जिउँदै स्वर्ग जान हजारौंको लाइन
नेपालबहस संवाददाता
फागुन २६, २०७६ सोमबार २२:११:१२
होली कथा
♦ रामसन्तोषम्
२६ फागुन, काठमाडाैं । मृत्युका देवता यमराजले स्वर्गमा बम्पर उपहारसहितको एकमहिने उत्सव खोलेको जानकारी दिएका छन् । यमराजले लेखापाल चित्र गुप्तलाई मनुष्यलोकबाट मृत्युभएर आउने कोही कसैलाई पनि नर्क नपठाउन आदेश गरेका छन् । मनुष्यलोकमा गरेको कर्मका कारण नर्कलोकमा जानेको संख्या अत्याधिक भएपछि एकमहिनाको लागि नर्कलोकका सबै खाताहरु र ढोकाहरु बन्द गरी स्वर्गलोकमा सबैको व्यवस्थापन गर्न अह्राएका हुन् ।
यमराजले मनुष्यलोकको अत्याधुनिक विलासी जीवनसहित जीउन पाइने सो अजम्बरी उपहार योजना सबैको जानकारीमा पठाएका छन् । यस मनुस्यलोकमा भएका सबै मानवको जानकारीमा पुग्ने गरि कसैलाई इमेलबाट, कसैलाई सामाजिक संजालबाट, कसैलाई आकाशवाणी र विभिन्न उपायहरु अपनाएर सबैका जानकारीमा सो घोषणा गरेका हुन् । यसै प्रसंगलाई नेपालको सन्दर्भमा के भयो ? कस्ता दृश्यहरु देखियो भन्ने कुराको नालीबेली यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
यमराजले रातारात नेपालमा सबैको जानकारीमा पुर्याउनको लागि माथि उल्लेखित सुचनाका माध्यमभन्दा बाहेक पत्रपत्रिका र स्थानिय संचारमाध्यमलाई पनि प्रयोगमा ल्याउन खोजेका छन् । यमदूतहरु विज्ञापन सामाग्रीसहित विज्ञापन एजेन्सी र मिडिया हाउसहरुमा पुगेछन् । विज्ञापन समाग्री लिएर गएका यमदूतलाई प्रकाशन सामाग्री के कस्तो हो भन्ने सोधी खोजी भएनछ । मात्र साइज, समयको कुरा भएछ ।
सबै दूतहरुले सबै मिडिया हाउसबाट जानकारी लिइसकेपछि अन्तिममा बैठक बसेछन् । बैठकपछि कक्टेल पार्टीसहितको पत्रकार सम्मेलन आयोजना गरेछन् । पत्रकार सम्मेलनमा विज्ञापन एजेन्सी र मिडिया हाउसका प्रतिनिधिहरुले अत्यन्तै महंगो अमेरिकी डलरमा विज्ञापनको मोलमोलाई गरेका कारण यो प्रक्रिया अहिलेलाई स्थगित गरेको अवगत गराएछन् । यमदूतले नेपाली रुपैयाँमा छापिएका विज्ञापनको भुक्तानी गर्न सकिने भएतापनि डलरमा माग भएको सयौँ र्खब डलरको भुक्तानी गर्न नसक्ने भन्दै यस किसिमको विज्ञापन प्रणालीलाई भने नअपनाउने निर्णय गरेछन् ।
यमदूतको अर्को योजना बैंकहरुसँग सहकार्य गरेर स्वर्ग जाने एक्सप्रेस टिकटहरु काट्ने व्यवस्था मिलाउने पनि रहेछ । त्यसो हुँदा न्यायोचित मृत्युवरण हुने र लाइन लाग्नुपर्ने झन्झटबाट व्यक्तिले मुक्ति पाउने यमराजको विश्वास रहेको थियो । सोही कारण उक्त कार्यका लागि नेपालमा सिस्टमको अभ्यासमा रहेका बैंक र वित्तीय संस्थालाई रोजेका थिए । त्यसका लागि यमराजले नेपाल अधिराज्यभर रहेका वित्त कम्पनीदेखि बैंकहरु, फाईनान्सहरुसँग सहकार्य गर्न यमदूतलाई अह्राएका थिए ।
उनीहरु यमराजको आदेश अनुसार सबै बैंक तथा फाइनान्स कम्पनीमा पुगे । सबै फाइनान्स कम्पनीमा यमराजले भने मुताबिकको प्रोपोजल पेश गरे । सोही मुताबिक बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्था नै नेपालमा काम गर्नसक्ने अब्बल वित्तीय संस्था भएको दावी गरे । सबै संस्थाबाट प्रारम्भिक डाटा पाएका यमदूतले सोही दिन बेलुका बैठकमा प्रारम्भिक डाटा पेश गरे । सो अनुसार प्रायः बैंकको आन्तरिक (सिस्टम) प्रणाली भने कपिपेस्ट भर्सनको पाए ।
कुनैपनि संस्थामा आफ्नो फरकपन (युनिकनेस) नदेखिएको यमदूतको बैठकले निर्णय गर्यो । बैंक तथा वित्तीय संस्थाले बनाएका एपहरु पनि कपीड भर्सन नै रहेको पत्ता लाग्यो । समयमा सिस्टम नचल्ने । करोडौंको कारोबार एउटै एकाउण्टबाट गर्न समस्या हुने । सिस्टमले भन्दा पनि पावर र प्रतिष्ठा अनि भनसुनले नेपालको बैंकिङ सिस्टममा अहिले पनि काम हुने गरेको यमदूतहरुले निष्कर्ष निकाले । आम मानिसका लागि एउटा निश्चित समयमा बैंक खुल्ने र बन्द हुने तर हुने खाने र बैंकका उच्चपदस्त लगानीकर्ताका लागि भने बैंक २४ घण्टा नै खुल्ने कुरा पनि पत्ता लाग्यो ।
यसो हुँदा त्यस्ता बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरेर न्यायोचित टिकट दिन नसक्ने प्रारम्भिक रिपोर्ट यमदूतले निकाले । बैंक तथा वित्तीय संस्थाको यस्तो अवस्था देखेपछि यमदूतहरुको विश्वास टुट्यो । खाता खोल्ने प्रावधान नै बडो झन्झटिलो भएको । कागजपत्र नै थरिथरिका माग्ने । कागजपत्र नपुगे खाता नै नखुल्ने । एटीएम सिस्टम समयमा नचल्ने र अधिकांश एटीएममा महिना अघिदेखि सिस्टम समस्या भएको पाए ।
यस्तो आन्तरिक समस्याहरुमा रुमलिएको कुनै पनि बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रणाली नै अत्यन्त जोखिमयुक्त पाए । बैंकमा डिपोजीट गर्न जान र डिपोजीट निकाल्न जान पनि लामो लाइन बस्नुपर्ने, समयमा कुनै पनि काम छिटो, छरितो र भरपर्दो तरिकाले नहुने । आन्तरिक समस्या र व्यवस्थापनमा अत्यन्तै कमजोर देखिएका कारण यमलोकको तथ्यप्रमाणहरु नै लिक हुने अवस्था देखेपछि कुनै प्रमाण कागज बैंकलाई नदिने र सहकार्य नगर्ने निर्णयमा यमदूतहरु पुगे । यो खबर यमराजलाई पनि दिए र अन्त्यमा उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरेर काम गर्नु उपयुक्त नहुने ठहर गरे ।
उता बैंकहरुले नै इन्स्योरेन्स गर्ने कुरा सुनेपछि यमदूतहरु भने आश्चर्यमा परेछन् । मृत्युपछि स्वर्गलोकमा लान लागिएको कति मानिसहरुको इन्स्योरेन्स गरेको रहेछ । कतिको बाँकी रहेछ भन्ने डाटा लिन इन्स्योरेन्स कम्पनीमा यमदूतहरु पुगे ।उनीहरुले इन्स्योरेन्स संचालकहरुसँग पनि भेट गरेछन् । इन्स्योरेन्स एजेन्टहरुले व्यक्तिको सुरक्षा स्वास्थ र जिन्दगीको ठेक्का नै लिन्छौ भनेर यमदूतलाई नै चुनौती दिएको प्रसंग झन रमाइलो छ ।
मानिसहरुलाई विभिन्न प्रलोभनमा पारेर बीमा गराउने गरेको यमदूतहरुले थाहा पाएछन् । यमदूतले बिमित व्यक्तिलाई सोध्दा कति रकमको गरेको, कुन पोलिसी लिएको, कुन कम्पनीमा बीमा गरेको ? भन्दा त्यो त थाहा भएन मरेपछि डबल आउँछ भन्ने उत्तर पाएछन् ।
उता स्कुल कजेजमा यमराजको खबर लिएर पुगेका यमदूतहरुको कथा झन रोचक छ । सरकारी स्कुल कलेज विश्वविद्यालयहरुमा विद्यार्थीहरु राजनीतिको नाममा युनियन खोलेर आफ्नै जिन्दगीको ठेकेदार पनि बन्न नसक्ने निकम्मा र झोले भएको भेटिए । शिक्षक जति राजनीतिको झोला अनी बिल्ला भिरेर चम्चे कार्यकर्ता र एजेन्ट नै भएको पाएछन् ।जसोतसो परीक्षा पास गरेर राजनीतिक कोटामा अस्थायी नियुक्ती पाएका शिक्षकहरु आन्दोलन गरेर, नाराबाजी, हुलदंगा गरी पढाउने काम छोडेर, तालाबन्दी गरेर पथभ्रष्ट भएको पाएछन् ।
यता निजी कलेज र विद्यालयतिर लाग्दा यमदूतले सानो–सानो नानीबाबुहरुलाई एकाबिहानैदेखि एकभारी किताब बोकाएर सकेसम्म चिया नै स्कुलमा नभए भात नै स्कुलमा खुवाउने होडबाजी चलिरहेको देखे । कमिशनको कुरा नगरौँ । विद्यार्थी भर्ना गर्न कमिशन, किताबमा कमिशन, ड्रेसमा कमिशन, कापीमा कमिशन, आइडि कार्डमा कमिसन, खाजामा कमिशन, विभिन्न प्राक्टिकल र टुर आयोजनामा कमिशन । कमिशन नै कमिशनमा रुमलिएको यो ठाउँमा पुगेका यमदूतलाई शिक्षक र प्राध्यापकले आफुलाई सबैभन्दा पहिला स्वर्गलोकमा पुर्याइदेउ भन्दै स्कुल र विश्वविद्यालय नै बन्दकीमा राखेर पनि मर्न र स्वर्गलोक जान तयार भएको बिन्तिपत्र चढाए ।
अब एयरपोर्टमा तथ्यांक लिन गएका यमदूतको अर्काे टोलीको त कुरा बाँकी नै छ । सधैँ जस्तो व्यस्त रहने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा पुगेका यमदूतले उही माथिको सन्देशसहित आफ्नो अप्रेशन सुरु गरे । सबैभन्दा पहिला सुरक्षा गार्डलाई सो सन्देश प्रवाह गरे । सुरक्षा गार्डले आफ्नो डिउटी नै विर्सिएर विना चेकजाँच यमदूतलाई एयरपोर्ट हातामा प्रवेश गराए ।
कुनै पनि प्रलोभनमा नपरिकनै सुरक्षाको जिम्मा लिएको एयरपोर्ट सुरक्षा संयन्त्रलाई यमराजको सन्देश छोड्दै सुरक्षाकर्मीलाई निकम्मा सावित गर्दै यमदूतहरु जाँचपास बिना नै एयरपोर्ट हाता प्रवेश गरे । त्यसपछि ट्यक्सीपार्कमा पुगेको यमदूतले ट्याक्सी ड्राइभर र पार्किङका सबैलाई जानकारी दिए । सधैं मिटरमा जान नमान्ने ट्याक्सी ड्राइभर र महंगो पार्किङ असुल्ने पार्किङ व्यवस्थापनका सबैजना यमदूतको पिछा गर्न थाले ।
एयरपोर्ट हातामा एककान दुइकान मैदान भएछ । चियापसले, अध्यागनम विभागका कर्मचारीदेखि एयरपोर्ट हातामा उपस्थित सबैले सो खबर सुनेपछि त्यहाँ पनि मृत्युवरण गर्न चाहनेको संख्या उल्लेख्य भएछ । कोरोना आतंकले बन्द र सुनसान हुन लागेको एयरपोर्टमा मानिसको भीड बढेपछि सो खबर बालुवाटार र नेपाल सरकारका सबै मन्त्रालय र विभागहरुमा फैलिएछ ।
यमदूतहरु यमराजको बम्पर उपहारसहितको खबर लिएर नेपाल आइपुगेको खबर बिरामी अवस्थामा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कानमा पुगेछ । सोही समय बालुवाटार हातामा यमदूतहरु पुगेछन् र उही यमराजको सन्देश पेश गरेछन् । पृथ्वीवासी जसले यो खबर पाए उनीहरु सबै मनुष्यलोकबाट स्वर्गलाकमा जाने लोभले मृत्युको लाईनमा लागेका छन् भन्ने जानकारी बालुवाटारमा पुगिसकेको रहेछ ।
कहिले ग्याँस, कहिले टिकट, कहिले मन्दिर यावत लाइनमा लाग्ने नेपालीहरु पनि त्यो लाइनमा लागेका छन् । हिजोसम्म मर्न भनेपछि डर मान्ने जोकोही पनि आज मर्नका लागि तँछाडमछाड गरेर लाइन लागेको देखेर यमराजका दूतहरुलाई नै लाइन व्यवस्थापन गर्न र एकपछि अर्कालाई स्वर्गमा पुर्याउन हम्मेहम्मे भएको जानकारी बालुवाटारलाई भएछ । मर्नबाट बाँच्नका लागि अनेक उपाय रचेका नेपालका प्रधानमन्त्री पनि सो लाइनको अग्रपंतिमा देखेपछि यमदूतहरु झनै आश्चर्यचकित भएछन् ।
उनलाई यमदूतले चेकजाँच गरेपछि मर्नको लागि पनि योग्य नभएको निष्कर्ष निकालेछन् । उनका शरीरका अंग प्रत्यगंहरु हेर्दा कुनै प्राकृतिक मानवको जस्तो नभेटेपछि उनी मृत्युवरण गर्न अयोग्य सावित भएकाले मनुष्यलोकमा नै राज गर्न र सत्ता र शक्तिको उच्चतम सदुपयाेग/दुरूपयाेग दाइँ गर्न छुट दिने निर्णय भएछ ।
केही यमदूतहरु कोरोनासंक्रमण युक्त क्वारेन्टनाइनमा समेत पुगेका थिए । यमदूतहरुले यो खबर फैलाउँदा नफैलाउँदै मरिन्छ कि भनेर डर मान्नेहरु मर्नका लागि आतुर हुँदै सबैभन्दा पहिला आफुलाई स्वार्गमा पुर्याउन अनुनय विनय गर्न थाले । डाक्टरहरुले बिरामीको उपचार नै गर्न छोडेर सबैभन्दा पहिला टिकट आफुहरुले पाउनुपर्ने दावी गर्न थाले ।
कोही सम्पत्तिवान् बिरामीहरु भने यमदूतलाई घुसको अफर पनि गर्न थाले । अवस्था सम्हाली नसक्नु भएपछि अस्पतालमा नै भीडभाडको अवस्था भयो । कमजोर शरीर भएका नाजुक अवस्थाका विरामीले मृत्युवरण गरेपछि यमदूतलाई नै हम्मेहम्मे पर्यो ।
स्वर्गलोकको सो सन्देश बोकेर यमराजका दुतहरु केही प्रचण्ड निवास खुमल्टार, कोही माधवकुमार निवास कोटेश्वर कोही झलनाथ खनाल निवास डल्लु, कोही देउवा निवास बुढानिलकण्ठ, कोही पौडेल निवास, कोही मन्त्री निवास पुलचोक, कोही मदिरा पसल, कोही नाङ्लो पसलेदेखि सपिङ महल, कोही फुटपाथदेखि पाँचतारे होटल, कोही पानपसल त कोही मदिरा पसल (भट्टी) सम्म पुगे । कोही बेश्यालय, कोही जुवाघर, कोही ध्यान केन्द्र, कोही यमदूतहरुले किराना पसलेदेखि मासु पसले, सुन व्यापारीदेखि नुन व्यापरीलाईसमेत यमराजको खबर सुनाए ।
उनीहरुले जस जसलाई जहाँ जहाँ भेटे त्यहाँ त्यहाँ त्यहाँ नेपालका भुतपूर्व एवं परलोक भएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, शुशिल कोइराला, मदन भण्डारी, राजपरिवारका सदस्यहरुको बखान गरे । उनीहरुले जीवित छँदा जसरी नेपालमा राजपाठ चलाएका थिए अहिले पनि स्वर्गलोकमा सोही अनुसार राजपाठ चलाएर बसेको र अजम्बरी भएको खबर यहाँ सुनाए ।
यो खबरले प्रचण्डलाई सही नसक्नु भएछ । उनले मृत्युबारे कहिल्यै नसोचेको र अचानक यस्तो बम्परउपहार आफ्ना लागि यमराजका दूतहरुले लिएर आएको थाहा पाउँदा प्रधानमन्त्री ओली भन्दा पनि चाँडो आफुले त्यस विषयमा निर्णय गर्ने बताए । नेपालको राजनीतिक वृत्तमा सँधै आफु र आफ्नाहरुका बाहेक सबैलाई बाइपास गर्न माहिर प्रचण्डले अबभने यमदूतहरुको साथ लिएर पार्टी नै परित्याग गरेर सिधै स्वर्गमा जाने तयारी थालेछन् ।
उनले यमदूतहरुलाई अरु कसैलाई पनि यस्तो बम्परचान्सको बारेमा नभन्न आग्रहसमेत गरे । तर, यमराजका दुतहरुले भने कसैलाई काखा र कसैलाई पाखा नर्गन आफ्ना राजाले दिएको सुझाव शिरोपर गर्ने बताएपछि प्रचण्डलाई भने छटपटी बढेको रहेछ ।
यमदूतको खबर पाएपछि माधव, खनाल, गौतम, बादल, श्रेष्ठ कम्रेडहरुले सकेसम्म यो मौका गुमाउन नहुने भन्दै चाँडो निर्णय गर्न प्रचण्ड निवास पुगे । त्यहाँ पुग्दा त प्रचण्डले आफुले केवल यमदूत बाहेक अरु कसैलाइै भेट नदिने सन्देश मुख्य गेटका पालेमार्फत सबैलाई छोडिदिन आग्रह गरिसकेका रहेछन् ।
पालेले प्रचण्डको सन्देश जस्ताको त्यस्तै पढ्दा रहेछन् ‘कम्ररेडहरु लालसलाम छ । आजका मितिसम्म देश र जनताका नाममा मेरा लागि गर्नुभएको त्याग र तपस्यालाई मनन गरिराछु । देश र जनताका नाममा मैले समाज, संस्कृति, विधि, पद्धतिका सबै मुल्य मान्यतालाई भत्काइदिएँ । धर्म र संस्कारलाई जलाइदिएँ । पुल, कुलेसा, बाटो र भवनहरु सबै ध्वस्त नै परिदिएँ । यस्ता कुराहरु गर्नु त्यस समय मानविय भएतापनि अहिले सम्झने हो भने बडो अमानविय र कायर काम भएको मलाई महशुस हुँदै छ । भत्काउँदा र ध्वंश पार्दा यहाँहरुको अपार साथ सहयोग पाएँ । म त्यससमय खुशी नै थिएँ तर अहिले भने त्यतिधेरै खुशी छैन । देश अहिले लथालिंग र भताभुंग अवस्थामा छ भन्ने सुन्छु तर त्यो कति साँचो हो, यहाँहरुले नै थाहा पाउने कुरा हो । भत्काउने मेरो जिम्मा हो भने बनाउने तपाईँहरु आफैँको जिम्मा हो । समाजका मुल्यमान्यता सबै अब तपाईँहरु आफै बनाउनु होला । नैतिकताका कुराहरु पहिलाका जस्ता बनाउन नसके पनि बनाउने कोशिश गर्नुहोला । विकासका पूर्वाधारहरु पनि नबनाई सुख छैन । भत्काउन भन्दा बनाउन समय लाग्छ धैर्य गरेर बस्नुहोला । सबै कुराहरु २०४७ सालको संविधान मुताविक नै गर्नुपर्ने अवस्था पनि बन्दै गएको छ । अब म यो लोकमा पुनः जन्मिने छैन । म फेरि विध्वंश मच्चाउन आउने छैन । मैले स्वर्गमा नै अजम्मरी शासन चलाउन पाउने भइसकेँ । त्यस कारण अब यहाँहरुको साथ सहयोग मलाई लिइरहनु जरुरी छैन । विचार र विवेकको राजनीति अब अवशान भइसकेको छ । छलछाम र झुटको राजनीतिले अब टिक्न गाह्रो भइसकोको छ । कम्रेडहरु, अब म आफैँलाई यहाँ टिक्न गह्रो भइसकेको छ ।’ सो सुनेर ढोकाबाटै सबै नेता कार्यकर्ता निराश भएर फर्किँदा रहेछन् ।
उता बालुवाटारमा पनि यमदूतले खबर छोडेपछि राज्यसत्ता नै बन्दकी राखेर भए पनि लागेपुगेसम्म स्वर्ग नै जाने तयारीमा क्याबिनेट बैठक बसेछ । प्रधानमन्त्री ओली, पहिलो दर्जाका मन्त्री पोख्रेल, ज्ञावली र खतिवडाले भने प्रधानमन्त्री स्वर्गको राजपाठ चलाउन योग्य भएका कुरामा कुरा चर्काएछन् । उनीहरुले जसरी भए पनि ओली नै नेपालको प्रतिनिधित्व गर्दै स्वर्गमा जाने पहिलो पात्र र यात्रु हुनुपर्नेमा दुईमत नराख्न आग्रह गरेछन् ।
तर यमदूतले अयोग्य सावित गरिसकेको कुरा उनीहरुलाई थाहा नै रहेनछ । दोस्रो दर्जाका मन्त्रीहरु बादल, मगर, यादव, ढकाल, भट्राई, भट्ट, पुन, बिष्ट, बस्नेत, भुसाल, मगर, अधिकारी, राई, अर्याल, विश्वकर्मा लगायतले भने प्रधानमन्त्रीको रेडजोनमा पर्ने डरले सही हो मात्र भनेछन् ।
होलीको दिन थियो । सबै जना रंग र पानीले होली खेल्दै थिए । गीत, संगीत, नृत्य र कतै रासलिला चलिरहेको थियो । कोही ध्यान, कोही समाधिमा थिए । आकाशमा बेलुन र चराहरु उडिरहेका थिए । कोही सोमरस पिएर धर्तिमा नै स्वर्ग पुगेको अनुभुति गरिरहेका थिए । लेखकहरु झल्याँस्स बिउँझिँदा काठमाडौंको कुनै अग्लो घरको रुफटपतिर दिउँसै निदाएर दिवास्वप्ना देखिरहेका थिए ।
उठेर ट्वाइलेटसमेत नगएर हत्त न पत्त इमेल चेक गर्दा थाहा भयो कि उनीहरुले गहिरो निद्रामा यस्तो उट्पट्याङ सपना देखेछन् । एक मनले त स्वर्ग जाउँ-जाउँ जस्तो उनीहरुलाई नलागेको होइन तर यतिबेलासम्म सपना मरिसकेको थियो । इतिश्री यमराज दूतेन स्वर्ग लोकेन महात्मे बयानम् भारत वर्षे नेपाल खण्डे हिमवत क्षेत्रे समस्त नेपालीका हिताय, स्वर्गलोकाय नौटंकी दिवास्वप्न अस्तु । रामसन्तोषम् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार