यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मीन बहादुर खड्का
मंसिर २१, २०८१ शुक्रबार १८:०:३४
२१ मंसिर, काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका २ सिम्लाकी २१ वर्षीय नवोदित गायिका चन्द्रा न्यौपानेको गत (सोमबार) "कर्णाली छल्किजा” नामक गीत बजारमा सार्वजनिक भयो।
भनिन्छ, जसको सहारा कोही हुँदैन, उसको सहारा भगवान हुन्छ । यस्तै अभाव नै अभावको जीवन बाँचिरहेकी चन्द्राको कलाकारिता प्रतिको लगाव र गायिका बन्ने हुटहुटीले उनको पहिलो सांगीतिक प्रस्तुति बजारमा आयो। उनले गरेको संघर्षलाई शब्दमा बयान गर्न सकिँदैन । उनले कयौँ दुःखका पहाडहरूलाई छिचोल्दै गीत गाउने सपना पूरा गर्न सफल भएकी छन् ।
यिनै न्यौपाने जसले आज भन्दा ६ वर्ष अगाडि आफ्ना बुवा गुमाइसकेकी थिइन् । सानैदेखि कलाकार बन्ने धोको भएकी न्यौपानेको आवाज सुनौँ सुनौँ लाग्ने छ। न्यौपानेको यो पहिलो गीत हो। सुदूरपश्चिमका देउडा गीतका राजा भनेर चिनिने देउडा गायक प्रकाश थापाले स्वरमा साथ दिएको यो गीतको शब्द रचना गीतकार एवं साहित्यका राजेन्द्र शाह (बीपी)ले गरेका हुन् भने लय प्रकाश थापा स्वयंको रहेको छ ।
गीतमा एरेन्ज विनोद बाजुरालीको छ भने गीतका निर्देशक भीम थापा हुन् । पहिलो गीतबाटै उनले धेरैको माया र आशीर्वाद पाइरहेकी छन् । यो गीत गीतकार एवं साहित्यकार राजेन्द्र शाह (बीपी) र गायक प्रकाश थापाको विशेष सहयोगमा बनेको हो। बजारमा गीत सार्वजनिक भइसकेपछि धेरैले न्यौपानेको स्वरको प्रशंसा गरिरहेका छन् । गायक प्रकाश थापा र गीतकार एवं साहित्यका राजेन्द्र शाह (बीपी) सँगको पहिलो सहकार्यले उनको कलाकारिता क्षेत्र थप उज्ज्वल बन्दै जाने संकेत पनि हो।
गीत सुन्दा आवाज निकै मीठो सुनिए जस्तो न्यौपानेको विगत भने छैन। उनको विगत निकै नमीठो छ। उनको कहाली लाग्दो विगतले सम्भवतः सबैलाई विक्षिप्त बनाउँछ । १३ वर्षकी हुँदा बुवा गुमाएकी चन्द्रा ठाडी भाका गीत गाउन बढी रुचाउने भएपनि उनले सांगीतिक जीवनको सुरुवात भने देउडा गीत बाट गरेकी छन्।
सानैमा बुवा गुमाउँदा चन्द्रा लगायत उनका भाइबहिनीको बाल्यकाल निकै दुःखद बित्यो। बुवाको मृत्युपछि घरको सबै जिम्मेवारी आमाको काँधमा थपियो। श्रीमानको मृत्युपछि टुहुरा छोराछोरीको हेरचाह मात्रै होइन सिङ्गो परिवारको जिम्मेवारी उनकी आमाको काँधमा थियो । जिम्मेवारी बहन गर्नुको अर्को विकल्प थिएन । कुटो कोदालो गरेर छोराछोरी हुर्काइन् ।
चन्द्राका बाल्यकाल देखिका दुःखका श्रृंखला
बुवाको मृत्युपछि चन्द्राका भाइबहिनीले अभावको जिन्दगी झेल्नुपर्यो। आमाको कमाइले मात्रै परिवार धान्न सक्ने स्थिति थिएन । उसो त ठाडो भाका गीत बढी गाउन रुचाउने उनको गीत गाउने र गायिका बन्ने बच्चै देखिको धोको थियो। तर धोकोले मात्रै पुग्ने स्थिति थिएन। अन्य विधाका गीतहरू समेत सानैदेखि गुनगुनाउने उनले लामो समयसम्म आफ्नो प्रतिभा लुकाएर बसिन्। यो उनको रहर थिएन, बाध्यता थियो।
उनले आफ्नो पारिवारिक अवस्थालाई मध्यनजर गर्दै गायिका बन्ने बाल्यकाल देखिको रहर रहरमै सीमित राखेकी थिइन् । सानैदेखि उनलाई गीत गाउँदा आवाज सुनेका जतिले भने तिम्रो कलाकारिता क्षेत्रमा राम्रो भविष्य छ भन्दै गायनलाई निरन्तरता दिन सुझाव दिएको न्यौपाने अहिले सम्झिन्छिन् । सानैदेखि गीत गाउने र गायिका बन्ने योजना बुनेकी चन्द्राले आफ्नी आमालाई समेत म कलाकार बन्छु भनेर भनेकी थिइनन्।
चन्द्राका स्वर्गीय बुवा भन्थे,”छोरी तिमी गायिका बन्नुपर्छ “
चन्द्राको विगत यति धेरै पीडादायी छ कि उनी अहिले विगत सम्झँदा छिनमै भावुक हुन्छिन्। उनले आफू भित्रको प्रतिभा लुकाएर बसेकै कारण धेरैलाई त उनी गीत गाउछिन् भन्ने कुरा समेत थाहा थिएन। धेरैले त अहिले बजारमा गीत सार्वजनिक भएपछि थाहा पाएको चन्द्रा सुनाउछिन ।
गीत सार्वजनिक पछि उनलाई धेरैले बधाई दिइरहेका छन् भने सांगीतिक उज्ज्वल भविष्यको कामना पनि गरिरहेका छन् । गाउँमा उनको ६ जनाको परिवार थियो । बुवा राजनीति पनि गर्थे, राजनीति जीवन सँगै सामाजिक कार्यमा पनि सक्रिय थिए उनका बुवा महारुद्र । गीत संगीत भनेपछि हुरुक्कै हुने उनका बुवा कलाकारलाई असाध्यै माया गर्थे।
चन्द्राका एक दाई, एक बहिनी र एक भाई छन् । दाई बाथरोगले ग्रसित थिए । तत्कालीन समयमा सुखी र खुशी थियो चन्द्राको परिवार । आमाले पनि एक संस्थामा जागिर गर्थिन्। तर मानिसको जिन्दगी सधैं कहाँ एकनासको हुन्थ्यो र ? चन्द्राको परिवारको त्यो खुशी लामो समयसम्म टिक्न सकेन । २०७५ साल श्रावण २ गते चन्द्राको खुशीमा कालो बादल मडारियो। सोही दिन उनका बुवा स्वर्गीय महारुद्र न्यौपानेको मृत्यु भयो । त्यो दिन उनको जिन्दगीको पहिलो र सबभन्दा ठूलो वज्रपात थियो । उनको सिङ्गो परिवारको खुशी दैवले लुट्यो।
चन्द्रा अहिले पनि त्यो दिन सम्झिन चाहन्न्। चन्द्राले सोही दिनबाट बुवा मात्रै गुमाइनन्, बुवाको माया, परिवारको खुशी, आफ्नो र भाई बहिनीको उज्ज्वल भविष्य पनि गुमाइन्। सबैथोक गुमाइन्। चन्द्राले सुनाइन्, “कुनै बेला निकै खुशी थियौ हामी, सुखी थियो हाम्रो परिवार, एक्कासि हाम्रो परिवारमाथि ठुलो वज्रपात आइलाग्यो, हाम्रो परिवारको खुशी खोसियो।
बुवाको मृत्युपछि कलाकार बन्ने रहर मन भित्रै गुमनाम गरिन् उनले । चन्द्रा विगत सम्झिँदै भन्छिन् “घरको पारिवारिक अवस्था नाजुक थियो, आमाको कमाइले घर खर्च धान्नै मुस्किल हुन्थ्यो, मलाई गीत गाउनका लागि आमाले कहाँबाट पैसा ल्याउनुहुन्छ ? भनेर आमालाई भनेकी थिइन् ” “बुवाको मृत्युपछि कमाउने मान्छे कोही थिएनन् । दाई अहिले पनि अशक्त हुनुहुन्छ, पैसा नहुँदा उपचार गर्न सकेका छैनौं, गायिका बन्ने चाहना त छ सानैदेखिको हो, तर मैले चाहँदैमा कहाँ हुन्थ्यो र ? उनले थपिन् ।
बुबाको मृत्यु हुँदा चन्द्रा मात्रै १३ वर्षकी थिइन् । दाई २२ वर्षीय खेमराज न्यौपाने बाथरोगले ग्रसित थिए। एक पटक उपचारका लागि उनका बुवाले काठमाडौंसम्म पुर्याए। अस्पतालले केही समयका लागि औषधि दिएर फेरि आउन भनेर घर फर्कायो। उनकी बहिनी कल्पना न्यौपाने सानै थिइन् । अहिले ११ वर्षीय भाई अर्जुन न्यौपाने पाँच वर्षका थिए।
चार भाई बहिनीलाई टुहुरा बनाएर गएपछि उनको परिवारको बिचल्ली भयो । त्यसपछि चन्द्राको परिवारले सुखको सास फेर्न पाएको छैन । उनको घर परिवारमा त्यसपछि कहिले खुशी छाएको छैन । चन्द्रा सुनाउँछिन् “बुवाले छोडेपछि खुशी के हो थाहा छैन, चाडपर्व पनि चाडपर्व जस्तो लाग्दैनन् । मीठो मसिनो खाने नौलो लगाउने कुरा त टाढाको कुरा हो, चाडपर्वमा बुवाको यादले झन सताउँछ, रुँदै बित्छन् हरेक वर्षका तिहारहरु” ।
उनका बुवा स्वर्गीय महारुद्र न्यौपानेको उनलाई गायिका बनाउने धोको थियो । “मलाई गीत गाउनुपर्छ, तिमीलाई म जसरी भएपनि गायिका बनाउछु, पढाई सँगै गीत गाउन नछाड, मिहिनेत गर्दै जाउ” उनका बुवाले भनेको उनी विगत स्मरण गर्छिन् । बुवाले भनेका यी अभिव्यक्तिले उनलाई पटकपटक पिरोलिरहन्छ, घोचिरहन्छ र सोच्न बाध्य बनाउन्छ, बुवा साथमा नरहेपनि बुवाको सपना मैले पूरा गर्नुपर्छ ।
कसैले गीत गाउ, तिम्रो आवाज मिठो छ भन्दा उनी अहिले पनि बुवा सम्झिदै भकानिन्छन् । बुवाको निधन भएपछि उनको गायिका बन्ने सपना पनि बुवा हराए जस्तै हरायो। चन्द्राका अनुसार दाई खेमराजको उपचार गर्न तीन दिनपछि काठमाडौं जाने तयारीमा थिए, स्वर्गीय महारुद्र न्यौपाने ।
उनी आफै पनि बिरामी थिए।
तीन दिन पछि छोराको पनि उपचार गर्ने र आफ्नो पनि उपचार गर्ने गरि काठमाडौं जाने तयारीमा रहेका उनी एक्कासि हृदयघात भएर सधैंका लागि अस्ताए । छोरीलाई गायिका बनाउने र छोराको उपचार गर्ने योजना अधुरो रह्यो । उनी आफै हराए । चन्द्राका दाई खेमराज अहिले पनि अशक्त छन् । काम गर्न सक्दैनन्। आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन सकेको छैन।
संस्थामा जागिर गरिरहेकी उनकी आमाले श्रीमानको मृत्युपछि जागिरबाट हात धुनु पर्यो। त्यसपछि उनी गाउँमै रहेको विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत थिइन् । यतिमात्रै होइन कार्यालय सहयोगीको काम सँगै खेतीपाती गरेर छोराछोरी पाल्दै आएकी थिइन् ।
आमाको पनि निधन, चन्द्राका भाइबहिनी बिचल्लीमा
१३ वर्षको उमेरदेखि चन्द्राको जिन्दगीमा सुरु भएको दुखको श्रृंखला झन झन उकालो लाग्दै गयो। सम्भवतः उनी कहिले पीडाबाट मुक्त हुन पाइनन् । एकपछि अर्को बज्रपातले चन्द्राका भाइबहिनीलाई घेरिरह्यो। गत वर्षको महाशिवरात्रीको दिनमा चन्द्राको जिन्दगीमा अर्को वज्रपात आइलाग्यो।
सोही दिन बाल्यकाल मै बुवा गुमाएकी चन्द्राले आमा पनि गुमाइन् ।
बुवाको मृत्युपछि मन बुझाउने आमा थिइन्। जो अहिले छैनन् । आमा बुवा गुमाउनुको पीडा कति सहि नसक्नु हुन्छ त्यो स्वयं भोग्नेलाई थाहा हुन्छ। सानो उमेरदेखि नै कलाकार बन्ने योजना बुनेकी चन्द्राले बुवाको मृत्युपछि कलाकार बन्छु भन्ने आँट गरेकी थिइनन्। तर करिब एक वर्ष अगाडि मात्रै उनले आमालाई आफ्नो कलाकार बन्ने धोको रहेको सुनाएकी थिइन् ।
“बजारमा गीत रेकर्ड गर्छु भनेपछि आमाले पनि नाइँ भन्न सक्नु भएन, आमाले ऋण खोज्नुभयो, आमाकै सहयोगले यो गीत रेकर्ड गरेकी थिए, तर अहिले आमा नै साथमा हुनुहुन्न, अहिले यो गीत सुन्न पाए आमाबुवा कति खुशी हुन्थे होलान् ” चन्द्राले भनिनन् ।
बुवा आमा गुमाएकी चन्द्राको काँधमा अहिले घरको पुरै जिम्मेवारी छ। सानैमा बुवा गुमाइन, त वर्ष आमा गुमाइन् । आमाबुवा गुमाउनु भनेको सबथोक गुमाउनु सरह हो । उनले अब गुमाउन बाँकी त्यहीँ सास छ । तर उनले हिम्मत हारेकी छैनन् । पटकपटक अनगिन्ती चोट पाएकी चन्द्राले जीवनसँग भने हारेकी छैनन्। बरु थप हिम्मत जुटाएर अहिले आफ्ना टुहुरा भाइबहिनीको अभिभावकको जिम्मेवारी बहन गरिरहेकी छन् । चन्द्रा एक संघर्षको पयार्यवाची हुन् भन्दा फरक पर्दैन होला ।
आमा जीवित हुँदा पनि आमाको मात्रै कमाइले बिहान बेलुका छाक टार्नै मुस्किल थियो। चार छोराछोरीको पालनपोषण, विद्यालय पढाउने कुरा सम्भव थिएन। “कहिले कापी कलम त कहिले ड्रेस हुँदैन थियो, उनले नियमित विद्यालय समेत जान पाइनन् । यस्ता कयौँ अभावहरूले दैनिक उनलाई घेरिरहन्थ्यो। आमाको मृत्युपछि उनको परिवारमा झन सन्नाटा छाएको छ।
बुवाको गायिका बनाउने सपना पूरा गर्नका लागि कलाकार नै बन्ने उनको धोको थियो । “बुवा हामी माझ नरहेपनि उहाँको सपना पुरा गर्ने सोचमा थिए, तर भनेजस्तो सजिलो थिएन, आमाले मेरो कुरा काट्न नसकेर एउटा गीतको अडियोका लागि लगानी गर्दिनू भएको थियो, मेरो सपना पूरा गर्न आमाले कति दुख गर्नुभयो तर मैले गीत सुनाउन पाइन” चन्द्राले भनिन् ।
गीत सार्वजनिक सँगै सकारात्मक प्रतिक्रिया
गीत सुनेर अग्रज कलाकारहरूका सकारात्मक प्रतिक्रिया आइरहेका छन् । उनको स्वरको प्रशंसा गर्दै गीतकार एवं साहित्यकार राजेन्द्र शाह (बीपी) भन्छन् ” उनको कलाकारितामा उज्ज्वल भविष्य छ, पारिवारिक समस्या छ,उनलाई सहयोगको खाँचो छ, उनी आफ्नै लगानीले गीत संगीतमा टिक्ने अवस्था छैन, सकेसम्म यस्ता प्रतिभाहरूलाई उजागर गर्न स्थानीय सरकारले पनि लगानी गर्दा राम्रो हुन्थ्यो, पहिलो गीतमा हामीले सहयोग गरेका छौँ, फेरि पनि गर्छौँ “ ।
यस्तै गायक प्रकाश थापाले पनि आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गीतमा सहकार्य गतेपनि चन्द्राको वास्तविकता बारे आफूलाई यस अघि जानकारी नभएको बताउँदै थापा उनको विगतले निकै पीडा बोध भएको र थप सहयोग गर्ने बताउँछन् ।
यस्तै साहित्यकार समेत रहेका अधिवक्ता हर्क खडायतले आफ्नो सामाजिक सञ्जाल फेसवुकमार्फत सबैलाई सहयोग गर्न अपिल नै गरेका छन् । खडायतले गीत सुनिसकेपछि प्रतिक्रिया दिँदै लेखेका छन् ” म यी गायिकालाई निकै दुर्भागी गायिका ठान्छु” गीत असाध्यै मीठो छ । उनको स्वरमा मौलिकता छ । उनलाई हामी सबैले साथ सहयोग गरेर उनको भाग्य फर्काउनु पर्ने छ । हामी सबैले उनलाई माया गर्नुपर्ने छ । उनको यो गीतलाई सबैले सुनेर, हेरेर, शेयर गरेर अनि सक्नेले आर्थिक रूपमा समेत सहयोग गरेर साथ दिनुहोला ।
के स्मारिका र शिव कैलाश प्रेममा छन् ?
माघ ११, २०८१ शुक्रबार
गायक सुशान्त केसी भक्तपुरको ग्राउन्डमा गुञ्जिने पक्का !
माघ ७, २०८१ सोमबार
हनी सिंहको कन्सर्टको टिकट १० मिनेट मै सबै बिक्री
पुष २८, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार