डा. केसीको जीवन रक्षा गर ओली सरकार
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार १९:२५:३
सम्पादकीय
२० असोज, काठमाडौं । देशमा व्याप्त स्वास्थ्य बेथितिको अन्त्य गरी सहज पहुँचका लागि आन्दोलनरत डा. गोविन्द केसी अस्पतालको शैयामा विगत २३ दिनदेखि छटपटाइरहेका छन् । यता, खड्गप्रसाद ओली नेतृत्वको सरकार भने सत्ता राजनीतिको चास्नीमा चुर्लुम्म डुबेको छ ।
महामारीका बेलामा समेत भ्रष्टाचार गर्ने ओली सरकारका लागि सत्याग्रही डा. केसी घाँडो बनेका छन् । अहिले १९ औं पटक उनी उही पुरानो माग उठाएर लम्पटछन् । तर यसले ओली सरकारलाई पटक्कै छोएको छैन । बरु उल्टो बेसुरको बाजा भन्दै जिस्क्याउने काम भएको छ ।
सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डा. केसीको अनशन बेमौसमी बाजा भने । तर उनले उठाएका कुन चाहिं माग गलत छन् भनेर खुट्याउन भने सकेनन् । कोरोना महामारीका बेला अनशन गर्नु गलत भन्ने ज्ञवालीको ठम्याई छ । तर त्यही कोरोनाका लागि चाहिने औषधि र उपकरण खरिद गर्दा भएको अनियमितता र भ्रष्टाचारको उनी दूधको साक्षी बिरालो बनेका छन् ।
स्वास्थ्य शिक्षामा सर्वसाधारणको पहुँच पुगास् भन्ने डा. केसीको कुनै व्यक्तिगत माग वा चाहना छैन । त्यो मागले तीन करोड नेपालीको समर्थन पाएको छ , तर ओली भने मेडिकल माफियाको चंगुलमा फसेका छन् । उनी कमिशन र भ्रष्टाचारको जञ्जालमा नराम्ररी फसिसकेका छन् । त्यो साङ्लो तोड्न ओलीका लागि सहज देखिएन । त्यसैले एउटा सत्याग्रही अस्पतालमा छटपटाई रहँदासमेत ओलीलाई दुख्दैन ।
डा.केसी गलत थिए भने उनको पक्षमा मानिस एकतृत हुने थिएनन् । ओलीले जस्तो भाडाका टट्टु माइतीघरमा उतार्न डा. केसीलाई आवश्यक छैन । स्वतस्फूर्त रुपमा मानिस सडकमा ओर्लिएका छन् । ओलीकै पार्टीका नेता माधवकुमार नेपालले पनि डा. केसीको माग सही भनेका छन् । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवादेखि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसम्मले ओली सरकारको रबैयाको विरोध गरेका छन् । तर त्यो आवाज ओलीको कानसम्म पुगेको छैन । मानौं देशमा केही भएकै छैन ।
ओली सरकारको यस्तो गैरजिम्मेवार हर्कतले कतै डा. केसीको ज्यानै नजाला भन्न सकिन्न । सरकारको रवैया हेर्दा एउटा सत्याग्रहीलाई मार्न तम्तयार भएको प्रतीत हुन्छ । डा. केसीको ज्यान जोखिममा परिसकेको छ, तर ओलीले वार्ता टोलीसमेत बनाएका छैनन् । उनको जीवन रक्षाका लागि कुनै पहल नै भएको देखिंदैन ।
यो सरकार जनताको हो की माफिया र बिचौलियाको ? अहिलेको यक्ष प्रश्न यही हो । डा. केसीले उठाएका माग आम नेपालीका लागि प्रिय छन्, तर केही मेडिकल माफिया र बिचौलियाका लागि भने पीडादायी छन् । जनताका प्रतिनिधिका लागि मात्रै उचित लाग्ने विषय र मुद्धा उठेका छन् । ओली सरकारपनि जनताको मत लिएर माफिया र बिचौलियाकै सेवा गर्न अभिशप्त छ ।
जनतासँग सम्वादको कडी भनेकै डा.केसीले उठाएका मागको संबोधन गर्नु हो, तर ओली त्यो चाहँदैन । ओलीको प्राथमिकतामा अब बिचौलिया र माफिया परेका छन् । डा. केसीले प्रत्येक प्रदेशमा कम्तिमा एउटा शिक्षण अस्पताल खोल्न माग राखेका छन् । यो काम ओलीले आफैं गर्नुपर्ने हो , तर उनको प्राथमिकतामा यो मुद्धा पर्दैन । त्यसैले त्यो माग पूरा गर्न ओली सरकारले चासो देखाउने कुरापनि भएन ।
आफूलाई लोकतान्त्रिक सरकार भनाउन रुचाउने ओलीको यो गैरजिम्मेवार प्रवृत्ति र बिचौलिया पोस्ने नीतिले जनता निराश भएका छन् । तर एउटा सत्याग्रहीलाई गलाएर मार्ने दाउमा रहेका ओलीको राजनीतिक भविष्यपनि जर्जर बन्ने छ । यो त केवल एउटा संकेत मात्र हो । नेपाली जनताको शक्तिलाई ओलीले कम आँकेका छन् ।
नेपाली जनताले राणा, पञ्चायत र शाही शासनको समूल नष्ट गरेको इतिहास ओलीले बिर्से जस्तो छ । अहिले जुन सत्ताको फूर्ति उनी लगाउँदैछन् त्यो पनि यही जनताले दिएका हुन् । उनलाई अब फेरि हेक्का दिलाउने बेला आएको छ । समयका अगाडि कस्ता कस्ता मै हुँ भन्ने त नतमस्तक भए, ओली कुन खेतका मूला हुन् र ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
माघ २१, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
माघ २१, २०८१ सोमबार
राष्ट्रपतिद्वारा वसन्तपुरमा वसन्त श्रवणः तस्बिरहरू
माघ २१, २०८१ सोमबार
नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै
माघ २१, २०८१ सोमबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
माघ २१, २०८१ सोमबार