नेपाल प्रहरी अपडेट : नक्कली नेपाली नोट र अवैध चाँदीका गहनासहित ३ जना पक्राउ
इन्द्र रिजाल
जेठ २२, २०७६ बिहिबार १:२३:३२
रौतहट । एक हजार दरका नक्कली नेपाली नोट २ लाखसहित २ जनालाई कटहरिया नगरपालिका–५ कटहरिया बजारबाट मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–७ बस्ने ६१ वर्षीय जियालाल महतो र मौलापुर नगरपालिका–७ बस्ने ४० बर्षीय विहारी साह रहेका छन् ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय कटहरिया रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा शंकास्पद तवरले हिँडिरहेका उनीहरुलाई जाँच गर्दा जियालाल र विहारीको साथमा उक्त नक्कली नोट एक हजार दरका १/१ लाख फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अवैधरुपमा लुकाई लैजान लागेका चाँदीका गहना सहित पक्राउ
पर्सा, वीरगंज महानगरपालिका–८ बाट चाँदीका गहना सहित बहुदरमाई नगरपालिका–१ का ३२ बर्षीय मनोज यादवलाई सोमबार बेलुकी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित सन्ध्या डिलक्स बस काउन्टर अगाडि रात्री बसमा काठमाडौंतर्फ लैजानको लागि राखिएको इन्भर्टर शंका लागि जाँच गर्ने क्रममा इन्भर्टरभित्र लुकाई राखिएको करिव १ लाख ५४ हजार ६ सय २२ रुपैयाँ बराबरको करिव ३ किलो ८ सय ग्राम बराबरको चाँदीका गहना सहित यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
यादवलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बरामद गरिएको चाँदी सहित वीरगंज भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागूऔषध, घरेलु तथा यौनजन्य हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
बाँके, कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको प्रमुख आतिथ्य तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालको अध्यक्षतामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत लागूऔषध, घरेलु तथा यौनजन्य हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम नेपालगंजको कोहलपुरमा बुधबार सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्र काठमाडौंको संयुक्त आयोजना र अग्रसरतामा सम्पन्न उक्त जनचेतनामुलक कार्यक्रममा कोहलपुरस्थित लक्ष्मी माध्यामिक विद्यालय, कृष्ण माध्यामिक विद्यालय, जन ज्ञान ज्योती माध्यामिक विद्यालय, ज्ञान ज्योती माध्यामिक विद्यालय, सिद्धार्थ माध्यामिक विद्यालय र सगरमाथा ज्ञान कुञ्जका विद्यार्थीहरु, नागरिक समाज, मानव अधिकारकर्मी तथा स्थानीय महिला संजालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक पुर्णिमा चन्दले घरेलु हिंसा, यौनजन्य हिंसा, मानव बेचबिखन, साइबर अपराध, बालविवाह लगायतका विषयमा, मनोविमर्शकर्ता विपिन थापाले लागूऔषध दुर्व्यसन र प्रहरी सहायक निरीक्षक योगेन्द्र रेग्मीले ट्राफिक सचेतना सम्बन्धी प्रस्तुतीकरण गरेकी थिइन् । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु र प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमका गतिविधि समेटिएको पुस्तक विमोचन
कास्की, गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लाभरी गरेका प्रहरी गतिविधिहरुलाई समेटेर तयार पारिएको “अञ्जुली” नामक पुस्तकको मंगलबार विमोचन गरे ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बोहराले समाजमा शान्ति सुरक्षा तथा अमनचयन गर्ने कार्य प्रहरी एक्लैको प्रयासले मात्र सम्भव हुन नसक्ने बताउँदै यसका लागि आमनागरिकको सहयोग अपरिहार्य हुने उल्लेख गरे ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले विभिन्न समयमा अवलम्वन गरेका विभिन्न नीति तथा अवधारणाहरुले प्रहरी र नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै लगेको बताउँदै समुदाय(प्रहरी साझेदारी कार्यक्रमले समेत यस कार्यमा अझ ठूलो भूमिका निर्वाह गर्ने बताए ।
नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामजिक संघसंस्था र विद्यालयको समन्वयात्मक भूमिकाबाट समाजमा व्याप्त विकृतिहरुलाई निराकरण गर्ने उद्देश्यले लागू गरिएको समुदाय(प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीले हालसम्म गरेका विभिन्न जनमुखी गतिविधीहरुलाई पुस्तकको माध्यमबाट आमनागरिकसम्म पुर्यावउने उद्देश्यले उक्त पुस्तक तयार पारिएको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न
चितवन, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत एकदिने अनुशिक्षण कार्यक्रम भरतपुर महानगरपालिका–२२ पटिहानी टाउनस्थित कसरा रिसोर्टमा बुधबार सम्पन्न भएको छ ।
नागरिकमैत्री प्रहरी सेवा विस्तार गर्ने उद्देश्य अनुसार पर्यटन प्रहरी ईकाई भृकुटीमण्डप काठमाडौंको आयोजना, पर्यटन बिभाग भृकुटीमण्डप काठमाडौंको सहयोग तथा पर्यटन प्रहरी कार्यालय पटिहानी, जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय गितानगर चितवनको समन्वयमा उक्त अनुशिक्षण संचालन गरिएको हो । कार्यक्रममा पर्यटन प्रहरी, स्थानीय प्रहरी एवं पर्यटनसँग सम्बद्ध निकायका प्रतिनिधिहरुलाई अनुशिक्षण प्रदान गरिएको छ ।
भरतपुर महानगरपालिका–२२ का वडाअध्यक्ष बिष्णुराज महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्ल, नेपाली सेनाका प्रतिनिधि, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
कास्की, पोखरा महानगरपालिका–१५ काजीपोखरीस्थित तपन प्रसाद गुरुङको घरमा जुवातास खेलिरहेका गुरुङ लगायत ८ जनालाई नगद ६६ हजार ६ सय ५ रुपैयाँ र ४ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी कास्की, पोखरा महानगरपालिका–९ नयाँबजारस्थित लक्ष्मी जिसीको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ३४ वर्षीय रबिन्द्र पौडेल लगायत ५ जनालाई नगद १५ हजार ६० रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं, काठमाडौं महानगरपालिका–३१ प्रयाग मार्ग बस्ने ३१ वर्षीय रुपेश श्रेष्ठलाई लागूऔषध खैरो हिरोइन ६ ग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले रुपेशलाई सोही ठाउँबाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका–२० पुर्णचण्डीबाट ललितपुर, लुकुसी सुन्धारा बस्ने १९ वर्षीय अनिल खड्गी सहित ५ जनालाई लागूऔषध नाईट्राभेट ३ सय २३ थान, नाईट्राभेट ३ एम्पुल र गाँजा करिब ५ ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पेस्तोल जस्तो देखिने वस्तु सहित पक्राउ
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाईन्सको उडानद्वारा हङकङबाट काठमाडौं आएका राहदानी नम्बर ०७६६६४३५ बाहक धनकुटा घर भएका २० वर्षीय संगम लिम्बु पेस्तोल जस्तो देखिने बस्तु १ थान र पर्फेक्ट हिट लेखिएको प्लाष्टिक तथा मेटल जस्तो देखिने सेतो दाना भएको बस्तु करिब ६ सय ४५ ग्राम तौल भएको १ प्याकेट सहित मंगलबार साँझ पक्राउ परेका छन् ।
लिम्बुको सुटकेशभित्र कार्टुनमा उक्त बस्तुहरू फेला पारी विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएर थप आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको हो ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका–२ फलाटे रामनगर टोल बस्ने ९ वर्षीया बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय अमित कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित जनकल्याण सामुदायिक वनमा ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बाङेसिमल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले कुमाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नगद तथा सुन चोरी
काठमाडौं, काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान सुदर्शनमार्ग डेरा गरी बस्ने सुर्खेत घर भएका विकास खरेलको कोठाबाट मंगलबार साँझ कोही नभएको अवस्थामा नगद ५ हजार रुपैयाँ र सुनको विभिन्न गहना समेत गरी करिब ३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं, तनहुँ, कञ्चनपुर र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । तनहुँ, म्याग्दे गाउँपालिका(१ तल्लो गुडादीस्थित पृथ्वी राजमार्गमा प्रदेश ३–०२–००६ प २५२६ नम्बरको मोटरसाइकलले मंगलबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ६ वर्षीया निशा आलेलाई उपचारको लागि रत्नहरि अस्पताल दमौलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, शुक्लाफँटा नगरपालिका–७ जुडास्थित सडकमा से.१ त ७१२२ नम्बरको ट्याक्टरले मंगलबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ५० वर्षीया सरस्वती मल्लको न्यू झलारी पोलिक्ल्निकमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहा, धनगढीमाई नगरपालिका–९ स्थित राजमार्गमा स–१ त ३२२६ नम्बरको ट्याक्टरले बुधबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका मागी खाई हिँड्ने करिब ५५ वर्षीय पुरुषको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार तथा अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट धनमाल नष्ट
बर्दिया, ठाकुरबाबा नगरपालिका–३ जम्ती टोल बस्ने ७५ वर्षीया हरि बहादुर खत्रीको घरमा बुधबार बिहान आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार