रुसीहरुको अमेरिका मोह, बच्चा जन्माउन अमेरिका पुग्न थाले
इन्द्र रिजाल
चैत ८, २०७५ शनिबार १:४४:५९
मियामी । हरेक वर्ष सयौं गर्भवती रुसी महिलाहरु संयुक्तराज्य अमेरिकाको यात्रामा निस्कन्छन् । उनीहरु घुमघामका लागि अमेरिका आइपुगेका होइनन्, आफ्नो नवजात शिशुलाई अमेरिकी नागरिकले पाए सरहका सुविधा दिलाउने चाहना हो ।
यात्रा कागजात ‘ट्राभल डकुमेन्ट’ बनाउन उनीहरुले तस्करहरुलाई २० हजारदेखि कहिलेकाहिँ ५० हजार अमेरिकी डलरसम्म बुझाउँछन् । यो रकम उनीहरुको बसोबास र अस्पतालको बसाईमा समेत खर्च हुन्छ । बच्चा जन्माउन रुसीहरु प्रायः अमेरिकाको फ्लोरिडा राज्यमा आइपुग्छन् ।
निकै खर्चिलो भएपनि उनीहरुका बालबच्चाले रुसीहरुको तुलनामा बढी अवसर र यात्राको अवसर प्राप्त गर्नेछन् । यो व्यवस्थाबाट बच्चाहरुका बाबुआमाले पनि कुनै दिन निकै लाभ प्राप्त गर्ने सक्नेछन् ।
रुसीहरुको यो आगमन “बच्चा जन्माउने पर्यटक” को लहरकै रुपमा देखिएको छ । रुसीसँगै चिनियाँ र नाइजेरियाली आमाहरुको निकै ठूलो संख्या पनि बच्चा जन्माउन अमेरिका पुगको देखिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संविधानमा रहेको यस्तो व्यवस्था हटाउनुपर्ने बताउँदै आएका छन् । अमेरिकी संविधानले “जन्मको अधिकार” लाई मान्यता दिएको छ । अमेरिकी कानुनविदहरुबीच नै राष्ट्रपतिले संविधानको यो प्रावधान हटाउन पाउने वा नपाउने भन्ने बारेमा मतान्तर छ ।
अमेरिकी अधिकारीहरुले गर्भवतीलाई भिसा दिलाउने काममा संलग्नलाई बेलाबखत पक्राउ गरेका उदाहरण पनि छन् । पक्राउ परेका ती व्यक्तिहरुले अमेरिकामा बच्चा जन्माउन र नवजात शिशुलाई अमेरिकी नागरिक सरहको अधिकार दिलाउन प्रयास गरेको स्वीकारेका छन् ।
एसोसिएटेड प्रेससँग कुरा गर्दै एक रुसी आमाले भिसा आवेदन गर्दा नै बच्चा जन्माउन अमेरिका आएको बताइन् । ती महिलाले चिकित्सक र अस्पतालसँग गरिएको करार कागजात समेत देखाइन् ।
तर बच्चा जन्माउनकै लागि कति महिला अमेरिका आइपुग्छन् भन्ने कुनै आधिकारिक तथ्याँक छैन । अमेरिकी आप्रवास नीतिको कटु आलोचक संस्था आप्रवासन अध्ययन केन्द्रले गरेको एक अध्ययनमा सन् २०१२ मा करिब ३६ हजार विदेशी आमाले अमेरिकामा बच्चा जन्माएको देखाएको छ । बच्चा जन्मिएपछि उनीहरु आ–आफ्ना देश फर्किएको पनि उक्त अध्ययनमा उल्लेख छ ।
अमेरिका आएर बच्चा जन्माउनेमा सबैभन्दा ठूलो संख्या रुसी आमाहरुको छ । मियामी केयर कम्पनीमा कार्यरत आन्तोन याच्मेनेभले एपीसँग कुरा गर्दैै एक वर्षमा करिब १५० रुसी परिवारले कम्पनीबाट सेवा प्राप्त गरेको बताउनुभयो । मियामीको यसै स्थानको वरपर अरु करिब ३० वटा यस्ता कम्पनीहरु सञ्चालनमा छन् ।
दक्षिण फ्लोरिडा रुसीहरुबीच निकै लोकप्रिय स्थान हो । यो ठाउँमा मौसम केही राम्रो हुनुका साथै यहाँ रुसी भाषीहरुको बाक्लो उपस्थिति पनि छ । मियामीको उत्तरमा अवस्थित सन्नी आइसल बिचलाई त “सानो मस्को” कै रुपमा लिइन्छ ।
“वास्तवमै ३०,००० अमेरिकी डलरमा हामीले बच्चाका लागि अपार्टमेन्ट खरिद गर्न सक्दैनौं । तर हामीले उनका लागि स्वतन्त्रता दिन सक्छौं । यो यथार्थमा विशिष्ट अवसर हो,” ओल्गा जेम्ल्यानायाले बताए । उनको गत डिसेम्बरमा यहीँ छोरी जन्मिएकी थिइन् । उनी आफ्नो बच्चाको अमेरिकी पासपोर्टको प्रतीक्षा गरिरहेका छन् ।
अमेरिकी पासपोर्टका धेरै फाइदा छन् । बच्चा २१ वर्षको भएपछि त्यस्ता बच्चाले आमाबाबुको पनि ग्रिनकार्ड ‘अस्थायी आवास अनुमति’ का लागि आवेदन दिन पाउँछन् ।
अमेरिकी पासपोर्ट धारकले कुनै रुसीको तुलनामा यात्राको बढी अवसर पाउँछन् । अमेरिकीहरुले भिसा बेगर नै १८० भन्दा बढी मुलुकमा छोटो अवधिको भ्रमण अनुमति पाउँछन् । रुसीहरुले अहिले करिब ८० मुलुकमा मात्र निःशुल्क भिषामा भ्रमण गर्न पाइरहेका छन् ।
अर्कोतर्फ रुसी भिसा रहेका व्यक्तिले अमेरिका भ्रमण गर्नुपर्दा भिसाका लागि धेरै लामो अन्तर्वार्ता प्रक्रियाबाट गुज्रनु पर्दछ । अन्तर्वार्ताको मिति लिनकै निम्ति पनि महिनौं कुर्नुपर्ने हुन्छ ।
कतिपय रुसीहरुले मस्को र पश्चिमा मुलुकबीच तनाब वृद्धि भएमा रुसीहरुको यात्रामा अझ कठिनाइ आउने चिन्ता व्यक्त गर्दछन् । रुसले आफ्ना नागरिकलाई विदेश भ्रमणमा अझ कडाई पनि गर्न सक्ने सम्भावन पनि छ ।
“द्वन्द्व बढ्दै गएमा मानिसहरुले सावधानी अपनाउन थाल्छन् किनभने रुसले आफ्नो सीमामा कडाई गर्न सक्छ । यदि त्यस्तो अवस्था आएमा मानिसले अर्को मुलुकको पासपोर्ट पनि लिनेतर्फ विचार गर्न सक्छन्,” लाट्भीयास्थित रुसी वेबसाइट मेडुजामा कार्यरत पत्रकार इल्या झेगुलेबले बताए । यो अनलाइन रुसको आलोचक पनि हो ।
गत वर्ष झेगुलेबलाई पत्नीसहित क्यालिफोर्निया भ्रमणमा आउन दुई वटा कार बेच्नु परेको थियो । उनीहरुको क्यालिफोर्नियामै बच्चा जन्मिएको थियो ।
अमेरिकी नागरिक अधिकार यूनियन, कतिपय कानुनी अधिकार समूहहरु तथा पूर्व सभामुख पल रायनले ट्रम्पको प्रस्तावलाई समर्थन गरेका थिए । तर उनीहरुले राष्ट्रपतिको ठाडो आदेशबाट यो अधिकार कटौती हुनै नसक्ने बताउँदै आएका छन् ।
अमेरिकी आप्रवासन अध्ययन केन्द्रका कार्यकारी निर्देशक अमेरिकी संविधानको यो प्रावधान निकै हानिकारक रहेको बताउछन्। उनले भने, “हामीले भएभरको शक्ति लगाएर यो प्रावधान हटाउनेतर्फ कार्य गर्नु पर्दछ, किभने यसले नागरिक हुनुको केही अर्थ राख्दैन ।”
रुसी सांसद भ्लादिमिर झिरिनोभ्स्की बच्चा जन्माउनकै लागि विदेश जानबाट कुनै महिलालाई रुसले रोक्नै नसक्ने बताउछन् । । उनी यस्तो कार्यमा महिलाहरु जर्मनी र इजरायल पनि जाने गरेको बताउछन् ।
“ट्रम्पले ठीकै गर्न खाजेको हो , किनभने यो कानुनलाई एउटा चालबाजीका रुपमा प्रयोग गरिएको छ । अमेरिकामा केही दायित्व नै नभएका व्यक्तिले पनि नागरिक हुने चाहना राख्नु ठीक होइन ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति
माघ २१, २०८१ सोमबार
तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
माघ २१, २०८१ सोमबार
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
माघ २१, २०८१ सोमबार
आज वसन्त पञ्चमीः देशभर सरस्वतीको पूजा गरिँदै
माघ २१, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २१, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ २१, २०८१ सोमबार