संस्थापन पक्षले एकलौटी ढंगले टिकट वितरण गरेको महसुस भयो भने अमरसिंह पुन चुनाव लड्दैन
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार २३:५१:९
राजनीतिसँगै समाजसेवाबाट खारिएका नेपाली कांग्रेसका स्थापित नेता हुन् अमरसिंह पुन । रोल्पाका स्थानीय बासिन्दा पुन १४ औं महाधिवेशनबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको सभापतिमा चुनिएका छन् । कुशल पार्टी संगठक र असल समाजसेवी भनेर चिनिन् सभापति पुन गरीब, निमुखा, उत्पीडित वर्ग र समुदायको आवाज बुलन्द गर्ने हक्की स्वभावका नेता र स्पष्टवक्ताका रुपमा परिचत छन् ।
अन्य पार्टीसँगभन्दा पनि आन्तरिक गठबन्धनलाई जोड दिने पुन पार्टीभित्र त्याग, तपस्या र बलिदानी गर्ने साथीहरुमाथि न्याय हुनुपर्नेमा जोड दिन्छन् । संविधानसभा सदस्यसमेत रहेका सभापति पुन पार्टी संगठनलाई केन्द्रमा राखेर राजनीतिमा होमिएका तथा जनतासामु लोकप्रिय र इमानदार साथीहरुले टिकट पाउनुपर्नेमा जोड दिन्छन् । यदि नेतृत्वले त्यस्ता नेताको पहिचान गरी न्यायोचित वितरण नगरे आफूपनि चुनाव नलड्ने प्रण गर्दछन् । उनै नेता पुनसँग नेपालबहसका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः
तपाईं रोल्पा र बर्दियाबाट सिफारिस हुनुभएको छ, कहाँ चुनाव लड्नुहुन्छ ?
मलाई साथीहरुले सम्मान गरेर बर्दियाबाट पनि सिफारिस गर्नुभएको छ । तर, म आफ्नो गृह जिल्ला रोल्पाबाट नै चुनाव लड्छु । म अहिले रोल्पाबाट प्रदेशसभा सदस्यमा चुनाव लड्दै छु ।
गठबन्धन छ, पार्टीभित्र धेरै त्यागी नेता कार्यकर्ता रुष्ट छन् त्यसलाई कांग्रेसले कसरी मिलाउँछ त ?
अन्य पार्टीसँगको गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो । तर, नेपाली कांग्रेसमा पार्टीभित्रको गठबन्धन अति आवश्यक छ । पार्टीभित्र शक्ति सन्तुलन मिलाउन अत्यन्तै जरुरी छ । मतभारको आधारमा पार्टीभित्र सन्तुलन नमिलाउँदासम्म जति गठबन्धन गरेपनि चुनाव जित्न धेरै गाह्रो छ । जहाँ कांग्रेसको भोट २० हजार छ, त्यहाँ ५ हजार पनि भोट नभएका पार्टीसँग गठबन्धनका नाममा अन्य पार्टीलाई टिकट दिएर चुनाव जित्ने कल्पना पनि नगरे हुन्छ । किनभने २० हजार भोट कांग्रेसको भएको ठाउँमा ५ हजार भोट भएका पार्टीलाई टिकट दिएर त्यहाँ चुनाव जितिन्छ भनेर गठबन्धन पार्टीका शीर्ष नेताहरुले नसोचे हुन्छ ।
गठबन्धनबाट पार्टीमा जे–जति सीट भागमा आउँछ । त्यसलाई यो पक्ष, ऊ पक्ष, तेरो, मेरो नभनी जो त्यो क्षेत्र, भूगोलमा लोकप्रिय छन् । जसले पार्टी, नेता, कार्यकर्ता र जनतामा स्वच्छ छविको छाप छोडेका छन् । जसले लामो समय पार्टीमा इमान्दारीपूर्वक योगदान गरेका छन् । लामो समयदेखि लड्भिड गरेर पार्टी संगठनलाई जीवन्त बताएका छन् । जसले पार्टीभित्र धेरै दुःख गरेर पनि अवसर पाएका छैनन् । तिनको समानुपातिकदेखि संघ र प्रदेशमा उचित मूल्यांकन हुनुपर्छ ।
त्यसको लागि उपयुक्त मापदण्ड खडा गरेर पार्टीभित्रको सन्तुलन मिलाउनको लागि हामीले वैज्ञानिक ढंगले टिकट वितरण गर्न आवश्यक छ । त्यसमा शीर्ष नेताहरुले ध्यान दिनुभयो भने मात्रै हामी चुनाव जित्न सफल हुन्छौं । हामीले टिकट दिँदा यो मेरो गुटको, त्यो उसको गुटको भन्दा पनि पार्टीका राम्रा व्यक्तिलाई छनोट गर्न सक्यौं भने मात्रै चुनाव जित्न सकिन्छ । पार्टीमा लामो योगदान गरेका व्यक्तिलाई प्रत्यक्षमा टिकट दिन सकिएन भने समानुपातिकमा राखेर जनताबीचमा लान सकियो भने कांग्रेसलाई फाइदा हुन्छ ।
संस्थापनइतर पक्ष एक्लै चुनाव जित्न सकिन्छ भनेर कस्सिएका छन्, तपाईं त्यसको नेता, के भन्नुहुन्छ ?
पार्टीले गठबन्धन गरेर जाने भनेर निर्णय गरिसकेपछि अब एक्लै चुनावमा जाने कुरा सकियो । अब गठबन्धनको विकल्प छैन । तर, गठबन्धन गर्दैगर्दा ३० हजार मत हुनेको ठाउँमा १ हजार मत भएकोलाई टिकट दिएर त्यसमाथि २९ हजार मत खन्याउन अलि स्वाभाविक नहुने भएकाले जहाँ जुन पार्टीको संगठन बलियो छ । त्यो ठाउँमा त्यही पार्टीलाई उभ्याउनुपर्छ । यदि मतभार कांग्रेसकै कम छ भने ५० सीट लिनपनि तयार हुनुप¥यो । अरु पार्टीले पनि खाली गठबन्धनको नाममा सीट मात्रै ओगट्ने चुनाव जित्ने आधार छैन भने ठूलो घाटा हुन्छ ।
ठिकै छ, २० हजार मत भएको पार्टी र १५ हजार मत भएको पार्टीबीचमा अलिअलि यताउता हुँदा पनि जित्ला । तर, ३० हजार मत एउटा पार्टीको छ, अर्को ५ हजार छ, कसैको २ हजार छ, कसैको १ हजार भएको ठाउँमा त्यो ३० हजारवालालाई दिइएन भने कसरी चुनाव जित्छ ? त्यसकारण त्यो ५ हजार, २ हजार १ हजार मतभार भएका पार्टीलाई ३० हजार भएकाले भोट हालेर जिताउन सकिँदैन । १ हजारमा २९ हजार अरुबाट खन्याउँदा पोखिएर जान्छ । गठबन्धनको आधारमा सीट बाँडफाड गर्दा कुट पार्टीको संगठन कुन ठाउँमा बलियो त्यसको आधारमा दिनुपर्छ ।
गठबन्धन भएर मात्रै हुँदैन पार्टीको मतभार र उम्मेदवारको लोकप्रियतालाई पनि ध्यान दिनुपर्छ, हो ?
त्यो त भर्खरै सम्पन्न स्थानीय निर्वाचनले नै देखाएको छ । गठबन्धन गरिएको छ चुनाव जितिहालिन्छ भनेर ढुक्क भयौं । जहाँ गतिलो ढंगले गठबन्धन गरियो ती धेरै ठाउँमा हामीले हार खानुपर्यो । संघ र प्रदेश निर्वाचनमा पनि उम्मेदवारी चयन गर्न पार्टीको मतभार अनुसार सीट बाँडफाँडमा ध्यान दिइएन भने त्यहीं दूर्दशा भोग्नुपर्छ । त्यसैले गठबन्धनभित्रका शीर्ष नेताहरुले बुझ्नुपर्ने के हो भने जहाँ जुन पार्टीको नेताले टिकट पाएपनि हाम्रै पार्टीको हो भन्ने भावनाले भोट हाल्नुपर्यो । जस्तो कांग्रेस नेता उठेको ठाउँमा अन्य दलले आफ्नै पार्टीको ठान्नुपर्यो । अन्य पार्टीका नेता उठेको ठाउँमा पनि कांग्रेसले हाम्रै पार्टीको नेताजत्तिकै हो भनेर ठान्नुपर्यो । गठबन्धनका नेताहरु जुनजुन ठाउँमा जो जो उठेका छन् । उनीहरुलाई गठबन्धनभित्रका दलका नेता, कार्यकर्ताले आफ्नै दलको नेता जस्तै ठानेर सहयोग गरियो भने चुनाव जितिन्छ नत्र तेरो दल, मेरो दल, उसको दल भनेर छुट्ट्याउने हो भने चुनाव जित्न जाह्रो हुन्छ ।
गठबन्धनले राम्रोसँग चुनाव जित्ने हो भने आफ्नो पार्टीको मतभार अनुसार सीट लिएर लड्नुपर्यो । होइन गठबन्धन छँदैछ त्यसै जितिन्छ भनेर तेरो पार्टीलाई यति सीट, मेरो पार्टीलाई यति सीट भनेर बार्गेनिङ गरेर बस्नुपर्यो । यहाँ मैले कांग्रेसलाई ठूलो अरुलाई सानो भन्न खोजेको होइन । जहाँ जुन पार्टी, व्यक्ति बलियो छ । त्यो ठाउँ, भूगोल र जनताको आवश्यकता हेरेर उम्मेदवार खडा गर्नुपर्यो । गठबन्धनमा संलग्न पार्टीहरुले पनि आफ्नो पार्टीको मतभार अनुसार त्यो क्षेत्र, भूगोल लिनुपर्यो । जस्तो कांग्रेसको मत १ हजार छ अर्को पार्टीको २० हजार छ भने कांग्रेस प्रदेश लिएर संघमा त्यो २० हजारवाला पार्टीलाई दिनुपर्यो । कांग्रेसको २५ हजार मतभार छ अरुको जोड्दा ५ हजार पुग्दैन भने त्यहाँ कांग्रेसलाई संघ छोड्नुपर्यो अन्य दलहरुले आफ्नो संगठनको आधारमा प्रदेश लिनुपर्यो । शीर्ष नेताहरु बसेर तेरो पार्टी ठूलो कि मेरो पार्टी ठूलो भनेर हानथाप गर्ने होइन मतभारको आधारमा न्यायोचित वितरण हुनुपर्छ । त्योसँगै पार्टीभित्रको आन्तरिक गठबन्धनमा पनि सन्तुलन मिलाउन सक्नुपर्छ ।
तपाई लुम्बिनी प्रदेशको सभापति, कांग्रेसमा स्पष्ट दुई पक्ष छन्, तपाईंका पक्षलाई कसरी सन्तुष्ट पार्नुहुन्छ त ?
इच्छा, आकांक्षा राख्ने सबै साथीहरुले पाउन गाह्रो छ । गठबन्धनका कारणले सीट संख्या थोरै हुन्छ । पाउनुपर्ने साथीहरु धेरै हुनुहुन्छ । एउटा निर्वाचन क्षेत्रमा धेरैजना आकांक्षी हुनुहुन्छ । दिनुपर्ने एउटालाई हुन्छ । त्यसरी दिँदा त्यहाँ हुनेहरुमध्ये उपयुक्त पात्र छान्न सकियो भने विद्रोह कम हुन्छ । तर, त्यहाँ हुनेमध्ये सबैभन्दा कमजोर, अलोकप्रियलाई दिइयो भने त सबै असन्तुष्ट हुन्छन् । त्यस्तो भयो भने मेरो मात्रै होइन सबै पक्षका असन्तुष्ट हुन्छन् । त्यसले थोरै सीटमा पनि क्षेत्र, भूगोल र जनताका आवश्यकतालाई नजिकबाट नियाल्ने, समाजमा स्वच्छ छवि भएको नेता छान्न सक्नुपर्छ । पुराना, त्यागी, इमान्दार, पार्टी संगठनप्रति दत्तचित्त र जनताबीच लोकपियलाई छान्नुपर्छ । त्यसमा मेरो पक्ष, उसको पक्ष भन्दा असल कांग्रेसलाई टिकट दिनुपर्छ । त्यो भयो भने धेरै असन्तुष्ट साथीहरुलाई पनि चित्त बुझाउन सजिलो हुन्छ ।
सभापति शेरबहादुर देउवाले गठबन्धनको आडमा एकलौटी ढंगले आसेपासेलाई काखी च्यापे, समानुपातिकदेखि संघ र प्रदेशसम्मै सन्तुलन मिलाउन सकेनन् भन्ने गुनासो छ, यसलाई कसरी लिनुभएको छ ?
अहिलेको अवस्थामा उहाँले तेरो, मेरोको आधारमा एकलौटी ढंगले टिकट वितरण गर्नुभयो । त्यागी, पुराना र योगदान गरेका साथीहरुलाई वेवास्ता गर्नुभयो । गठबन्धनको आडमा जसलाई पायो उसलाई टिकट दिनुभयो भने जति गठबन्धन गरेपनि कुनै हालतमा चुनाव जितिँदैन । जस्तो उदाहरणको लागि मकवानपुर जिल्लालाई लिन सकिन्छ । त्यहाँ दुईवटा संघीय निर्वाचन क्षेत्र छन् । ४ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । यसरी ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा सभापति शेरबहादुर देउवाले एकलौटी आफ्ना आसेपासेलाई टिकट दिने । संघमा माओवादी र एकीकृत समाजवादीले लाने । अनि संस्थानपन इतर पक्षलाई कुनै ठाउँमा नसमेट्ने हो भने त्यो पक्ष किन त्यहाँ गठबन्धनलाई भोट हालेर बसिरहन्छ । त्यसमा त सन्तुलन मिलाउनुपर्यो नि । त्यसकारण कांग्रेसभित्र आन्तरिक सन्तुलन मिलाउन जरुरी छ । मैले मकवानपुरलाई उदाहरण दिएँ । यस्तो समस्या देशैभरि छ ।
आन्तरिक सन्तुलन मिलाउन सकिएन भने गठबन्धनको औचित्य छैन, हो ?
संस्थानपन पक्ष र इतरपक्षबीच सन्तुलन मिलाउन नेतृत्व चुक्यो भने गठबन्धनको औचित्य छैन । एक ठाउँ सन्तुलन बिग्रियो भने दश ठाउँ बिग्रिन्छ । दश ठाउँ बिग्रियो भने सय ठाउँ फैलिन्छ । त्यसले देशैभर हल्ला हुन्छ र कांग्रेस फेरि एउटा साइजमा खुम्चिन बाध्य हुनुपर्छ । जसरी कांग्रेसको पक्षमा वातावरण बनेको थियो त्यो खलबलिन सक्छ । त्यसकारण पार्टी नेतृत्वले विवेकपूर्ण ढंगले सोच, विचार गरेर पार्टी भनेको मेरो मात्रै होइन । यसमा सबैको त्यत्तिकै रगत, पसिना बगेको छ । सबै तह, तप्का, वर्ग, समुदायको योगदानबाट पार्टी बनेको हो । त्यसकारण सबैको भावना समेटेर अगाडि बढ्नुपर्छ भन्ने हेक्का राख्न जरुरी छ ।
तपाईं रोल्पाको कुन प्रदेशबाट चुनाव लड्दै हुनुहुन्छ ?
म रोल्पाको प्रदेश ‘ख’ निर्वाचन क्षेत्रबाट चुनाव लड्दै छु । खासमा मेरो दावी चाहीं अहिले पनि रोल्पाबाट संघीय निर्वाचन नै लड्छु भन्ने हो । तर, हामीले सबै पार्टीहरुसँग सरसल्लाह गर्दा हामीलगायत अन्य पार्टीभन्दा रोल्पामा माओवादी बलियो देखिएकाले गठबन्धनका साथीहरुलाई मिलाएर प्रदेश हामीहरुलाई दिनुहोस् संघमा माओवादीका साथीहरु लड्नुहोस् भनेर छलफल भइराखेको छ । त्यही रुपमै हामीहरु अगाडि बढिराखेका छौं । उहाँहरुले संघ तपाईंहरु लैजानुहोस् भन्नुभयो भने हामी दुवै प्रदेश छोड्न तयार छौं । उहाँहरु संघ लिनुहुन्छ भने हामीलाई दुवै प्रदेश छोड्नुपर्छ ।
यसरी देशैभरका प्रत्येक निर्वाचन क्षेत्रमा कहीं न कहीं कांग्रेस जानुपर्छ । कतै प्रदेश, कतै संघ गरेर हरेक निर्वाचन क्षेत्रमा कांग्रेसको उपस्थिति हुनुपर्छ । कांग्रेस गठबन्धनको प्रमुख पार्टी भएका कारणले पनि देशभरका सबै निर्वाचन क्षेत्रमा उपस्थिति अनिवार्य हुनुपर्छ । १६५ निर्वाचन क्षेत्रमा कांग्रेसको संगठन, उपस्थिति र नेतृत्व आवश्यक छ । यसरी देशभरका हरेक निर्वाचन क्षेत्रमा उपस्थिति हुनेगरी कांग्रेसले उम्मेदवारी तय गर्छ । त्यसरी न्यायोचित वितरण हुनुपर्छ । जहाँ संघ आउने निशिचत छैन, त्यहाँ संघको समानुपातिक सीट आउनुपर्छ । जहाँ प्रदेश प्रत्यक्ष आउने निश्चित छैन, त्यहाँ प्रदेश समानुपातिक आउने गरी सीट बाँडफाँड हुनुपर्छ भन्ने हाम्रो सुझाव छ । त्यही रुपमै हामीहरु काम गरिरहेका छौं ।
रोल्पाली जनताले तपाईं भोट हाल्नुपर्ने कारण के ?
म लामो समयदेखि राजनीतिमा लाग्दै गर्दा त्यहाँको समाजलाई परिवर्तन गर्छु भनेर अगाडि बढेको छु । राजनीतिसँगै समाजसेवामार्फत पनि रोल्पाको विकासमा योगदान गर्दै आएको छु । दश वर्षसम्मको द्वन्द्वले छियाँछियाँ भएको रोल्पालाई शान्ति प्रक्रियामा त ल्याइएको छ । त्यसलाई अझ नजिकबाट भाइचाराको सम्बन्धमा परिणत गर्नुछ । द्वन्द्वकै कारण अरु पार्टीसँग आन्तरिक एकता पनि त्यति राम्रै छैन, त्यसलाई प्रगाढ बनाउने । सबैंसँग आन्तरिक तालमेलद्वारा भाइचाराको सम्बन्ध विस्तार गर्ने । स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा पछाडि परेको रोल्पालाई अगाडि बढाउन जोड दिने । त्यसको लागि स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने हुन्छ । जसरी रोल्पाबाट द्वन्द्वको शुरुआत भयो अब रोल्पाबाटै शान्तिको बिऊ छर्ने । शान्त, समृद्ध र सुखी रोल्पालीको लागि मेरो अभियान चलिरहेको छ । त्यसकारण पनि मलाई रोल्पाका जनताले मत दिनुहुन्छ भन्नेमा ढुक्क छु ।
चुनाव लड्छु भन्नुभयो, कांग्रेसले ठ्याक्कै तपाईंलाई टिकट दिन्छ त ?
मलाई रोल्पा कांग्रेसका साथीहरुले सर्वसम्मत रुपमा एकल सिफारिस गर्नुभएको छ । सर्वसम्मत जिल्लाले सिफारिस गरेकाले केन्द्रले टिकट नदिने त कल्पना पनि गर्दैन । मलाई रोल्पाको भूगोलको आवश्यकता, जनताको चाहना मध्यनजर गरेर कांग्रेसका अग्रज नेता, कार्यकर्ताले व्यापक रुपमा छलफल, बहस गरेर एकल सिफारिस गर्नुभएको हो । संघ र प्रदेश दुवैतिरबाट मलाई पार्टीले एकल सिफारिस गरेको छ । त्यसकारण पनि केन्द्रले मलाई टिकट दिँदैन कि भन्ने कल्पना पनि गर्दिन ।
तपाईं संस्थापनइतर पक्षको नेताको हैसियतले देशभरका आफ्ना पक्षका साथीहरुको न्यायका लागि कसरी लड्नुहुन्छ ?
यदि योगदानका आधारमा सबै साथीहरुको न्याय हुनेगरी सम्मानजनक ढंगले टिकट वितरण गरिएन । संस्थापन पक्षले एकलौटी ढंगले टिकट वितरणमा हस्तक्षेप गरेको महसुस भयो भने अमरसिंह पुन पनि चुनाव लड्दैन । संस्थापन पक्षमा अत्यन्त राम्रा साथीहरु हुनुहुन्छ । इतरपक्षमा पनि राम्रो साथीहरु हुनुहुन्छ । अहिलेको अवस्थामा यो पक्ष, ऊ पक्ष नभनी जनतामा राम्रो छवि भएको चुनाव जित्न लोकप्रिय उम्मेदवारले टिकट पाउनुपर्यो । पार्टीमा लामो त्याग, तपस्या, बलिदानी गरेका साथीहरुमाथि न्याय भएन भने हामी जस्ता मान्छे किन चुनाव लड्नुप¥यो ? पार्टीका दिग्गज साथीहरुले टिकट पाउनुभएन भने अमरसिंह पुन चाहीं किन चुनाव लड्नुपर्यो । त्यसै बस्दा भइगयो नि ।
अहिले अर्को तरङ्ग आयो नि, राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरिदिनुभयो, के गर्ने अब ?
सम्मानित प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई-दुई पटक पारित भएर आएको विधेयकलाई राष्ट्रपतिले कुनै पनि मान्यतामा प्रमाणिकरण गर्नुपथ्र्यो । उहाँले कुन संवैधानिक विधिबाट फिर्ता गर्नुभयो ? त्यसमा पनि सोच्नुभएको होला । अब जो नागरिकताको समस्याबाट पीडित हुनुहुन्छ । उहाँहरुले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत आउने गरी भोट हालिदिनुहुन्छ । अनि संसदमा पनि बहुमत र राष्ट्रपति र प्रधानमन्त्री पनि हामी बनाउँछौं । त्यसपछि प्रमाणीकरण गर्छौं अरु त के उपाय छ र ? त्यसको लागि ती पीडित जनताले कांग्रेसलाई बहुमत दिनुपर्यो । अनि त्यसमा केही कमीकमजोर छन् भने औल्याएर आवश्यकता परिपूर्ति गर्छौं ।
चुनावभन्दा अगाडि यो चलाउन मिल्दैन, सदन पनि समाप्त भइसकेको छ । सबैं संयन्त्र चुनावतिर केन्द्रित भइसकेको छ । अब गाउँगाउँ, बस्तीबस्तीबाट कांग्रेस जिताउ अभियानमा जुट्नुपर्छ । त्यसपछि नागरिकता सम्बन्धी पीडित मात्रै होइन लोकतान्त्रिक गणतन्त्रलाईं संस्थागत गर्न, स्थानीय, प्रदेश र संघ तिनै तहका सरकारलाई व्यवस्थित, मर्यादित र संवैधानिक ढंगले अगाडि बढाउन कांग्रेसको नेतृत्व आवश्यक छ । त्यसैगरी युवाहरुलाई रोजगारयुक्त बनाएर कसरी अगाडि बढाउने, रोजगारी र अध्ययनको सिलसिलामा विदेशिने युवा जनशक्तिलाई कसरी देशमै रोक्न सकिन्छ, त्यसमा पनि कांग्रेसको आवश्यकता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २१, २०८१ सोमबार
जुम्लामा आगलागी हुँदा २ घर जलेर नष्ट
माघ २१, २०८१ सोमबार
विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
३ वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
माघ २१, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार