चुच्चे नक्सा संसदले पास गरेको हो, ओलीले होइन: प्रधानमन्त्री
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २१:५५:२१
२३ कात्तिक, दार्चुला । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नभइ संसदले पास गरेकाले यसमाथि सबैको भूमिका रहेको बताएका छन् । देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग कुरा गर्नुपर्नेमा जोड दिएका छन् ।
दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसद्ले एकमतले नेपालको नक्सामा राखेको भूमिलाई लिएर राजनीति गर्नुभन्दा पनि भारतसँग वार्ता गरेर फिर्ता ल्याउनुपर्ने बताए । उनले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउन सबै एकमत रहेको बताउँदै ओलीको दावी गलत भएको उल्लेख गरे ।
देउवाले भने, ‘अहिले ओलीबाट धेरै किसिमका अफवाह फैलाउने काम भइरहेका छन् । मैले सुनिरहेको छु ओलीजी आएर दार्चुलामा लिपुलेक फिर्ता ल्याउँछु भन्नुभएछ । उहाँले भनेर केही हुनेवाला छैन । यो कालापानी, लिपम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो भनेर संसद्ले एकलौटी भएर, एक आवाज भएर हामी सबैले पास गरेका हौं ।’
कालापानी, लिपुलेक र लिम्पियाधुराबारे एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रम फैलाएको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो । कालापानी, लिपम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो भनेर संसद्ले एकलौटी भएर पास गरेका भन्दै उनले अरुले गरेकै थिएनन् भनेर ओलीले मात्रै गरेको भन्ने झुटा कुरा भएको बताए । यसमा कांग्रेस, माओवादी सबै पार्टीको बराबर सहयोग र समर्थन रहेको देउवाको भनाइ छ ।
प्रधानमन्त्री देउवाले नक्सामा राखेको भूमिलाई फिर्ता ल्याउन भारतसँग छलफल गर्नुपर्ने बताए । उनले दार्चुला आएर कालापानी, लिपुलेक र लिम्पियाधुराको जिकिर गरेर भूमि फिर्ता नआउने बताए । ’भारतसँग कुरा गर्नुपर्छ । ओलीजीले बोलेर जाुनभएको छ, उहाँले दार्चुलामा होइन भारतसँग कुरा गर्नुपर्ने हो । तर, उहाँले गर्नु भएन । अहिले दार्चुला आएर फिर्ता हुने छैन । सबैलाई थाहा छ लिम्पियाधुरा, लिपुलेक, कालापानी कहाँ छ भन्ने । नेपालको भूभाग हो तर नेपालसँग छैन ।’
नेपालको भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल एकमत रहे पनि एमाले अध्यक्ष ओलीले राजनीति गरिरहेको र आफूले मात्रै नक्सामा भूमि राखेको भनेर भ्रम फैलाएको देउवाको भनाइ थियो । त्यस्तै, देउवाले लामो लडाइँपछि लोकतान्त्रिक व्यवस्था स्थापना भएको र त्यसलाई जोगाएर अघि बढ्न गठबन्धन भए बताए । ’आज राष्ट्रलाई अप्ठ्यारो ठाउँबाट ल्याइएको छ । लामो लडाइँपछि लोकतान्त्रिक व्यवस्था हामीले ल्याएका छौं । यसलाई बचाएर देशको विकास गर्नुछ । देशलाई समृद्ध, सम्पन्न बनाउनु छ । त्यसैले आज यो महत्वपूर्ण जिम्मेवारी गठबन्धनको काँधमा आएको छ,’ उनले भने ।
चुनावले राष्ट्रलाई कुन दिशामा लाने भन्ने निर्णय गर्ने भएकाले सचेत रहन पनि मतदातालाई देउवाले आग्रह गरेका थिए । उनले गठबन्धनमा रहेका दलहरू एकताबद्ध रहेकाले कसैमा पनि कुनै शंका नराख्न आग्रह गरेका थिए । ’हामीमा पूर्ण एकता छ । कुनै शंका नगरे हुन्छ । यो गठबन्धन वर्षौंसम्म चल्नेछ । नेपालको अहिलेको आवश्यकता हो । राष्ट्रिय आवश्यकता हो,’ उनले भने ।
दार्चुलामा प्रतिनिधिसभाको एउटामात्र निर्वाचन क्षेत्र छ । जहाँ कांग्रेसका नेता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू गठबन्धनका उम्मेदवार छन् । प्रदेशतर्फ दार्चुला (१) मा कांग्रेसका विक्रमसिंह धामी र दार्चुला (२)मा माओवादी केन्द्रका मानबहादुर धामी उम्मेदवार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार