सुकुटे दुर्घटना : १८को मृत्यु, अझै पाँच घाइते अस्पतालमै
नेपालबहस संवाददाता
कात्तिक १९, २०७६ मंगलबार १६:११:३१
१९ कार्तिक, बनेपा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो । सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचाररत ४७ मध्ये चारलाई आइतबार नै थप उपचारका लागि काठमाडौं पठाइएको र बाँकीको उपचार भइरहेकामा ४१ घाइते उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।
अझै तीन जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । उनका अनुसार उपचाररत घाइतेमा जीवन खड्का, प्रवीण आलेमगर र सविता थापा छन् । घाइते सबै दोलखाका रहेको प्रहरीले जनाएको छ ।
बनेपास्थित शिरमेमोरिय अस्पतालमा विन्दुमाया लामा र खेमध्वज तामाङको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । दोलखाको मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नं को बस चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा दुर्घटना हुँदा सडक तल सुनकोशी नदीमा खसेको थियो ।
चालक र सुरक्षा निकायको त्रुटी
सुनकोसीमा बस दुर्घटना हुनुमा चालक र सुरक्षा निकायको पनि गम्भीर त्रुटि देखिएको छ । ४० सिटे बसमा ७० यात्रु खाँदिएका थिए । दोलखाको मागापौवाबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनास्थल पुगुन्जेलसम्म तीनवटा सुरक्षा चेकपोस्ट थिए ।
तर, क्षमताभन्दा झन्डै दोब्बर यात्रु खाँदिएको बस कहीँ पनि जाँच गरिएन । बरु चालक धनबहादुर श्रेष्ठले यात्रुसँग बाझाबाझ गर्दै अनावश्यक रूपमा बस कुदाए । अनियन्त्रित बस अन्ततः सुकुटेस्थित सुनकोसी नदीमा खस्यो र १८ जनाको ज्यान गयो ।
घाइते यात्रुहरूका अनुसार मुडेभन्दा तल १२ किलोमा आइपुगेपछि चालक श्रेष्ठले बस तीव्र गतिमा दौडाउन सुरु गरे । यात्रु डराएर चालकसँग बाझाबाझ गर्दै थिए, तर उनले सुनेनन्, कुदाइरहे । पुरानो गाडी तीव्र गतिले दायाँबायाँ गर्दै हल्लिँदै अनियन्त्रित भएपछि सुनकोसीमा खस्यो ।
बस दुर्घटनास्थल आइपुग्नु अगाडि खाडीचौरको जिल्ला ट्राफिक र सशस्त्र प्रहरी बलको अस्थायी चेकपोस्ट पार गर्नुपर्छ । बलेफी आएपछि प्रहरी चौकी नै छ । तर, तीनवटै सुरक्षा पोस्टमा बसका यात्रुको संख्याबारे चासो दिइएन ।
‘र्याफ्टिङ टिम’ : जसले गर्यो ४० भन्दा बढी यात्रुको उद्धार
आइतबार दिउँसो १ बजेर १० मिनेट गएको थियो । सुकुटे बिच रिसोर्ट र रिभर–बेका र्याफ्टिङ टिमको गाइड टोली सुनकोसीको ट्रिप सकेर होटेलभित्र प्रवेश गरेर खाना खाने तयारी गर्दै थियो । टोलीका क्याप्टेन श्याम श्रेष्ठले मुखमा गाँस मात्रै के हालेका थिए, नजिकै गाडी ठोक्किएजस्तो ठूलो आवाज आयो । रिसोर्टबाट दुर्घटनास्थल सीधै देखिन्छ । ५० मिटरको दूरीमा गाडी पल्टेको देख्नासाथ श्रेष्ठले खाना खान छोडे । नदीबाट चिच्याहट र कोलाहल आवाज आएपछि उनले आफूसँग र्याफ्टिङ टोलीका अन्य गाइडलाई उद्धारमा खटाए ।
बस नदीमा खसेको पाँच मिनेटमै उनीहरूले उद्धारकार्य सुरु गरे । नदीको मुख्य भंगालोमा उत्तानो परेर डुबेको बा.२ ख ७२४५ नम्बरको यात्रुवाहक बसबाट पाँच यात्रु आफैँ बाहिर निस्किसकेका थिए ।
उनीहरू आत्तिएर उद्धारका लागि चिच्याइरहेका थिए । सुकुटे बिचमा कार्यरत पहिलो बोटका श्याम श्रेष्ठ, राजकुमार श्रेष्ठ, लक्ष्मण गुरुङ र सोनाम तामाङले क्षणभरमै डुबेको बसको पछिल्तिरको भाग तोडेर २० जनाभन्दा बढी यात्रुलाई बाहिर निकाले । उनीहरूले क्षतिग्रस्त बसमै बसेर उद्धार गरेका थिए । र्याफ्टिङ टिम चाँडो उद्धारमा नआएको भए नदीमा परेका सबैको ज्यान जाने सम्भावना पनि थियो । घटनालगत्तै उद्धारमा खटिनेमा टोली सुकुटे बिच र रिभर–वेका भाँडा माझ्नेदेखि कुकसम्म थिए ।
२० मिनेटपछि प्रहरीको टोली आइपुग्यो
दुर्घटना भएको २० मिनेटपछि बलेफीबाट प्रहरीको टोली आयो । प्रहरीले स्थानीयसँग मिलेर उद्धार कार्यलाई जारी राख्यो । तर, उद्धारको नेतृत्व र्याफ्टिङ टोलीले नै लिइरह्यो । सोही रिसोर्ट र होटेलमा कार्यरत कर्मचारीहरूको दोस्रो बोटले नदीमा बगिरहेको शव संकलन गर्यो ।
यज्ञनारायण श्रेष्ठको नेतृत्वमा भाइकाजी मगर, विकास माझी, सुभाष माझी, राम श्रेष्ठ र सानु मगरको टोलीले दुर्घटनास्थलबाट तीन किलोमिटर तल चेहेरेसम्म मृतकको शव संकलन गर्ने काम गर्यो । यो टोलीले बग्दै गरेका पाँचजनालाई उद्धार गरेको थियो । ‘हाम्रो टिम सक्रिय भएकाले बगेको शव संकलन गर्न सकियो,’ यज्ञनारायणले भने, ‘नत्र बगाएर टाढै पुर्याउँथ्यो ।’
६ वटा डुंगा र एउटा कायाक प्रयोग
उद्धार कार्यमा ६ वटा डुंगा र एउटा कायाक प्रयोग भएको थियो । घटनाको खबर सुन्नासाथ बलेफीबाट सुकुटे आएका स्थानीय र्याफ्टिङ गाइड सुमन भण्डारीले र्याफ्टिङ टोलीले जोखिम मोलेरै उद्धार कार्य गरेको सुनाए । ‘हामी नआएको भए महिला, वृद्धवृद्धा र बालबालिका कोही बँच्ने थिएनन्,’ उनले भने । दोस्रो बोटलाई फलोअप गर्दै तेस्रो बोटलाई पनि तुरुन्तै पठाइयो । सन्तोष श्रेष्ठ, सबिन लामा, अजय लामा, कैलाश लामा, अरुण चौधरी र चिरण लामाको तेस्रो डुंगा टोलीले उद्धारमा थप मद्दत गरेको थियो ।
अल्टिमेट डिस्सेन्टको एउटा बोट र एउटा कायाक, र्याफ्टिङ स्टार र माया बिचको एक–एक डुंगा नदीमा उद्धारका लागि स्ट्यान्डबाई राखिएका थिए । उद्धारमा सरकारी सुरक्षा फौजका अलावा सुकुटेका सबै स्थानीय गरिरहेको काम छोडेर आ–आफ्नै तरिकाले लागेका थिए ।
एक घन्टापछि सुकुटे आएको सशस्त्र र नेपाली सेनाको टोलीले राति अबेरसम्म थप उद्धारको काम गरेको थियो । ‘पाँचवटा शव बसभित्रबाट निकालेका थियौँ । बाँकी १० शव हाम्रै र्याफ्टिङ टोलीका साथीहरूले चेहेरेसम्म पुगेर जम्मा पारेका हुन्,’ र्याफ्टिङ टोलीका क्याप्टेन श्याम श्रेष्ठले नयाँ पत्रिकासँगको कुराकानीमा भनेका छन् ।
थप एक शव फेला, मृत्यु हुनेको संख्या १८ पुग्यो
दुर्घटनामा हालसम्म १८ को मृत्यु भएको छ । सोमबार दिउँसो सुुकुटे रिसोर्टछेउबाट थप एक शव प्रहरीले फेला पारेको छ । दुईजनाको उपचारको क्रममा धुलिखेल र शिर मेमोरियल हस्पिटलमा मृत्यु भएको थियो । घाइते ५१ मध्ये पाँचको मात्रै उपचार भइरहेको र अधिकांश अस्पतालबाट डिस्चार्ज भएको धुलिखेल अस्पतालले जनाएको छ ।
दोलखा शैलुङ गाउँपालिकाका सातजना अझै बेपत्ता छन् । शैलुङका नौजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दोलखा शैलुङका स्थानीयले सोमबार घटनास्थल सुकुटे आएर अरनिको राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका आफन्तले सडक बन्द गरेको जिल्ला प्रहरीले बताएको छ ।
शैलुङ–५ का नौजनाको मृत्यु
बस दुर्घटनामा राउत टोलका चारजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सबैभन्दा धेरै साबिकको काटाकुटी गाविस अर्थात् शैलुङ–५ का रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा काटाकुटीका नौजनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता
असोज २, २०८१ बुधबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
यी हुन सहकारी ठगेर फरार भएका २९ जना, को कुन देशमा बसेका छन लुकेर ?
असोज ४, २०८१ शुक्रबार
वसन्तपुरमा ‘हाथु हायेकेगु' प्रसाद खान महिलाहरूको तँछाडमछाड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
सिटिजन्स बैंकका ग्राहकहरूलाई मिराज बेकरीमा विशेष छुट
असोज ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाले सार्वजनिक गर्यो सहकारी छानबिन समितिको प्रतिवेदन: हेर्नुहोस पूर्णपाठ
असोज ४, २०८१ शुक्रबार