गठबन्धन रहर होइन, राष्ट्रिय आवश्यकता होः कांग्रेस नेता केसी
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार १९:२२:८
बिद्यार्थी राजनीतिबाट खारिएका नेता हुन् राजेन्द्रकुमार केसी (राजन) । काठमाडाैंका स्थायी बासिन्दा केसी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान सांसद पनि हुन् । आवाजबिहीनहरुको आवाज बुलन्द गर्ने केसी हक्की स्वभावका नेता र स्पष्टवक्ताको रुपमा चिनिन्छन् ।
राजनीतिलाई पेशा नभई सेवा ठान्ने उनी असल नेता र समाजसेवी भनेर परिचित छन् । केसीले जसरी जनतासामू आफूलाई लोकप्रिय बनाएका छन् त्यसैगरी पार्टीभित्र पनि कुशल संगठन मानिन्छन् । उनै केसीसँग आमनिर्वाचनसँग केन्द्रित रहेर नेपालबहसका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः
अब पार्टी र संसद दुवैबाट तपाईहरु फुर्सद हुनुभयो होइन ?
अब प्रत्यक्षतर्फकाे बाँकी छ नि । त्यसको लागि आगामी असोज २३ गते उम्मेदवारी दिने हो । यसमा गठबन्धनभित्र छलफल भइरहेको छ । अहिलेसम्म टुंगिइसकेको छैन । गठबन्धनभित्र के कति सीटमा चित्त बुझाउने भन्न कुराको टुंगो लागिसकेको छैन । असोज २३ अगाडि त्यो टुंग्याएर सबै दलले आ–आफ्नो दलले प्राप्त सीट र ठाउँबाट उम्मेदवारी दिने हो । त्यसको लागि शीर्ष नेताहरुबीच व्यापक रुपमा छलफल, परामर्श भइरहेको छ ।
गठबन्धनभित्र सीट बाँडफाडमा त ‘भ्यागुताको धार्नी’ भयो नि, कहिले टुंगिन्छ त ?
पार्टी एक्लै चुनाव लड्दा त धेरै साथीहरु आकांक्षी हुन्छन् । तिनलाई चित्त बुझाउन धेरै गाह्रो हुन्छ । यहाँ त विभिन्न विचार, सिद्धान्त भएका र संसद पनि नमान्नेसम्मका पार्टीहरुसँग सँगै जानुपर्ने कुरा छ । त्यसरी जाँदा विभिन्न मापदण्डहरु बनाइएको छ । त्यसको लागि २०७४ सालको आमनिर्वाचन र गत स्थानीय निर्वाचनलाई पनि आधार मान्ने कुरा छन् । माओवादी साथीहरुको २०७४ सालको निर्वाचनलाई आधार मान्नुपर्छ भन्ने कुरा छ ।
२०७४ सालमा एमालेले जितेका ठाउँमा एकीकृत समाजवादीले पाउनुपर्छ भन्ने पनि छ । मधेसवादी र राष्ट्रिय जनमोर्चाका पनि आ–आफ्नै भनाइहरु छन् । ती सबैलाई हेरेर कुन क्षेत्रमा कुन दल बलियो छ भनेर पनि गहिरो छलफल गर्नुपर्ने छ । त्यसकारण पनि अत्यन्तै सम्वेदनशील र जटिल प्रक्रिया हो यो गठबन्धनमा सीट बाँडफाँड । यी र यस्ता विषयलाई ध्यानमा राखेर छिट्टै टुंग्याउनुपर्छ । त्यसको लागि गठबन्धन दलका शीर्ष नेताहरु लागिपर्नुभएको छ ।
नागरिकता विधेयक त राष्ट्रपतिकोमा गएर फेरि अस्वीकृत भयोे नि ?
नागरिकता विधेयकको सन्दर्भमा भन्नुपर्दा पहिला नेकपा एमाले नेतृत्वकै सरकार हुँदा २०७२ सालमा अध्यादेशमार्फत जन्मसिद्धका आधारमा नागरिकता दिने भनेर ल्याइएको हो । त्यतिबेलाको सरकारले तराईमा जन्मसिद्धका आधारमा नागरिकता दिने भनेर अध्यादेशमार्फत विधेयक ल्याएको थियो । त्यसबेला केहीले जन्मसिद्धका आधारमा नागरिकता पाउने भनेर संविधानमै व्यवस्था गरेको छ । त्यसबेला उमेर नपुगेका ५, ६ हजार व्यक्तिहरु जो थिए तिनलाई संविधानमा व्यवस्था भएअनुसार दिने भनेर यो विधेयक ल्याइएको हो । त्यतिबेला केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत नागरिकता विधेयक ल्याएको थियो । नागरिकता जस्तो विषय अध्यादेशमार्फत पारित गर्नुहुँदैन संसदबाट निर्णय हुनुपर्छ भनिएको थियो ।
२०७२ सालको केपी ओली सरकारको पालामा भएको व्यवस्थालाई फलोअप गरेको मात्रै हो । नयाँ केही गरेको छैन यो संविधानमा जे उल्लेख छ त्यसै अनुरुप संसदले राष्ट्रपति कार्यालय पठाएको हो । त्यसमा राष्ट्रपतिजीले केही जिज्ञासा राख्न खोज्नुभयो । त्यसपछि फेरि संसदमा छलफल गरियो । संसदमा नागरिकता सम्बन्धी विधेयकमा ८४ जना सांसदले बोल्नुभयो । त्यसपछि राष्ट्रपतिकोमा पठाइयो । संविधानमै संसदले केही विधेयक राष्ट्रपति कार्यालय पठाउँदा उहाँलाई जिज्ञासा लागेमा संसदमा पठाउन सक्ने भनेर संविधानमै व्यवस्था छ ।
यसरी दोस्रो पटक संसदले पारित गरेर पठाएपछि संवैधानिक राष्टपतिका केही बाध्यताहरु छन् । संविधानलाई टेकेर जाँदा उहाँको चाहनाअनुसार नहुन सक्छ । तर, उहाँको चाहनाअनुसार संविधान बाझिएको छ । उहाँले आफ्ना केही जिज्ञासा भए यसो गरौं भन्न सकिने तर सार्वभौम अधिकार सम्पन्न संसदले गरेको निर्णय रोक्न मिल्दैनथ्यो तर राष्ट्रपतिले विधेयक अस्वीकृत गरेर असंवैधानिक काम गर्नुभयो । यसमा संविधानभन्दा ठूलो राष्ट्रपति, प्रधानमन्त्री, दल कोही पनि हुन सक्दैनन् ।
चुनावको मुखमा नागिकता विधेयक पास भएन अब तराईंमा आन्दोलन होला नि ?
यो त ओली सरकारको पालामै जन्मसिद्धका आधार जसका बाबु, आमाले नागरिकता पाएका छन् । उनीहरुका छोराछोरीले पाएका छैनन् । ठ्याक्कै बुझ्ने भाषामा भन्नुपर्दा जसले जन्मसिद्धको आधारमा नागरिकता दिने भन्ने अध्यादेश ल्याइयो । त्यसरी जन्मसिद्धको आधारमा नागरिकता दिने भनेर २०७२ सालमा ओली सरकारले अध्यादेश ल्यायो । त्यतिबेला ती व्यक्तिहरु १४, १५ वर्षका थिए १६ वर्ष नभइकन नागरिकता दिन मिलेन ।
त्यसबेला ६, ७ हजारले जन्मसिद्धका आधार नागरिकता लिए । त्यसमा नागरिकता जस्तो विषयमा अध्यादेशको भरमा दिनुहुँदैन भनेर कसैले सर्वोच्चमा उजुरी हाले । त्यसलाई नागरिकता जस्तो विषय अध्यादेशले पारित गर्न पाइँदैन । त्यसलाई संसद्मै छलफल हुनुपर्छ भनेर सर्वोच्च अदालतले निर्णय ग¥यो । त्यसपछि नागरिकता जस्तो संवेदनशील विषय अध्यादेशले पारित गरेर हुँदैन भनेपछि त्यो प्रक्रिया रोकियो । अहिलेको संसदले त्यहीं प्रक्रियालाई अगाडि बढाएको हो । यो कुनै नयाँ ढंगले अहिलेको सरकार र संसदले ल्याएको होइन ।
त्यसोभए यी विधेयकहरुले अल्झाउँदैन, समयमै चुनाव हुन्छ हो ?
चुनाव नहुने कुरै छैन । अध्यावधिक निर्वाचन नै नहुने त कल्पनै गर्न सकिँदैन नि । आवधिक निर्वाचन के आधारमा खलबलिन्छ ? लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो । नेपाली कांग्रेसले २०५४ सालदेखि हुन नसकेको स्थानीय चुनाव २०५४ सालमा गर्यो । त्यो शेरबहादुर देउवाकै नेतृत्वमा भएको हो । २०७४ सालमा पनि हामीले मंसिर १० र २१ मा चुनाव गर्यौं । त्यसपछि शेरबहादुर देउवाले स्थानीय चुनाव पनि गर्नुभयो । त्यसपछि जिल्ला विकासको पनि सबैतिर चुनाव भयो । अहिले प्रदेश र केन्द्रको चुनाव तोकेका छौं । निर्वाचन आयोगले तयारीमा छौं भनेर मतपत्र छापिसकेको छ । चुनावको लागि आवश्यक स्रोत, साधन र जनशक्तिको लागि पनि सरकार जुटिसकेको छ । जनताहरु मतदान गर्न आतुर छन् अनि चुनावै नहुनुपर्ने कारण के छ र ? आवधिक चुनावै रोकिनुपर्ने त्यस्तो खासै कारण छ जस्तो त मलाई लाग्दैन ।
अब संसद त अन्त्य हुने होइन र किन स्थगित मात्रै भनियो ?
अन्त्य नै भन्दा पनि हुन्थ्यो तर अहिलेलाई स्थगित भनिएको छ । अब यो असोज २३ गते उम्मेदवारी मनोनय भइसकेपछि स्वतः अन्त्य हुन्छ । तपार्इंले भनेजस्तो यसलाई अन्त्य नै भन्दा पनि हुन्थ्यो । कसैकसैले फेरि लौ पाँच वर्षे अवधि पुरा भएको छैन भनेर मुद्दामामिलातिर पनि जान सक्छन् । फागुन २१ गते मात्रै शपथ गराएकाले पाँच वर्ष पुगिसकेको छैन । त्यो अप्ठ्यारालाई मध्यनजर गरेर स्थगित भनिएको हो । शपथ गराएको अवधिलाई मान्दा साँढे चार वर्ष मात्रै हुन्छ । त्यसलाई हेरेर पनि स्थगित भनिएको हो । तर, अन्त्य जस्तै हो हामीहरु अब यहीं संसद बस्नेगरी जाँदैनाैं ।
नेपाली कांग्रेसमा आन्तरिक कहल देखिन्छ, त्यसले चुनाव जित्न गाह्रो पर्दैन ?
यो पुरानो लोकतान्त्रिक पार्टीमा धेरै साथीहरुले लोकतन्त्र प्राप्ति र पुनप्र्राप्तिका लागि लामो संघर्ष, बलिदानी र योगदान गर्नुभएको छ । पुराना योगदान गरेका नेतासँगै धेरै नयाँ साथीहरु पनि आउनुभएको छ । त्यसैगरी महिला, जनजाति, आदिवासी, अल्पसंख्या, मधेसी, मुस्लिम, थारु, उत्पीडित, पिछडालगायत साराले नेपाली कांग्रेसप्रति आशा र भरोसा राख्नुभएको छ ।
आफ्नो योगदानको आधारमा जनप्रतिनिधि भएर जनताको सेवा गर्छु भनेर इच्छा, आकांक्षा राख्नु आफैमा राम्रो कुरा हो । पार्टी पनि त्यहीं हिसाबले अगाडि बढेको हो । पुरानो र ठूलो पार्टी भएकाले इच्छा, आकांक्षासँग असन्तुष्टि पनि हुन्छन् । धेरै नेता, कार्यकर्ता भएको पार्टीमा सबै ठाउँमा चुनाव लड्दा त सीट पुग्दैन । फेरि गठबन्धन भएपछि सीटै कम हुन्छ । त्यसपछि असन्तुष्टि र असहमति त हुन्छन् । त्यसभित्रबाट मिलाएर जानुपर्ने अहिलेको बाध्यता छन् । त्यसमा साथीहरुले पनि बुझ्नुपर्छ ।
ठ्याक्कै कांग्रेसको चाहीं कति सीटमा कुरा मिल्ला त ?
म सीट बाँडफाडको कमिटीमा छैन, त्यसैले ठ्याक्कै यति नै सीट भन्ने मलाई थाहा छैन । म केन्द्रीय सदस्य चाहीं हुँ तर सीट बाँडफाडमा छुइन । साथीभाइसँग कुरा बुझ्दा ९० को हाराहारीमा मिल्छ जस्तो लाग्छ । ९०, १००, ११० मा कुरा मिल्दा पनि कांग्रेसको लागि राम्रो होइन । एमाले र माओवादीलाई २०७४ सालमा जनताले दुईतिहाई हाराहारी बहुमत दिएर पाँच वर्षको लागि पठाएका थिए । उसले अशान्ति, भ्रष्टाचार, अन्याय, अत्याचारमा लिप्त भएर साढे तीन वर्ष हाराहारीमै विस्थापित भयो । दुई–दुई पटकसम्म प्रतिनिधिसभालाई भंग गर्यो । संसारमा एउटै सरकारले दुई–दुई पटकसम्म प्रतिनिधिसभालाई भंग गरेको उदाहरण छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।
त्यसकारण अहिलेको अवस्थामा कसैको स्पष्ट बहुमत नआउने र सरकार बनाउनको लागि कसै न कसैसँग मिल्नै पर्ने भएकाले चुनाव अगाडि गर्ने पनि पछाडि भन्ने भयो । आखिरी सरकार गठन गर्न गठबन्धनको आवश्यकता छ भने चुनाव अगाडि नै गरेर जाऔं भनेर गठबन्धन गरिएको हो । सरकार निर्माण गर्न बहुमत चाहियो । त्यसको लागि चुनाव अगाडि नै किन गठबन्धन गर्ने भन्ने भएपछि सभापतिजीले सबै साथीहरुसँग सरसल्लाह गरेर गठबन्धनमै जाने टुंगो भएको हो ।
कतिपय ठाउँमा कांग्रेसका एक्कै लड्ने भनेर कस्सिएका छन्, गठबन्धनका कारण असन्तुष्टि व्यापक छ, मिलाएर चुनाव जित्न धेरै गाह्रो हुँदैन ?
अहिलेको अवस्थामा साथीहरुलाई चित्त बुझाएर चुनाव जित्न धेरै गाह्रो छ । गठबन्धनका कारण धेरै साथीहरु अवसरबाट वञ्चित हुने अवस्था छ । त्यसले असन्तुष्टि ह्वात्तै बढ्ने देखिन्छ । लामो समयदेखि जनताको सेवा गर्दै आउनुभएको, जनतामाझ आफ्नो धरातल बनाउनुभएको, पार्टी संगठनमा लाग्नुभएको साथीहरुले टिकट नपाउँदा धेरै ठाउँमा असन्तुष्टि हुन्छ । तर, यो गठबन्धन ओली प्रवृत्तिको विरुद्धमा गरिएको राष्ट्रिय आवश्यकता हो ।
केपी ओलीले त कांग्रेस नेकपा एमालेसँग एक्लै चुनाव लड्न डराएर गठबन्धनको शरणमा पुगेको भनेका छन् नि, त्यसलाई के भन्नुहुन्छ ?
उहाँले चाहीं २०७४ सालमा माओवादी, जनमोर्चादेखि राप्रपा कमल थापासम्म गठबन्धन गरेर जाँदा डराको नहुने । अनि कांग्रेसले गठबन्धन गर्दा चाहीं एमालेसँग डराएको हुन्छ ? अहिलेको चुनावी प्रणालीले नै तालमेलको आवश्यकता महसुस गर्दछ । सरकार गठनका लागि जसरी पनि तालमेल गर्नैपर्ने हुन्छ । त्यसको लागि पछाडि गर्ने की अगाडि भन्ने हो । किन पछाडि गर्नु बरु अगाडि नै गरौं भनेर गठबन्धन गरिएको हो । कसैसँग डराएर पनि होइन त्यो चुनावी परिणामले देखिन्छ ।
जनताले पाँच वर्षको लागि दिएको जनमत थेग्न नसकेर तिनै वर्षमा कांग्रेसलाई सुम्पिनुभयो । हिजोका दिनमा केपीजीले संविधानमै नभएको कुरा ल्याएर दुई–दुईपटक संसद भंग गर्नुभयो । जुन कुरा संविधानमा सरकार बन्ने सम्भावना हुँदाहुँदै हाउस डिजल्भ गर्न पाइँदैन भनेर स्पष्ट लेखिएको छ । उहाँले लोकतन्त्र र संविधानलाई नै धरापमा पार्न खोज्नुभयो । भ्रष्टाचार, अनियमितता र अत्याचारका जुन हतखण्डा अपनाउनुभयो । त्यसकाविरुद्ध यो गठबन्धन हो ।
यो मुलुकमा कांग्रेसबिना लोकतन्त्र र लोकतान्त्रिक संविधान जीवित रहँदैन, हो ?
हो । संविधानको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि, केपी ओलीद्वारा मच्चाइएको भ्रष्टाचार र लुटतन्त्रबाट मुलुकलाई जोगाउनको लागि, स्थिर सरकार निर्माण गर्नका लागि, मुलुकमा समृद्धि र सुशासन कायम गर्नका लागि अहिलेको आवश्यकता हो यो गठबन्धन । त्यसकारण असन्तुष्टिका बीच पनि ‘मुटुमाथि ढुंगा राखी हास्नुप¥या’छ’ भन्ने नारायण गोपालको गीत अहिले कांग्रेसमा त्यही भएको छ । नेता, कार्यकर्ता खुशी नहँदानहुँदै पनि राष्ट्रिय आश्यकतालाई हेरेर गठबन्धनमा जानुपरेको हो ।
काठमाडौं १० बाट तपाईं सर्वसम्मत सिफारिस हुनुभयो, हो ?
मेरो क्षेत्रबाट साथीहरुले मलाई एकल सिफारिस गरेर पठाउनुभएको छ । पार्टीले पनि सिफारिस गरेको छ । एकल सिफारिस भएकाले अस्वस्थ प्रतिस्पर्धा पनि छैन । क्षेत्र र प्रदेशका साथीहरुले पनि सर्वसम्मत ढंगले सिफारिस गर्नुभएको छ । त्यसकारण पनि मलाई नेपाली कांग्रेसले न्याय गरेर टिकट दिन्छ भन्नेमा ढुक्क छु ।
काठमाडौं १० का जनताले तपाईंलाई नै भोट दिनुपर्ने कारण के ?
मलाई भोट दिनुपर्ने आधार त अब यस क्षेत्रका जनतासँग मेरो ३० औं, ४० औं वर्षको सामिप्यता छ । यस क्षेत्रमा तीनवटा फरक महत्व बोकेका नगरपालिकाहरु छन् । कीर्तिपुर नगरपालिका जहाँ नेवार जातिको बसोबास छ । यसले नेवार समुदायको भेष, भुषा, संस्कार, संस्कृति र परम्परालाई झल्काउने काम गरेको छु । मठमन्दिरले भरिभराउ यस नगरपालिका प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण मानिन्छ । उहाँहरुको त्यो भाषा, संस्कार, संस्कृतिको जगेर्नाको लागि मैले धेरै काम गरेको छु । त्यसैगरी दक्षिणकाली धार्मिक नगरपालिका पनि हो । देशैभरिका भक्तजनहरु दक्षिणकाली माताको दर्शन आउँछन् । पर्यटकीय दृष्टिले पनि यो नगरपालिका महत्वपूर्ण मानिन्छन् । यहाँका मठमन्दिर, संस्कार, संस्कृति र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । त्यसको निर्माण, पुनःनिर्माण र विकासको लागि धेरै काम गरेको छु । अर्को चन्द्रागिरी नगपालिकाले छुट्टै महत्व बोकेको छ । यहाँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपले धनी मानिन्छ । पर्यटकीय दृष्टिले चन्द्रागिरी अझ उपत्यकाकै महत्वपूर्ण स्थल कहलिएको छ । त्यहाँबाट उपत्यकाको दृष्यावलोकन छुट्टै स्थान ओगटेको छ । त्यसको वृत्तिविकास र पर्यटन पवद्र्धनका लागि पनि मैले धेरै काम गरेको छु ।
यी तिनै नगरपालिका विभिन्न मठमन्दिर र धार्मिक तीर्थस्थलसँगै कृषिको अथाह सम्भावना भएका ठाउँहरु हुन् । यहाँका नासपाती खेतीदेखि अन्य तरकारी, फलफूल र कृषि उत्पादनमा महत्वपूर्ण रहेको छ । कृषिको अथाह सम्भावना भएकाले वैज्ञानिक कृषि उत्पादनलाई अगाडि बढाएको छु । त्यसैगरी चन्द्रागिरी नगरपालिका क्षेत्रफलका हिसावले पनि ठूलो र रमणीय नगरपालिकामा गनिन्छ । त्यहाँ केवल कारदेखि अन्य उद्योगधन्दाहरु सञ्चालित छन् । यहाँ पुरापूर्वकालदेखि बसोबास गर्दै आएकादेखि बाहिरबाट आएर बसोबास गर्ने धेरै मतदाताहरुको घर–घरमा पुगेर आवश्यकता पहिचान गरी काम गर्ने जमर्को गरेको छु । त्यसैगरी भौतिक पूर्वाधार विकासमा पनि अहोरात्र खटेर काम गरेको छु । त्यसैले पनि मलाई यहाँका नागरिकहरुले मत दिनुहुन्छ भन्ने विश्वास छ । खासगरी भ्रष्टाचारसहित सुशासनयुक्त समाज निर्माणको लागि अगाडि बढेको छु । म भ्रष्ट्राचार गर्दिन, यदि त्यसो गरेको थाहा पाउनुभयो भने जे–जस्तो कारबाही गरेपनि भोग्न तयार हुने प्रतिवद्धता जाहेर गर्दछु ।
विदेशिने युवा शक्तिलाई देशमै रोक्न के गर्नुपर्ला ?
नेपालका युवा जनशक्तिलाई स्वरोजगारमुलक व्यवसायिक सीपयुक्त शिक्षाको खाँचो छ । त्यसको लागि प्राविधिक ज्ञान, सीप र क्षमताको विकास गर्नुपर्छ । त्यसका लागि हाम्रो मुलुकमा कलकारखानाहरु कम छन् । कृषि उत्पादनलाई जोड दिनुपर्छ । वैज्ञानिक कृषि उत्पादनको अवधारणाले युवा जनशक्तिलाई रोजगारी सिर्जना हुन्छ । जति पनि युवाहरु विदेशिएका छन् उनीहरु बाध्यताबस गएका हुन् । कसैलाई पनि आफ्नो देश, घर छोडेर विदेश जाने रहर हुँदैन । त्यसको लागि कृषि र पशुपालन महत्वपूर्ण कडी हो । त्यसमा राज्यले ध्यान दिनुपर्छ । त्यसको लागि आवश्यकता र भूगोलको सम्भावना हेरेर नयाँ कृषि योजना ल्याउन जरुरी छ ।
युवाहरु जबसम्म जाग्दैनन् तबसम्म देश विकास हुँदैन । युवाहरुलाई रोजगारी दिलाउन आफ्नै स्रोत र साधनको प्रयोग गरेर अगाडि बढ्नुपर्छ । मैले पहिला पनि भन्दै आएको छु, ‘स्रोतमा आधारित अर्थतन्त्र, कच्चा पद्र्धाथमा आधारित उद्योग यी दुईवटालाई अगाडि बढाउनुपर्छ । पर्यटनको अथाह सम्भावना छ भने त्यहाँ कृषिको कुरा गरेर हुँदैन पर्यटनको कुरा गर्नुपर्छ । कृषि उत्पादन हुने ठाउँमा पर्यटनको कुरा गरेर हुँदैन त्यहाँ उत्पादनलाई जोड दिनुपर्छ । अर्को जडिबुटीको सम्भावना भएको ठाउँमा खेतीको कुरा गरेर हुँदैन । त्यसरी ठाउँ, भूगोल र सम्भावना पहिचान गरेर अगाडि बढ्दा युवा वर्गलाई स्वरोजगारमुलक बनाउन सकिन्छ । आउँदा दिनमा त्यसको लागि लागिपर्ने छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार