भेरीकै भरोसामा नेपालगञ्ज
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २१:९:४८
७ जेठ,राँझा । कोरोना संक्रमण देखिएपछि होमआइसोलेशनमा स्वास्थ्य लाभ गरिरहेका घोराही उपमहानगरपालिका–९ दाङ निवासी ४६ वर्षीय पुरुषमा स्वास्थ्यमा समस्या भएपछि दाङकै बेलझुण्डी अस्पताल पुगे । त्यहाँबाट शिक्षण अस्पताल कोहलपुरमा थप उपचारको लागि सिफरिस भएका उनलाई अक्सिजन अभावको कारण देखाउदै अस्पतालले भर्ना लिन मानेन् । शिक्षण अस्पतालले भर्ना नलिएपछि निराश बनेर नेपालगञ्जस्थित भेरी अस्पताल पुगेका उनलाई बरण्डामै राखेर उपचार शुरु भएपनि बाँच्ने आशा भने जाग्यो ।
“कोहलपुर अस्पतालले भर्ना नलिएपछि दिनभर धेरै चिन्ता भयो, भेरी अस्पतालले पनि भर्ना नलिने हो कि भन्ने डर थियो”, बिरामी श्रीमानको उपचारमा आएकी श्रीमतीले भनीन्,“भेरी अस्पतालले शय्या नभए पनि भर्ना लियो, यहाँ नभए हाम्रो जाने ठाउँ थिएन ।” दुई दिनसम्म बरण्डामा राखेर उपचार पछि अहिले शय्यामा राम्रोसँग उपचार भएको र स्वास्थ्यमा समेत सुधार आएको उनको भनाइ छ ।
बाहिरी जिल्लाबाट महङ्गो भाडामा एम्बुलेन्समा बिरामी लिएर अस्पताल पुग्दा कोरोना संक्रमित भन्दावित्तिकै भर्नानै नलिने र उपचार नपाउने अवस्था छ । भेरी अस्पतालमा बुवाको उपचार गराइरहेका कैलालीको लम्कीचुहा नगरपालिका–३ निवासी रमेश तिमिल्सिनाले कोहलपुर शिक्षण अस्पताल, नेपालगञ्ज शिक्षण अस्पताल हुँदै भेरी अस्पतालमा पुगेपछि मात्रै भर्ना पाएको बताउछन् ।
पश्चिम नेपालबाटै ‘सिफारिस’ भइ आउने बिरामीको उपचार केन्द्रको रुपमा स्थापित नेपालगञ्जस्थित भेरी अस्पताल यतिबेला कोरोना महामारीमा बिरामीको भरोसा बनेको छ । कोरोना संक्रमण भएका बिरामीलाई लुम्बिनी प्रदेशसँगै कर्णाली र सुदूरपश्चिमका जिल्ला अस्पताल तथा अन्य निजी अस्पतालले भेरी अस्पताल नेपालगञ्जमा प्रेषण गर्ने भएकोले यतिबेला भेरी अस्पताल कोरोना उपचार केन्द्रसँगै बिरामीको भरोसा समेत बन्न पुगेको छ ।
सामान्य अवस्थामा पनि बिरामीले भीडभाड हुने भेरी अस्पताल यतिबेला कोरोना संक्रमित बिरामीले भरिभराउ रहेको छ । बाँकेमा मात्रै नभई पश्चिम नेपालमै कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले भेरी अस्पतालमा उपचारको लागि आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दोक्रममा रहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए ।
“भेरी अस्पताल ‘सिफारिसल सेन्टर’ हो । बाँके, बर्दिया मात्रै नभई लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट यहाँ बिरामी आउने गरेकोले अस्पताल भरिभराउ छ”, डा थापाले भने,“धेरै अस्पतालले कोरोना लक्षण देखिनासाथ बिरामीलाई यहाँ पठाउछन्, तर हामीले शय्या अभाव हुँदाहुँदै पनि बिरामीलाई उपचार गर्ने गरेका छौँ ।”
अस्पतालका सबै शय्या र बरण्डा भरिएपछि एकहप्तादेखि भेरी अस्पतालको परिसरमा त्रिपालको अस्थायी उपचार कक्ष बनाएरसमेत कोरोनाको बिरामीलाई उपचार गर्ने गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा थापाले संक्रमित राख्ने कहीँकतै स्थान नभएपछि अहिले तत्काल उपचार चाहिने संक्रमितका लागि इमरजेन्सी वार्डकोे बाहिर टेन्ट बनाएर अक्सिजन सहायतामा बिरामीको उपचार गरिएको बताए ।
“कोभिड वार्डको लागि तयार गरिएको शय्याको त कुरै छोडौँ आकस्मिक कक्षमा राखिएका १६ वटा शय्यासमेत भरिएपछि इमरजेन्सी उपचारका लागि टेन्ट टाँगिएको हो । भित्र शय्या खाली नहुँदासम्म अक्सिजन दिएर बिरामीलाई त्रिपालमै राखिराख्ने र शय्या खाली भएपछि भित्र लाने गरिएको छ”, डा थापाले भने,“अहिलेका संक्रमितलाई आइसीयूभन्दा पनि अक्सिजन आवश्यक छ । त्यसैले हामीले संक्रमितको जीवनरक्षाका लागि यो प्रयास गरेका हौं । धेरै अस्पतालमा शय्या नपाएर यहाँ आएका संक्रमितलाई शय्या छैन भनेर कहाँ पठाउने कहीँ खाली नै छैन । त्यसैले हामीले उनीहरुलाई यताउता भौतारिन नदिई यहि जसोतसो सेवा दिने गरेका छौँ ।”
बाँकेमा कोरोना पीडितको उपचारका लागि सरकारले भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताललाई तोकेको छ । मेडिकल कलेजले अक्सिजन अभावको कारण देखाउँदै एक हप्ता अघिदेखि अस्पतालमा पुग्ने सबै संक्रमितलाई एकैपटक भर्ना गर्न रोकेको छ तर भेरी अस्पतालले जस्तोसुकै अवस्थामा पनि बिरामीलाई फर्काएको छैन ।
मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा भर्ना हुन नपाएका संक्रमित भेरी अस्पतालमा पुग्ने गरेका छन् । भेरी अस्पतालले शुरुमा १४२ शय्या क्षमताको कोभिड वार्डबाट उपचार गरिरहेको अवस्थामा संक्रमितको सङ्ख्या ह्वात्तै बढेपछि अहिले अन्य वार्डलाई खाली गरेर दुई सय शय्यामा पुर्याएको छ । यति गर्दा पनि संक्रमितको चाप रोकिएको छैन । २०० शय्या क्षमताको कोभिड वार्डमा २७२ जना सङ्क्रमित भर्ना छन् । अस्पतालको इमरजेन्सीलगायत अधिकांश वार्डमा संक्रमित भरिएका छन् । अझैपनि कोभिड वार्डका शय्या खाली हुने पालो कुर्दै थुप्रै संक्रमित होम आइसोलेशनमा छन् ।
शय्या अभाव भएपछि त्रिपालमा उपचार
संक्रमितको चाप झन् बढ्दै जाँदा अस्पतालमा शय्या अभाव भएपछि अस्पताल परिसरमै त्रिपाल लगाएर अस्थायी शय्या निर्माण गरी उपचार शुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिेटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेको पहल र युनिसेफको सहयोगमा नेपाली सेनाले टेन्ट टाँगेर कम्तीमा छ जना बिरामीलाई उपचार गर्न सकिने अस्थायी उपचार कक्ष तयार गरेको हो । अस्पतालका सबै शय्या भरिभराउ भएपछि अस्पतालले कोभिड वार्डको हल नम्बर एक र दुईको बाहिर पट्टी बरण्डामा पनि चार वटा शय्या, अक्सिजन सिलिण्डर, मनिटर राखेर संक्रमित बिरामीको उपचार गरिरहेको छ ।
“अस्पतालमा संक्रमित बिरामीको चाप थेग्न नसक्ने छ, अस्पतालमा आइसकेको बिरामीको उपचार गर्ने अस्पतालको दायित्व पनि हो । त्यसैले टेन्ट लगाएरै भएपनि उपचार सेवा शुरु गरेका हौँ”, डा थापाले भने, “अस्पतालको कोभिड वार्ड, इमरजेन्सीलगायत सबै वार्ड भरिभराउ छन् । पछिल्लो चार दिनयता अस्पतालमा कोभिडको बिरामीको चाप अत्याधिकरुपमा बढिरहेको छ ।”
भेरी अस्पतालमा प्रायःअन्य जिल्ला अस्पतालबाट रेफर भएर सिकिस्त खालका संक्रमित बिरामी आउने गरेका छन् । सिकिस्त बिरामीको उपचार अक्सिजन बिना सम्भव सम्भव नहुने र बढी सिकिस्त बिरामीको हकमा अवस्था हेरेर भेन्टिलेटर र आइसियुमा राख्ने गरेको डा थापाले जानकारी दिए ।
अस्पताल आएका बिरामी फर्किनु पर्दैन
बाँकेकै अन्य अस्पतालले शय्या अभावको कारण देखाउँदै बिरामी फिर्ता गरे पनि भेरी अस्पतालले आएका बिरामीलाई उपचार गर्ने गरेको छ ।
कोभिड वार्ड दिनहुँ भरिएर झन् भयावह स्थिति आएपछि अस्पताल परिसरमा त्रिपाल टाँगेर भएपनि उपचार गर्नु परेको भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा सङ्केत रिसालले बताए । अस्पतालमा संक्रमित बिरामीको चाप थेग्न नसक्ने भएपनि अस्पतालमा आइसकेको बिरामीको उपचार गर्ने अस्पतालको दायित्व पनि भएको उनको भनाइ छ ।
डा रिसालका अनुसार, भेरी अस्पतालमा प्रायःरेफर भएर नै सिकिस्त खालका संक्रमित बिरामी आउने गरेका छन् । सिकिस्त बिरामीको उपचार अक्सिजनबिना सम्भव छैन । बढी सिकिस्त बिरामीको हकमा अवस्था हेरेर भेन्टिलेटर र आईसियुमा राख्ने गरिएको छ ।
सबै शय्या, टेन्ट, भुईं र बरण्डा बिरामीले भरिएका छन् । जताततै चिकित्सकको उपस्थितिमा उपचार भइरहेको दृश्य यतिबेला भेरी अस्पतालमा देखिन्छ । बिरामीको उपचार उच्च मनोबलका साथ खटिएका स्वास्थ्यकर्मीले गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।
“कोभिडका बिरामी थेगिनसक्नु छ, अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी आफै संक्रमित छन् । अस्पतालका सबै शय्या भरिए पनि हामी बिरामीलाई फिर्ता पठाउँदैनौ । नातागोता तथा भनसुनका भरमा नभई बिधि र पद्दतिबाट बिरामीको उपचार भइरहेको छ”, अस्पतालका अध्यक्ष धितालले भने, “बिरामीको चाप भेरी अस्पतालमा अत्याधिक बढी छ तर भेरीमा आउने बिरामी कम्तिमा एक घण्टा अक्सिजन पुग्ने एम्बुलेन्समा आउनु होला शय्या नपाउने हुँदैन हामी बिरामीलाई अस्पतालबाट उपचार नगरी फिर्ता पठाउँदैनौ ।”
भेरी अस्पताल नेपालगञ्जमा यतिबेला कोरोनाका बिरामीको अत्याधिक चाप रहेको छ । भेरी अस्पतालमा यतिबेला बाँके र लुम्बिनी प्रदेशका मात्र नभएर कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट अत्यन्तै गम्भीर अवस्थामा पुगेका कोरोना संक्रमित उपचारको लागि रेफर भएर आउने गरेका छन् ।
भेरी अस्पताल नेपालगञ्जमा कोरोनाको लागि निर्माण गरिएको १८० शय्या पुरै भरिएको छ तरपनि अस्पतालले करिब ३०० संक्रमितलाई उपचार गर्दै आएको बताउदै अध्यक्ष धितालले भेरीमा यो अवस्थामा बिरामी रेफर गर्दा अक्सिजनसहितको शय्याको अवस्था बुझेरमात्र रेफर गरिदिन सम्बन्धित अस्पताल, स्वास्थ्य संस्थालाई आग्रह गरे ।
“पहाडी जिल्लाबाट सिफारिस भई आउने बिरामीसमेतको भेरी अस्पताल उपचार केन्द्र भएकाले पहाडी जिल्लाका बिरामी थेग्न सक्ने गरी अस्पतालले उपचारको लागि तयारी गरेको छ”, अध्यक्ष धितालले भने, “भेरी अस्पतालमा शय्या अभावका कारण कतिपयले भुईंमा सुतेर उपचार गराइ रहेपनि उपचारका हर सम्भव प्रयास गरिएको छ, लक्षण देखिएका गम्भीर प्रकृतिका बिरामीसमेतलाई अस्पतालले तत्काल जाँच गर्ने प्रबन्ध मिलाएको छ ।”
अक्सिजन अभाव हुन नदिन ट्याङ्क जडान
कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि यो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न भेरी अस्पतालले अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ । अस्पतालले रु ८२ लाख लागतमा ३१ केलको अक्सिजन लिक्युड ट्याङ्क जडान गरेको हो ।
अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामी थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दीर्घकालीन समाधानको बाटो खोजेको अध्यक्ष धितालको भनाइ छ । अहिले अक्सिजन सिलिन्डर समयमै उपलब्ध नहुने समस्या रहेको छ ।
भेरी अस्पतालको कोभिड वार्डमा बिरामीको चाप बढेसँगै अक्सिजनको माग पनि बढेको छ । भेरी अस्पतालमा दिनमा २५० देखि ३०० थान अक्सिजन सिलिन्डर खपत भइरहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा थापाले बताए ।
उनका अनुसार सामान्य अवस्थामा अस्पतालमा दिनमा १० देखि १५ वटा ठूला अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुने गरेकोमा कोभिडका धेरै बिरामीमा अक्सिजनको माग बढेकाले खपत पनि बढेको हो । अस्पतालमा रहेका अधिकांश बिरामी अहिले अक्सिजनसहित उपचार कक्षमा छन् ।
दोस्रो लहरमा ८५२ संक्रमित भर्ना, १५३ को मृत्यु
कोरोना संक्रमणको स्थिति भयावह हुँदा संक्रमित हुने र मृत्युदर दैनिक रुपमा झन् उकालो लागिरहेको छ । बाँकेमा अहिले दैनिकरुपमा १५ देखि १७ जनासम्मको मृत्यु हुने गरेको छ भने ७०० देखि ९०० जना संक्रमित भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति तेज वलीले बताए ।
उनका अनुसार, कोभिड दोस्रो लहर शुरूवातसँगै वैशाख १ देखि जेठ ६ गतेसम्म भेरी अस्पतालमा ८५२ जना भर्ना भएकोमा ४६६ जना निको भई घर फर्किएका छन् । यो अवधिमा उपचारको क्रममा भेरी अस्पतालमा १५३ जनाको मृत्यु भएको छ भने १२ जनालाई अन्य अस्पतालमा सिफारिस गरिएको छ । हाल सो अस्पतालमा २४२ जना बिरामी उपचाररत छन् । यसमध्ये शिकिस्त ८२ जना हुनुहुन्छ भने मध्यम अवस्थाका १६० जना छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार