अत्यधिक गर्मीका कारण रौतहटको जनजीवन प्रभावित, शैक्षिक संस्था बन्द
इन्द्र रिजाल
असार ५, २०७६ बिहिबार २०:८:२४
रौतहट । अत्यधिक गर्मीका कारण रौतहटको जनजीवन प्रभावित भएको छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो ।
वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्मचारी र मजदूरसमेत प्रभावित भएका छन् ।
गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ ।
यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी अधिक सेवन गर्ने गर्दछन् । जेठको पहिलो सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, पखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् ।
प्रचण्ड गर्मीका कारण रौतहटका पानीका मुहानसमेत सुक्न थालेका छन् । जिल्लाको उत्तरी भेग चन्द्रपुर नगरपालिकास्थित रहेको डावरीको पानीको मुहान सुकेको स्थानीयवासीले बताएका छन् । यसअघि पहिले–पहिले कहिले नसुक्ने डावरीको जरुवा पानी यसपटक सुकेपछि स्थानीयवासी चिन्तित भएका छन् ।
जिपी उद्यान केन्द्रको नामले परिचित रहेको डावरीमा यो वर्षभन्दा पहिले हरेक वर्ष स्थानीयवासी गर्मीमा नुहाउने स्थानका रुपमा परिचित रहेको थियो । स्थानीयवासीले वस्तुलाई पानी खुवाउने स्थानका रुपमा परिचित डावरीको यति बेला पानीको मुहान नै सुकेको स्थानीयवासीले बताएका छन् ।
चन्द्रपुर नगरपालिका–६ मा जङ्गलको बीचमा रहेको डावरीको जरुवा पानीको मुहान सुकेपछि डावरीमा नुहाउन आउने स्थानीयवासीका अलावा पशुपक्षीलाई पानी खुवाउनसमेत कठिनाइ भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिए ।
यता चन्द्रपुर–३ मा गर्मीकै कारण सिँचाइ पानीका मुहान सुक्न थालेपछि गैँडाटारका किसान मर्कामा परेका छन् । असार महीना लागिसक्दा पनि सिँचाइ हुँदै आएको स्थानीयवासी चाँदीखोला र डुमजोर खोलामा पानी सुकेपछि समस्या भएको हो ।
असार–साउनमा लगाउँदै आएको धानको ब्याड सुक्न थालेपछि किसानले गाग्रीमा धाराको पानी ओसार्दै बीउ जोगाउन लागिपरेको स्थानीय किसान बमबहादुर वाइवाले बताए ।
रौतहटका किसानले हरेक वर्ष हिले धानको ब्याड राख्दै आएका थिए तर यसपालि भने पानीकै समस्याले सबै किसानले धुले ब्याड राखेको र उक्त बीउसमेत जोगाउन हम्मेहम्मे परेको अर्का किसान मानध्वज लामाले बताए । त्यसैगरी वाग्मती सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि धानका बीउ सुकेको स्थानीय किसानलाई भने राहत भएको छ ।
गर्मी बढेपछि अन्नबालीको उत्पादन गर्न नपाउँदा निराश भएका किसानलाई सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि हर्षित भएका छन् ।
खडेरीले मकै उत्पादनमा कमी
रौतहटमा यस वर्ष मकैको उत्पादनमा कमी आएको छ । लामो समयसम्म खडेरी परेका कारण मकैको उत्पादनमा कमी आएको हो ।
लामो समय खडेरीका कारण रौतहटको चन्द्रपुर नगरपालिकामा मकैको उत्पादन घटेको छ । तोरी तथा गहुँबाली भित्र्याई फागुनमा मकै रोपेपछि जमीन गल्ने गरी एक झर पनि पानी नपरेकाले साना घोगा लागेका कारण उत्पादनमा कमी आएको हो ।
कप्तान टोलका किसान गोपाल तिमल्सिनाले गत वर्षप्रति कट्ठामा चार मनसम्म मकै फले पनि यो वर्ष पानी नपरेका कारण प्रतिकट्ठामा दुई मन मात्र फलेको बताए ।
उनले एक बिघाभन्दा बढी क्षेत्रफलमा मकै खेती गर्दै आएको छ । चन्द्रपुर नगरपालिकाको पौराई, जुडिवेला, गैडटार, कप्टान टोल, चन्द्रनिगाहपुर, सन्तपुरलाई मकै खेतीका लागि पकेट क्षेत्र मानिन्छ ।
यस्तै चन्द्रपुर–६ का किसान लालबहादुर पुरीले आकाशे पानीको भर नपरी भुमिगत पानीबाट सिँचाइ गर्दा पनि उत्पादनमा वृद्धि नभएको बताए । करीब १० कट्ठा जमीनमा रोपेको मकै गत वर्ष प्रतिकट्ठा दुई क्विण्टलसम्म उत्पादन भए पनि यस वर्ष पानी नपरेकाले आधा घटेको बताए ।
भूमिगत पानीबाट गरेको सिँचाइभन्दा आकाशे पानीबाट सञ्चित हुँदा बालीको उत्पादन बढ्ने सन्तपुरका किसान हरि घिमिरेले बताए । यस वर्ष खडेरीका कारण मकैको बोटमा एउटाभन्दा बढी घोगा नलागेको बताए । तर कतिपय किसानले भने बारीबाटै मकैको हरिया घोगा बिक्री गरेर आम्दानी लिने गरेका छन् । हरिया घोगा बिक्री हुँदा समयमै अर्को बाली लगाउन पाउने, मकैको हरिया बोट घाँसका लागि राम्रो हुने भएपछि किसान मकै खेतीतर्फ आकर्षित भएका हुन् ।
आधुनिक विधिबाट रोपिएको हाइब्रिड मकैको उत्पादन अत्यधिक हुने भएकाले जिल्लाको उत्तरी क्षेत्रका किसानले मकैलाई नगदेबालीका रुपमा लिने गरेका छन् ।
तराईमा दुई बाली मकै खेती गर्न सकिने र आम्दानीसमेत राम्रो हुने किसान बताउँछन् । व्यापारीले विशेषगरी काठमाडौँका लागि ट्रकमै लोड गरेर मकैका हरिया घोगा लैजाने गर्छन् ।
चन्द्रपुर नगरपालिकामा गत वर्ष एक सय बिघा क्षेत्रफलमा मकै खेती भएको थियो । यस वर्ष दुई सय बिघाभन्दा बढी क्षेत्रफलमा खेती भएको नगरपालिका कृषि विकास शाखाले जनाएको छ ।
चन्द्रपुर नगरपालिकाका कृषि विकास शाखाका प्राविधिक सिर्जना ढकालका अनुसार यस वर्ष खडेरीका कारण मकैको उत्पादनमा कमी आउने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार