिक्षा क्षेत्र यो अवस्थामा आउनुमा अनेकौं कारण छन् । त्यसमा मुख्य भूमिका राजनीतिक क्षेत्रकै छ । अर्को, आन्तरिक अर्थतन्त्र सुक्दै गएको कुरा मौद्रिक नीतिमा केही खुकुलो बनाएर सम्भव छैन । सेयर धितो राखेर ऋण लिएर लगानी बढेर सेयर बजार माथि उक्ले होला, अर्थतन्त्रका उद्योग, व्यापार, नयाँ प्रवर्तनजस्ता क्षेत्र कमजोर हुँदै गएको अवस्थामा यो कति दिन टिक्ला ? समान रुपमा अर्थतन्त्रका अवयवहरूमा विकास नभए यसले पनि संकट नै निम्त्याउने अवस्था आउन सक्छ । अहिले बैंकमा ७ खर्बभन्दा बढी पैसा थुप्रिएको छ तर बैंकको ऋण लिने उद्योगी, व्यापारी छैनन् । यो अवस्था अलि समय रहे बैंकको अवस्था कस्तो होला ? खै कांग्रेसमा यस सम्बन्धमा खोज, अनुसन्धान, बहस, विश्लेषण गरेर निष्कर्ष निकालेको ?
केही समययता बार एसोसियसन सम्बद्ध वकिलहरू न्याय क्षेत्रमा विकृति आयो भन्दै आन्दोलनमा छन् । जिम्मेवार दल कांग्रेसले यसलाई बहस, छलफलको विषय बनाएन । न्याय क्षेत्र व्यवस्थित र संविधानको मर्म अनुसार अघि बढाउँदा शीर्ष नेतृत्व र त्यसको वरिपरि रहेको शक्ति केन्द्रको दाउ पूरा नहोला तर यसले देश, जनता र कांग्रेस पार्टीलाई कहिल्यै घाटा पार्नेछैन । यस्तो गम्भीर विषय बेवास्तामा पर्नु डरलाग्दो हो । राष्ट्रिय महत्वका आयोजनाहरू समयमा किन पूरा हुँदैनन् ? यसले देशलाई कति घाटा पारेको छ भन्ने कुरा कांग्रेसका खोज, अनुसन्धान र बहसको विषय बन्नुपर्ने हो । नयाँ नयाँ क्षेत्रको उपयोग राजनीतिक क्षेत्रले गरेकाले नै देशमा डरलाग्दो गरी तस्करी बढेको छ । राजनीतिक क्षेत्रका उच्च तहमा रहनेहरू र तिनका सन्तान डरलाग्दो गरी यो क्षेत्रमा डुबेको छ ।
यतातिर कांग्रेसको ध्यान जानुपर्ने हो तर त्यसो भएको छैन । मात्र तस्करलाई कारबाही हुनुपर्छ भनेर कांग्रेसी युवाहरू चुप लागेर बस्दै आएका छन् । सहकारीकै कुरा गर्दा दोषीलाई कारबाही त गर्नैपर्यो तर त्यसको जडसम्म पुगेर यो अवस्था आउनुको कारण नखोतलेसम्म यो क्षेत्र सुधारिन सक्दैन । यस्ता कुरामा कांग्रेस किन आक्रामक रुपमा अघि बढ्दैन ? यसको कारण खोजेर समाधानतिर नलागे यसले अर्थतन्त्रलाई खस्काउने त छ नै समाजलाई नै डरलाग्दो गरी कमजोर बनाउँदै लैजानेछ । कर्मचारीतन्त्रमा रहेको कामलाई टार्ने, अत्यन्तै चाकडीवाज, छोटो सोच, कमजोर ज्ञानका कारण देश डुब्ने अवस्थामा पुगेको छ ।
यसलाई बदल्न जिम्मेवार दलभित्र विसद् खोज, अनुसन्धान र बहस, विश्लेषण हुनुपर्ने हो तर त्यो कुनै पनि दलमा छैन । कांग्रेसका युवाहरु सधैं नेतृत्वतिर अधीर र अतृप्त आँखाले हेर्दै समय बिताइरहेका छन् । यसले देशलाई मात्रै होइन कांग्रेसमा पनि खिया लगाउँदै जानेछ । अहिलेको गठबन्धन सरकारमा कांग्रेसको संलग्नता सत्तास्वार्थका लागि मात्रै कि केही गरेर देखाउन ? प्रश्न उठेको छ । यही अवस्थामा ०८४ मा कांग्रेस छाती फुलाएर जनतासामू जान सक्ला ?
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार