विवादै विवादले वालिङ महोत्सव असफल बन्नेतर्फ उन्मुख, सार्वजनिक खरिद ऐन विपरीत ठेक्का सम्झौता
‘वालिङ नगरपालिका आयोजक होइन्’: नगर प्रमुख खाँण
मोहन गुरुङ
माघ २२, २०८० सोमबार १९:५:२२
२२ माघ, काठमाडौं । वालिङको माले बगरमा जारी आठौं वालिङ महोत्सव यति बेला “मियो बिनाको दाँई” बनेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) निकट उद्योगी, व्यापारी र व्यवसायीको प्रतिनिधित्वमा बनेको वालिङ उद्योग वाणिज्य संघ कार्यसमितिको नेतृत्व गरिरहेका अध्यक्षको फितलो कार्यसम्पादन शैलीले महोत्सव असफलताको बाटोमा जाने देखिएको हो ।
वालिङ उद्योग वाणिज्य संघको वर्तमान कार्यसमिति र महोत्सव मुल आयोजक समितिमा अल्पमतमा रहेका अध्यक्ष चेतनारायण श्रेष्ठलाई बहुमतमा रहेका एमाले समर्थक पदाधिकारीहरूले महोत्सवमा फनफनी नचाइरहेका छन् । वालिङ नगरमा कांग्रेस पार्टी कमजोर बनाएको, महोत्सवमा कांग्रेसको भूमिका शून्य बनाएको भन्दै अध्यक्ष श्रेष्ठको चर्को आलोचना हुँदै आएको छ ।
माघ १८ गते सम्पन्न उद्घाटन सत्रका प्रमुख अतिथिका बारेमा पार्टीसँग समन्वय र सहकार्य नगरेको भन्दै वालिङ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ट बनेका छन् । महोत्सवको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए । संस्थापन पक्षधर मानिने मुख्यमन्त्री पाण्डेलाई प्रमुख अतिथि बनाएको भन्दै वालिङ नगरको इतर पक्ष असन्तुष्ट बनेको छ । मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाउने विषयमा संघको बैठकमा बैठक पुस्तिका च्याताच्यात, खोसाखोस र हात-हालाहाल समेत भएको थियो । बैठक पुस्तिका च्यात्ने कांग्रेस इतर पक्षका सदस्य हुन् । अध्यक्ष श्रेष्ठका व्यक्तिगत स्वार्थ र स्वचालित भूमिकाले महोत्सवमा कांग्रेसको भूमिका गौण भएको छ । कांग्रेसबाट गएका अन्य कार्यसमितिका सदस्यहरू पनि निरीह बनेका छन् । यही विषयलाई लिएर नेपाली कांग्रेसको कोटाबाट उपाध्यक्ष बनेका खगेन्द्रप्रसाद अर्यालले पार्टीको जिम्मेवारीबाट राजीनामा दिनुले कांग्रेसभित्र कति असन्तुष्टि रहेछ भन्ने पुष्टि गर्छ ।
आठौं वालिङ महोत्सव सम्पन्न गर्न २८ वटा विभिन्न समितिहरु गठन भएका छन् । निवर्तमान अध्यक्ष शोभाकान्त पौडेल निर्देशक रहेको समितिको महोत्सवमा निर्देशकीय भूमिका विवादित पाइएको छ । गत सातौं संस्करणका निर्देशकहरूको तुलनामा पौडेलको भूमिका तुलना योग्य छैन, हस्तक्षेपकारी देखिएको छ । उनका अगाडि अध्यक्ष श्रेष्ठको भूमिका मिलेमतो पूर्ण छ । नेकपा (एमाले) वालिङ नगरका अध्यक्ष समेत रहेका पौडेलमा संस्थागत जिम्मेवारीको भूमिका भन्दा पार्टीको भूमिका बढी देखिएको पाइन्छ । संघ र महोत्सवको स्वार्थमा भन्दा पार्टी स्वार्थमा बढी केन्द्रित भएको गुनासाहरू छरप्रष्ट रुपमा देखिएका छन् । यद्यपि नेपालबहससँगको कुराकानीमा शोभाकान्त पौडेलले आफू अरू कुनै स्वार्थमा केन्द्रित नभइ महोत्सवकै काममा लागिरहेको दावी गरेका छन् । उनले भने, ‘मैले मेरो ड्युटी पुरा गरिरहेको छु । मलाई दिएको जिम्मेवारी निभाइरहेको छु ।’
महोत्सव सल्लाहकार समितिका संयोजक दीलिप्रताप खाँणले प्रमुख अतिथि लगायतका विषयमा संघ अध्यक्ष एवं महोत्सवका संयोजकले कुनै सल्लाह नगरेको बताएका थिए । तर, प्रमुख अतिथिको विवादका बाबजुद खाँण आफैंपनि प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेलाई निमन्त्रणा गर्न गएको पाइएको छ ।
कांग्रेसभित्रको अन्तरिक द्वन्द्व, कार्यसमितिमा अध्यक्ष अल्पमत र बहुमत घमण्ड गर्ने पदाधिकारीले गर्दा महोत्सवको जुन उचाइ हुनुपर्ने हो, त्यो हुन सकेको छैन । कहिले महोत्सव स्थलको विवाद, कहिले प्रमुख अतिथिको विवाद, कहिले बैठकमा हात-हालाहाल, कहिले कुर्सी तोडफोड र कहिले प्रवेश पासको विवादै विवादले वालिङ महोत्सव असफलताको दिशामा जाने पक्का पक्की छ ।
उद्योग वाणिज्य संघ औपचारिकतामा मात्रै आयोजक !
आठौं संस्करणकाे वालिङ महोत्सवको आयोजक बंगलामुखी नेपाल एम्युजमेण्ट प्रा.लि हो । तर, प्रचारप्रसारमा आयोजक वालिङ उद्योग वाणिज्य संघ महोत्सव आयोजक समिति र वालिङ नगरपालिका भनि नागरिकलाई झुक्याइएको छ । वालिङ उद्योग वाणिज्य संघले बंगलामुखीसँग ६५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँमा महोत्सव गर्न ठेक्का दिइएको हो । संघले उद्घाटन सत्र र समापन सत्र सञ्चालन गरीदिने गरी सम्झौता भएको थियो । बाल उद्यान, टिकट, स्टल, कलाकार लगायत महोत्सवभित्र हुने सबै इभेन्टहरु बंगलामुखीकै हुन् । चार सय स्टल मध्ये तीनसय ५० वटा स्टल ठेकेदारको हो ।
वालिङ नगरपालिकाका प्रवक्ता पदमराज गुरुङले नगरपालिकालाई आयोजक बनाएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । प्रवक्ता गुरुङले ‘नगरपालिका आयोजक हुने विषय मैले बाहिर बाहिरबाट थाहा पाएको हो । प्रमुख र उपप्रमुखले यस विषयमा केही जानकारी गराउनु भएको छैन ।’ आयोजकको विषयमा कार्यपालिका बैठकबाट पास हुनुपर्नेमा नभएको र कुनै पनि वडाअध्यक्षहरूलाई थाहा नभएको उनले बताए ।
‘वालिङ नगरपालिका आयोजक होइन्’: नगर प्रमुख खाँण
वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले महोत्सव आयोजकको विषयमा नगरपालिकाले हालसम्म कुनै आधिकारिक निर्णय नगरेको बताए । प्रमुख खाँणले भने, ‘महोत्सवको आयोजक बन्ने आशयको पत्र नगरपालिकालाई प्राप्त भएको पनि छैन । सचिवालय र प्रमुख प्रशासकीयसँग बुझ्नुपर्छ ।’ महोत्सव आयोजकको थप विषयबारे अगामी २६ गतेको कार्यपालिकाको बैठकमा छलफल हुने उनले जानकारी दिए ।
सार्वजनिक खरिद ऐन विपरीत ठेक्का सम्झौता
महोत्सव सञ्चालन गर्न वालिङ उद्योग वाणिज्य संघले ठाडो रुपमा सार्वजनिक खरिद ऐन उल्लंघन गरेको छ । १० लाखभन्दा माथिका ठेक्का सम्झौता गर्दा प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने प्रावधान रहेतापनि बिना टेण्डर बंगलामुखीसँग गोप्य रुपमा संघका पदाधिकारीहरूले मोटो रकमको भागबन्डा गरि ठेक्का सम्झौता गरेको आरोप लागेको छ । सार्वजनिक रुपमा पत्र पत्रिकामा ठेक्का आव्हान गरेर सम्झौता गर्नुपर्नेमा त्यसो नगरी बंगलामुखीलाई एकतर्फी रुपमा ठेक्का दिइनुमा ठूलै आर्थिक चलखेल भएको आशंका व्याप्त छ । निर्देशक शोभाकान्त पौडेल, संयोजक चेतनारायण श्रेष्ठ, प्रचारप्रसार संयोजक पिताम्बर खनाल र वालिङ नगरपालिकाका एक वडा अध्यक्षको मिलेमतोमा मोटो रकम लिएर सार्वजनिक खरिद ऐन विपरीत बंगलामुखीलाई ठेक्का दिइएको कार्यसमिति कै एक सदस्यले दावी गरेका छन् । संघकै पदाधिकारीसँग यस विषयमा बुझ्दा संघका अध्यक्ष, सचिव र निवर्तमान अध्यक्षसँग बझ्न आग्रह गरे ।
सम्झौता विपरीतको पासले ठेकेदार हैरान
गत मंसिर १० गते बंगलामुखीसँग गरिएको ठेक्का सम्झौताको बुँदा नम्बर ५ मा दोस्रो पक्ष अर्थात बंगलामुखीले आयोजक वालिङ उद्योग वाणिज्य संघ (प्रथम पक्ष)लाई १७ सय (१२ सय साधारण र ५ सय विशिष्ट) थान पास दिने र ६ हजार ‘वन डे’ पास दिने सम्झौता गरिएको थियो । तर, आयोजकले उक्त सम्झौतालाई तोडेर १३ हजार पास लिइसकेको ठेकेदार कम्पनीले नेपालबहसलाई जानकारी दिएको छ । १३ हजार मध्ये ६ हजार ‘वन डे’ रहेको उसको भनाई छ । आयोजकले मनपरी पास वितरण गरेकाले आफूहरू स्वतः घाटामा जान अवस्था आएको ठेकेदारले बताए । उनी सम्झौता भन्दा बढी रकम आयोजकले माग गर्दै आएको समेत जानकारी दिएका छन् ।
महोत्सव सफल हुने आयोजकको दावी झुटो सावित हुँदै
महोत्सव मुल आयोजकले आइतबारसम्म करिब १ लाख ५० हजार जनाले महोत्सव अवलोकन गरेको दावी गरेका छन् । महोत्सव मूल आयोजक समिति र ठेकेदारको हिसाब भने ठ्याक्कै उल्टो छ । महोत्सवको चौथो दिनसम्म आउँदा करिब दश हजार टिकट मात्र बिक्री भएको पाइएको छ । १९ गते ८ सय, २० गते ५५ सय र २१ गते ५५ सय १६ सयको हाराहारीमा टिकट बिक्री भएको पाइएको छ । महोत्सव परिसरमा दर्शकको उपस्थिति बाक्लै देखितापनि करिब ५० प्रतिशत दर्शक पास (स्थायी र वन डे) वाला भएको पाइएको छ ।
मोहन गुरुङ
नेपालबहस डटकमका सह–सम्पादक मोहन गुरुङ एक दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । स्याङजा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गुरुङले अकला आवाज साप्ताहिक, रेडियो वालिङ, सौर्य न्युज र नागरिक दैनिकमा काम गरिसकेका छन् । भ्रष्टाचार, अनियमितता, विकृति एवं विसंगतिका विरुद्ध तिखो कलम चलाउने गुरुङ आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन् ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार