काठमाडौं सिडिओ अफिसमा घुसखोर कर्मचारीकै टीम !
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार १२:२७:५०
१७ मंसिर, काठमाडौं । नागरिकता, त्यो देशको नागरिक भएको प्रमाण । गैरनागरिक र आवश्यक प्रमाण नपुगेका कसैले पनि नागरिकता पाउँदैनन्, पाउनु पनि हुन्न ।
तर, यहाँ सुनको तस्करी गर्ने विदेशीले पनि नागरिकता लिएकै छन् । अन्य अवैध धन्दामा लागेका विदेशीहरु, जसले नेपालकै नागरिकता लिएका–पाएका कति छन्, छन् ? दक्षिणका मात्रै होइनन्, उत्तरका पनि थुप्रैले नेपाली नागरिकता लिएर आफूलाई आवश्यकता अनुसार नेपाली र विदेशी बनाइरहेका छन् । त्यस्तो धन्दामा स्वयम् राष्ट्रसेवक भनाउँदा कर्मचारी नै लागेको पाइन्छ । यसरी, त्यसरी, जसरी पनि पैसोतिरै ध्यान दिनेहरूले गर्ने यस्ता अपराधजन्य क्रियाकलाप ख्वै कसले छानविन गर्ने ?
तर, उत्तर–दक्षिणका विदेशीले धमाधम र सहजै नेपालको नागरिकतामा पहुँच पुराइरहँदा नेपालमै जन्मे हुर्केका र पढेलेखेका एवं आवश्यक कागजात समेत भएकाहरूले भने नयाँ नागरिकता प्राप्त गर्न त्यति सहज देखिन्न काठमाडौंको सिडिओ अफिसमा । आवश्यक सबै कागजात पेश गर्दा पनि यो भएन, त्यो भएन, यसो भएन, त्यसो भएन भन्दै फर्काइदिने, सेवाग्राहीसँग झर्कोफर्को गर्ने त नागरिकता फाँटका कर्मचारीको दैनिकी नै बनिसकेको देखिन्छ ।
कार्यालयकै अभिलेखमै रहेको, सक्कली कागजातमा अति सामान्य कमीकमजोरी देखियो भने पनि सिडिओ कार्यालयका कर्मचारीले कामको सिलसिला अघि बढाउन मान्दै मान्दैनन् । नयाँ नागरिकता फाँटको १०२, १०३, १०४ र १०५ नम्बरमा खटिएका कर्मचारी हरपल एकजुट देखिन्छन् । उनीहरुले दलालमार्फत आएको काम बाहेक सिधैं सेवाग्राहीले लिएर गएको काम पच्छ्याउने वा यसो र त्यसो भन्ने बाहेक अरु जानेकै हुन्नन् । सिडिओ कार्यालय परिसर जाने जो कोहीले देख्ने, बुझ्ने विषय हो यो । तर, पनि त्यतातर्फ ख्वै कुन्नी सिडिओ र ३/३ जना सहायक सिडिओको नजर नै पर्दैन ।
कर्मचारीको छुद्र शैली र झर्को लाग्ने व्यवहार बारे सिडिओ ( सहायक सिडिओलाई मुश्किलले भेटेर गुनासो गरिहाल्यो भने उनीहरूबाट पनि खासै चित्त बुझ्दो जवाफ पाइँदैन । पाइहाले पनि बिना लेनदेन काम हुने भन्ने कल्पना मात्र हो । नागरिकता फाँटमा खटिएका कर्मचारीको 'एकै स्वर, उस्तै शैली' अचम्म लाग्दो देखिन्छ । यता, झ्याल बाहिर सेवाग्राही उनीहरुका व्यवहारले 'रुनु न हास्नु' को अवस्थामा देखिन्छन् ।
तर, त्यही काम दलालमार्फत गयो भने १० मिनेटमै फत्ते । अचम्म लाग्दो त के भने एकछिन अघि दोष र खोट लगाउँदै बदर गरिएका कागजात दक्षिणा बुझाएपछि त्यसै सदर हुन्छन् । दलालमार्फत जोडिएका सेवाग्राहीको काम मोबाइलमा हेरेरै पनि रुजु गरिन्छन्, फोटोकपी पनि स्वीकार्छन् । अर्थात् बोलेकै भरमा पनि विश्वास गर्छन् ।
दलालले काम र अवस्था अनुसार रकम मोलतोल गर्ने गर्छन् । त्यसरी मोलतोल गरेर असुलिएको रकम कर्मचारीको तह अनुसार भागबण्डा हुन्छ । तर, त्यो भागबण्डा कुन तहसम्म पुग्छ, त्यो छानविनकै अवस्था देखिएको छ अहिलेलाई ।
सामान्यतया, सेवाग्राहीलाई सेवा दिने नाममा महत्वपूर्ण शाखा दामखोरी नियत भएकाले मात्रै पाउने गर्छन् । उनीहरुले औंलाइदिएको खोट अनुसार रकम मोलमोलाइँ हुन्छ । काठमाडौं सिडिओ कार्यालयको नयाँ नागरिकता शाखामा खटिएका कर्मचारी प्रायः जसो मालदार अड्डा र महत्वपूर्ण शाखामै खटिन्छन् र खटाइन्छ पनि ।
सिडिओ कार्यालय काठमाडौंमा कार्यरत शाखा अधिकृत उपेन्द्र साह एउटा त्यस्तै पात्र हुन्, जो सधैँ जसो महत्वपूर्ण अड्डामा खटिने गरेका छन् । यसअघि, सवारी अनुमति चालक प्रमाणपत्र प्रदान गर्ने निकाय यातायात व्यवस्था विभागको ठूलो भर्याङ शाखामा, त्यसअघि अध्यागमन विभागको भिसा प्रदान गर्ने शाखामा खटिएका उनको अहिलेको जिम्मेवारी काठमाडौं सिडिओ कार्यालयको पनि महत्वपूर्ण शाखा नयाँ नागरिकता फाँट हो । नागरिकता जस्तो संवेदनशील विषयमा पनि त्यहाँ पुगेका सेवाग्राहीसँग प्रशासकीय अधिकृत साहले सिधैं आफूले भने आर्थिक लेनदेन गर्दैनन्, त्यसका लागि दलाल परिचालन गरिएको हुन्छ ? सोही कार्यालयका एक कर्मचारीले यस संवाददातालाई भने ।
उनका अनुसार झ्यालबाट फर्काइएको सेवाग्राहीलाई दलालले पिछा गर्दै गएर अनामनगर वा बबरमहल तिर भेटेर वार्तालाप गर्ने गरेका छन् । अझै अचम्म त यिनै उपेन्द्र साहले भ्रष्टाचार बारे कलम पनि चलाएका छन्, उनको लेख नागरिक दैनिकको २०८० पुस २३ गतेको अंकमा छापिएको लेख पढ्दा.... कुन्नी केलाई भन्दा ....केलाई लाज जस्तो पो लाग्यो त ।
हुन त, यतिबेला काठमाडौं सिडिओ कार्यालयकै हेड अर्थात् प्रमुख जिल्ला अधिकारी जयराम आचार्य नै शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धि विवादमा तानिएका छन् । न्यायालयले समेत उनीमाथि खबरदारी गरिसकेको छ । त्यसैले उनको सरुवा भइसकेको छ । अरु को कुन कर्मचारीका पनि के(के आरोप अभियोग होलान्, खोजीकै विषय बन्दैछ । यस्तो बेलामा नागरिकले पाएको सास्तीको ख्वै कसले सुनवाई गर्ला र ? जे भए पनि, आफ्नै देशको नागरिकमाथि अनागरिक व्यवहार गर्ने अनि गैर नागरिकलाई नगद नारायण बुझेकै भरमा नागरिकता प्रदान गर्ने काम जिम्मेवार कोही कसैबाट पनि नहोस् । र, सेवा लिन कार्यालय पुगेका सेवाग्राहीमाथि राष्ट्रसेवक भनाउँदा कोहीबाट पनि अभद्र व्यवहार र अशिष्ट शैली प्रयोग नगरियोस् ।
यी व्यक्तिको भूमिका पनि शङ्कास्पद
यही बीच, तस्विरमा देखिएका यी व्यक्तिको पनि शङ्कास्पद भूमिका नागरिकता फाँटमा देखियो । निस्फीक्री सिडिओ कार्यालयका विभिन्न शाखामा आउजाउ गर्ने यी व्यक्ति सिडिओ कार्यालयकै निगरानीकर्ता हुन् वा दलालका हेड त्यस बारेमा छानविन चल्दैछ । उनका शङ्कास्पद व्यवहार कहिले अनामनगरको हनुमान स्थानसम्मका चिया पसलमा त कहिले जिल्ला प्रशासन कार्यालयको परिसर, राहदानी फाँट, राष्ट्रिय परिचयपत्र फाँट, नागरिकता फाँटलगायतका अन्य फाँटमा गरिरहेको बेरोकटोकको ओहोरदोहोरले देखाउँथ्यो । यी सबै विषयमा छानविन जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
नवलपरासी आलुमा आत्मनिर्भर
पुष २२, २०८१ सोमबार
अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित, अवैध संरचना भत्काउने तयारी
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार