अनुहार मिल्नुको उल्का र मजा
चन्द्रमणि गौतम
साउन १३, २०७८ बुधबार १८:५६:२३
ओहो, सर्वमान्य नेता गणेशमानजी ! ए ऽऽऽ होइन है होइन ! उहाँ त कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीहरूले बनाएको सिनेमा ‘वीर गणेशमान’ का गणेशमान सिंहको भूमिका खेलेका यस्तै के नाम ‘कार्की’ हुनुहुन्छ । गणेशमानजीको घरमा फिल्म सुटिङ्को लागि बैठक कोठा बाहिर उहाँ जसरी नै उभिँदा र बैठक कोठामा बस्दा उहाँकी बुहारी (प्रकाशमान पत्नी) सिर्जनाले त ‘बा जस्तै’ भन्दै भावविह्वल भएर बरर्र आँसु झारेकी !
चित्रमा देखिएको अनुहार हेरेर तपाईँले ठान्नुभयो होला माओवादी–केन्द्रका अध्यक्ष प्रचण्ड । तर उहाँ हुनुहुन्छ, चितवनका एक शिक्षक दुर्गाप्रसाद भट्ट । प्रचण्डसँग अनुहार मिलेका मानिसहरू बेलाबखतमा देखिरहिन्छ । तर कहिलेकहीँ अनुहार मिल्नु पनि अभिशाप हुँदो रहेछ ।
युरोपबाट दशकौँ अघिदेखि आएर पोखरातिर बसोबास गरेका, सर्ट–पाइन्ट लगाएर हिँड्ने, नेपाली राम्रो बोल्ने गिरिजाप्रसाद कोइरालासँग अनुहार, कद, वर्ण र उचाई ठ्याक्कै मिल्ने एक पादरीलाई, ०४८ सालतिर तत्कालीन प्रधानमन्त्री कोइरालाका बिरूद्ध जनआक्रोश चुलिएको बेला धेरै ठाउँमा अप्ठ्यारो पर्ने गरेको उनैले बताएका थिए । कालो टोपी लगउँदा त झन् गिरिजा नै देखिने उनी साँझ परेपछि टोपी पट्याएर खल्तीमा हालेर मात्र हिँड्दथे, गिरिजा ठानेर गोद्लान् भन्ने डरले । चित्रका भट्ट सरलाई पनि त्यस्तो परेको होला कि !
“यो किस्न सिटोलो भन्ने कांग्रेसको मान्छे र हाम्रो अग्नी सापकोटो त दाजुभाई हुन् कि क्या हो ! अनमार ( उनकै उच्चारणमा ‘अनुहार’) उस्तै देख्छु !” सिन्धुपाल्चोकका एक तामाङ बाले यो जिज्ञासा राखे । सिन्धुपाल्चोकको सापकोटा र झापाको सिटौला कताबाट दाजुभाई हुनु ! यो जवाफ सँगसँगै मनमा आयो, टिपोट र रेकर्डमा रहेका तथ्यमा आधारित एउटा दिल बहलाउने आलेख तयार गरौँ । चिनिएका मानिसहरूसँग सामान्य मानिसको अनुहार मिल्नु संयोग हो, तर यो विषय पनि उल्लेखनीय हुनसक्छ ।
विदेशको सन्दर्भ पनि हेरौँ । इराकी पूर्वराष्ट्रपति (तानाशाह) सद्दाम हुसेनसँग अनुहार मिल्दोजुल्दो भएका इजिप्टको अलेक्जेन्ड्रीया निवासी मोहम्मद बसरलाई पटक–पटक सास्ती खेप्नु प¥यो । धेरैपटक प्रहरी हिरासतमा जाकिनुप¥यो । बाटोमा हिँड्दा पनि उनलाई मानिसहरूले ‘सद्दाम–सद्दाम’ भन्दै उत्तेजित भएर बोलाउने गर्थे । पछिल्लोपटक तीन बन्दुकेले उनलाई अपहरण गर्न खोजे । यसो गर्न खोज्नुको कारण पनि रोचक छ ।
बसरलाई उनीहरू एउटा अश्लिल भिडियो चलचित्रको नायक बनाउन चाहन्थे । यसका लागि उनलाई ३ लाख ३३ हजार डलरको अफर पनि दिएका रहेछन् । आफू बुढो भइसकेको र त्यस्तो कुनै इच्छा नभएको बताएपछि अपहरणकारीले उनलाई बेस्सरी कुटेर फुटपाथमा फालेर हिँडेछन् । यस्तै समस्या डा. बाबुराम भट्टराईसँग अनुहार मिल्ने उनका भाई शिवलाई पनि परेको रहेछ । बाबुराम जस्तै देखिएको कारण युद्धकालमा उनलाई प्रहरीले धेरैपटक पक्राउ गरेर छोडिदिन्थ्यो ।
सँगैको चित्रमा दुई अनुहारका के.पी. ओली छन् । पाठक आफैं छुट्याउनु होस्, कुन सक्कली ओली हुन् र कुन नक्कली । सक्कली ओली नेता हुन्, नक्कली ओली अभिनेता । नेता कम सिँगारिएका होलान्, अभिनेता धेरै सिँगारिएका होलान् । सक्कली ओली प्रधानमन्त्री भए, नक्कली ओली ‘मेरी बास्सै’ नामक सानो पर्दाको मनोरञ्जनात्मक कार्यक्रममा ‘धुर्मुस’ को कलाकारी नाममा चिनिन्छन् भने २०७२ को भूकम्पपछि प्रख्यात समाजसेवी । भूकम्पपछि काभ्रेमा एउटा भव्य वस्ती र सिन्धुपाल्चोकको गिरानचौरमा त्यस्तै वस्ती निर्माण गरिदिएर र हाल भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माणमा लागेर पनि चर्चित छन् ।
अनुहार मिलाउनु उच्चस्तरीय कलाको पूर्वाधार पनि हो । बेलायती सिने डाइरेक्टर रिचार्ड एडिनबरोले सन् १९८२ मा दुईकरोड २० लाख लगानी गरेर महात्मा गान्धीको जीवनीमा ‘गान्धी’ चलचित्र बनाए र विश्वभरिबाट करिब १३ करोड डलर कमाए । यसले ६ वटा ओस्कार पुरस्कार पनि पायो । अन्य कयौँ प्रतिष्ठित पुरस्कारको त कुरै भएन ।
यस चलचित्रको मूख्यपात्र गान्धी हुने कलाकार थिए बेन किङ्सले । वास्तवमा यिनको न्वारानको नाम कृष्ण भाँजी हो, जो केन्यामा बसोबास गर्ने गुजराती मूल र ‘इस्माइली’ पन्थी मुसलमान ‘खोजा’ वंशका हुन् । यिनका हजुरबा गुजरातबाट अफ्रिकाको जन्जिबारमा गएर नामुद मसला व्यापारी बने । तर छोरा बेन (यिनी) चाहिँ बेलायतमै जन्मे र क्रिश्चियन नै भए । यिनले गान्धीबाहेक कयौँ चलचित्रमा खेलेका छन् । आठवटा इङ्लिस फिल्म निकै चर्चित छन् । गान्धी फिल्मको सफलतापछि यिनी महात्मा गान्धीका पक्का अनुयायी र शाकाहारी भए । गान्धीको भूमिकाका लागि छनौटमा परेका अन्य नामुद अभिनेताहरू— डस्टिन हफ्म्यान, रोबर्ट द निरो र रिचार्ड बर्टनलाई पछाडि पारेर छनौटमा पर्न उनी सफल भए ।
इन्डोनेसियाका ‘नक्कली ओबामा’ पनि यहाँ हाजिर छन् । ४२ वर्षे यी इन्डोनेशियाली किराना पसलका ब्यापारी नुरुल इन्तानलाई सबैले ओबामा भन्न थालेपछि उनी पनि बराक ओबामा हुन झन् टाईसुटमा ठाटिन थाले । सुनिन्छ, बराक ओबामा जस्तै अनुहार बनाउन कसरी सकिन्छ, उनको जस्तो हाउभाउ उतार्न र बोली पनि धोद्रे खालको बनाउन निकै खर्च गरेर लागिपरेका छन् भन्ने बुझिन्छ ।
मानिसको रुचि अनेकौँ हुन्छ । ओबामा छन् भने नरेन्द्र मोदी नहुने कुरै भएन । तस्बीरमा देखिएका ‘नरेन्द्र मोदी’ को खास नाम अभिनन्दन पाठक हो । २०१४ मा पहिलोपटक मेरठको भाजपा ¥यालीमा जाँदा उनलाई हेर्नेको भिड लागेको मात्र थिएन, सुरक्षाको राम्रो इन्तजाम पनि गर्नुप¥यो । यो फोटो भारतीय टीभी समाचारको च्यानल ‘एभीपी न्युज’ ले खिचे र प्रशारण पनि गरेको थियो ।
अब हेरौँ ‘जीवित माओ’ । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्से–तुङ्को देहावसान भएको सन् १९७६ मै हो, तर माओको तस्बीरसँगै प्रस्तुत गरिएका ‘माओ’ चाहिँ जीवितै छन् । यी ५४ वर्षीय ‘माओ’ सन् १९१३ बाट देखापरेका हुन् । यिनको नाम चेन यान हो । यिनले माओले लगाउने जस्तै सुन यात सेन सुट लगाउन थाले, माओले जस्तै फिल्टर नभएको चुरोट हातमा च्याप्न थाले ।
माओ जस्तो देखिन यिनलाई एकपटकमा ८ सय युवान् (करिब १२ हजार रुपैयाँ) खर्च लाग्ने गर्छ । सबभन्दा रोचक पक्ष, यी नक्कली माओ चेन यान महिला हुन् । विवाहिता र गृहिणी हुन् । नक्कली माओ हुने यिनी पहिलो चिनियाँ महिला हुन् । स्वास्नी माओ भएपछि लोग्नेलाई गृहस्थी जीवन सहज र स्वाभाविक अवस्थामा राख्न हम्मेहम्मे परेको छ भनी उनको बारेमा लेख लेख्ने एन्जेला एरिका कुबोले आफ्नो आलेखमा बताएकी छन् ।
चीनमा माओ त्से–तुङ्, सम्राटहरू आदि इतिहासका पात्रहरूको चित्रण र अभिनय गर्ने उच्चस्तरका कलाकार ताङ् ग्वोक्याङ् हुन् । यस्तै विधामा १९७० देखि डेड दर्जन फिल्म र अन्य तीसौँ टेलिभिजन कार्यक्रममा खेलेका ६२ वर्षे कलाकार ताङ् गुओक्याङ्ले माओ त्से–तुङ्को भेषमा पनि अभिनय गरेका छन् ।
चन्द्रमणि गौतम
वरिष्ठ पत्रकार चन्द्रमणि गौतम बिगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा क्रियाशील छन् । पत्रकारिताका साथसाथै अनुसन्धान, अनुसन्धानदाता र बौद्धिक व्यवसायमा पनि उनको निरन्तर सक्रियता छ । विभिन्न मन्त्रालयमा करिब आधा दर्जन मन्त्रीहरुको सल्लाहकारको रुपमा पनि उनले काम गरिसकेका छन् ।
लेखकबाट थपके तपाईं मूलासँगै आउने पातहरू फोहोरमा फाल्नुहुन्छ ?
माघ ११, २०८१ शुक्रबार
दिनहुँ एक चम्चा घिउँ खादाँ फाइदै फाइदा
माघ ९, २०८१ बुधबार
के तपाई घाम ताप्दै हुनुहुन्छ ? यी कुरा ध्यान दिनुहोस
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार