यस वर्ष प्राकृतिक विपतबाट हुने क्षति बढ्ने अनुमान
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार १४:४८:४४
२२ असार, काठमाडौं । यस वर्ष प्राकृतिक विपतबाट हुने मानवीय क्षति बढ्ने अनुमान गरिएको छ । मनसुन सुरु भएपछिका १५ दिनको विश्लेषणमा त्यस्तो संकेत देखिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यस वर्ष ३० जेठबाट मनसुन सुरु भएको हो । त्यसयताका १५ दिनमा प्राकृतिक विपतबाट देशभर ३१ को ज्यान गइसकेको छ । यो संख्या गत वर्ष यही अवधिको तुलनामा झन्डै ५५ प्रतिशतले धेरै हो । गत वर्ष ५ असारदेखि भित्रिएको मनसुनको सुरुका १५ दिनमा १४ जनाको मात्रै मृत्यु भएको प्राधिकरणले जनाएको छ । प्राकृतिक विपतबाट भएको क्षतिको प्राधिकरणले १५–१५ दिनमा विश्लेषण गर्ने गर्छ ।
विपत्का घटनामा परी घाइते हुनेको संख्या पनि यस वर्ष बढ्ने अनुमान गरिएको छ । गत वर्ष मनसुनका सुरुका १५ दिनमा ३८ जना घाइते भएका थिए । तर, यस वर्ष १५ दिनमा ४८ जना घाइते भएका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले प्राकृतिक विपत्का घटना गत वर्षको तुलनामा कम भए पनि मानवीय क्षति भने धेरै हुने अनुमान गरिएको बताए । ‘गत वर्ष मनसुन सुरु भएको १५ दिनमा मुलुकभर एक सय ५९ घटना भएका थिए । यस वर्ष सुरुका १५ दिनमा एक सय ४३ मात्रै घटना भएका छन्, तर मानवीय क्षति भने बढेको छ । घाइते हुनेको संख्या पनि गत वर्षको भन्दा धेरै छ । यसपटक संकेत सुखद देखिएको छैन,’ उनले भने ।
प्राधिकरणका अनुसार चुरे क्षेत्रमा भएको वन फँडानी र विनायोजना स्थानीय तहमा चलेका डोजर बाढी र पहिरोको प्रमुख कारण हुन् । त्यसबाहेक सीमा क्षेत्रमा भारतद्वारा बनाइएका तटबन्धका कारण पनि बाढी र डुबानका घटना हुने गरेका छन् । ‘पहाड जताततै खनिएका छन् । माटो गलेको छ । यस्तोमा पहिरोको जाने खतरा सबैभन्दा धेरै हुन्छ । तराईका नदी क्षेत्रमा व्यवस्थित तवरले बाँध बनाउन सकिएको छैन । अर्कोतर्फ भारतीय तटबन्ध छ । यसले बाढी र डुबानलाई निम्त्याउँछ,’ पोखरेलले भने ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा मनसुन ९० दिनसम्म रहन्छ । यस अवधिमा हुने बाढी र पहिरोका घटनाले मानवीय र धनमालमा ठूलो क्षति पु¥याउँछ । प्रत्येक वर्ष देशभर बाढीपहिरोबाट मात्रै सरदर एक सय ७८ ले ज्यान गुमाउने गरेको प्राधिकरणको तथ्यांक छ । त्यस्तै, ३३ बेपत्ता हुन्छन् भने ६ हजार चार सय ९० घरपरिवार बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित हुन्छन् । प्रत्येक वर्ष ५१ करोडभन्दा धेरैको धनमाल क्षति हुने गर्छ ।
पछिल्लो पाँच वर्षमा बाढीपहिरोबाट मात्रै आठ सय ९० को मृत्यु भएको छ भने एक सय ६१ जना बेपत्ता भएका छन् । घटनाबाट ३२ हजार चार सय ४० घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । देशभर यस अवधिमा दुई अर्ब ५७ करोड ९६ लाख रुपैयाँबराबरको धनमाल क्षति भएको प्राधिकरणको तथ्यांक छ ।
सरकारले विपत् न्यूनीकरण, उद्धार र पुनर्निर्माणका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेको हो । गत २९ मंसिरमा गठन गरिएको प्राधिकरणमा अनिल पोखरेल कार्यकारी अधिकृत नियुक्त गरिए पनि अरू कर्मचारीको दरबन्दी सिर्जना गरिएको छैन, जसले गर्दा प्राधिकरणले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । प्राधिकरणले सरकारसँग ३८ कर्मचारीको दरबन्दी माग गरेको छ, तर अहिलेसम्म स्वीकृत हुन सकेको छैन । नयाँपत्रिका
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार