कांग्रेस केन्द्रीय समितिद्वारा महासमिति बैठकका प्रस्ताव पारित
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार २२:३२:४२
१६ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गत फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न महासमितिको बैठकका विभिन्न प्रस्ताव पारित गरेको छ । गत साउन २३ देखि सुरु भई आज सम्पन्न केन्द्रीय समिति बैठकले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत ‘नीति–प्रस्ताव’, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत ‘साङ्गठनिक प्रस्ताव’ र महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘समसामयिक राजनैतिक प्रस्ताव’ उपर महासमितिको बैठकमा बृहत् छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी प्रस्तुत परिमार्जित सर्वसम्मत पारित गरेको हो ।
यसैगरी, बैठकले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच गत असार १७ गते भएको सातबुँदे सत्ता गठबन्धनको सहमतिपश्चात् ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ भन्नेलगायत विषयलाई लिएर गरिएका टीका–टिप्पणी र सिर्जना गरिएका भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सातबुँदे सहमति राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुदृढ गर्नेगरी संविधान संशोधन गर्ने उद्देश्य प्राप्तिका लागि हो भन्नेमा कांग्रेसले प्रस्ट रहेको बैठकले ठहर गरेको छ ।
उक्त सहमतिलाई कार्यान्वयन गर्न बैठकले पुनः दृढता व्यक्त गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले आफ्नै नेतृत्वमा बनेको सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स्वामित्व र यसको रक्षा एवं कार्यान्वयनको मूल दायित्व कांग्रेसको नै हो भन्ने कुरालाई हृदयङ्गम गर्दै संविधान संशोधन गर्दा यसको कार्यान्वयनमा देखिएका चुनौती र जटिलताको समीक्षा गरिने उल्लेख गरेको छ ।
साथै सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र वास्तविक रुपमा संविधानको मर्मबमोजिम सबै जाति, भाषा, लिङ्ग, धर्म, क्षेत्र, समुदाय, वर्गको समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता गर्नेगरी कांग्रेसले सघन छलफल गर्नेछ र त्यसको पहलकदमी कांग्रेसले लिने बैठकको निर्णय छ ।
संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्माण र परिमार्जन गर्न बाँकी रहेका कानुनहरूको प्रक्रिया अविलम्ब प्रारम्भ गर्न कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण र प्रतिबद्धता दोहो¥याउँदै त्यसमा अग्रसरता लिने निर्णय गरेको छ । बैठकले यस सन्दर्भमा कुनै पनि भ्रममा नपर्न र राजनीतिक सङ्कट सिर्जना गरेर मुलुकलाई पछाडि धकेल्न उद्यत संविधान विरोधी प्रवृत्तिबाट हमेसा सचेत रहन आम नेपाली जनता, सम्पूर्ण सरोकार राख्ने समूह, समुदाय र राजनीतिक दलहरूलाई विशेष आग्रह गरेको छ ।
यसैगरी, बैठकले महासमिति बैठकमा विधानसँग सम्बन्धित विषयमा प्राप्त सुझाव तथा पार्टीको तहगत सङ्गठनात्मक संरचनालाई कार्यमूलक बनाउनेलगायत विधानसँग जोडिएका विभिन्न विषयमा सघन छलफल एवं सुझाव सङ्कलन गरी विधानमा समयानुकूल संशोधन र परिमार्जनका लागि मस्यौदा तयार गर्न ‘विधान संशोधन मस्यौदा समिति’ गठन गर्ने निर्णय गरेको छ । समितिका संयोजक र सदस्य आवश्यक परामर्श गरी चयन गर्न पार्टी सभापतिलाई अधिकार प्रदान गरिएको छ ।
कांग्रेसले एक सयदिने विशेष साङ्गठनिक अभियान सञ्चालन गर्ने
बैठकले पार्टीको सबै तहका साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन, विधानबमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माणलगायत कार्य समयमै गर्न÷गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउनलगायत साङ्गठनिक कार्यमा केन्द्रित भई पार्टीले आगामी असोज १ देखि पुस १० गतेसम्म एक सयदिने विशेष साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
कांग्रेसले बढ्दो हवाई तथा सडक दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी प्राविधिक, प्रशासनिक एवं व्यावहारिक सुधारका लागि आवश्यक कानुनी बन्दोबस्त गर्न सरकारलाई आग्रह गरेको छ । सार्वजनिक सेवाको क्षेत्रमा हुने ढिलासुस्ती, बेथिति र विकृतिको अन्त्य गर्दै सेवाग्राहीमा सकारात्मक अनुभूति हुन सक्नेगरी सर्वसुलभ सेवा प्रदान गर्ने बैठकको निर्णय छ । कांग्रेसले आम दुग्ध किसानलाई बाँकी रकम अविलम्ब भुक्तानी दिन सरकारसँग माग गरेको छ ।
त्यस्तै, कांग्रेसले सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्न, स्वास्थ्य बीमालाई एकद्वार प्रणाली लागू गरी बीमाको रकम बढाई रु पाँच लाख कायम गर्न सरकारसँग माग गरेको छ । आजको बैठकले चाडबाडका लागि अत्यावश्यक वस्तुका रूपमा रहेको चामल, दाल, चिनीलगायत दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सृजना हुनसक्ने अवस्थालाई मध्यनजर बजार नियमनको प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आवश्यक कानुन यथाशीघ्र अघि बनाउनुपर्ने कांग्रेसको माग
बैठकले अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्न अघिल्लो आयोगले गर्दै आएको कार्यलाई निरन्तरता दिनेगरी कानुनीलगायत आवश्यक अन्य प्रभावकारी कार्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै, जनभावनाअनुसार सङ्घीयतालाई सुदृढ र प्रभावकारी बनाउँदै जनताका अधिकारसँग सम्बन्धित प्रक्रियामा रहेका विधेयक तथा मौलिक हकसँग सम्बन्धित बन्नुपर्ने आवश्यक कानुनहरु अविलम्ब अघि बढाउनुपर्ने कांग्रेसको निर्णय छ ।
कांग्रेसले सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताको बचत सुरक्षित गर्दै बचतकर्तालाई न्याय दिलाउन कुनै विलम्ब नगरी प्रक्रियामा रहेका सबै मुद्दा चाँडै टुङ्गो लगाउन र दोषी देखिएकलाई यथाशीघ्र कानुनी दायरामा ल्याई समस्याको दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेको छ । सुविधा सम्पन्न रङ्गशाला निर्माण, विस्तार तथा उचित सेवासुविधा दिई खेलाडीहरूलाई आकर्षित र प्रोत्साहित गरी खेलकुद क्षेत्रको विकासमा सरकारले अविलम्ब उपयुक्त कदम चालोस् भन्ने बैठकको माग छ ।
यस वर्ष प्रकाशित एसइई र कक्षा १२ को परीक्षाफलमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएको परिस्थितिलाई गम्भीर चिन्ताका रूपमा लिँदै कांग्रेसले विद्यालय शिक्षा पूर्ण रुपमा निःशुल्क बनाउने र वर्तमान शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
यसैगरी, यस वर्ष अति भारी वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्बाट पीडित र प्रभावित नागरिकको जीवन सहज बनाउनका लागि उचित क्षतिपूर्ति र पुनर्वासको व्यवस्थासहित उपयुक्त कदम चाल्नका लागि कांग्रेसले सरकारसँग माग गरेको छ ।
हरेक वर्ष नेपाली किसानले भोग्नुपरेको मलको अभाव अन्त्य गर्न दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्न बैठकको माग छ । नेपालको इतिहासमा पारा ओलम्पिक खेलमा पहिलोपटक पदक विजेता पलेसा गोवद्र्धनले राष्ट्रको गौरव र शान बढाउनु भएकाले बैठक उहाँलाई विशेष बधाईज्ञापन गर्दै उच्च सम्मान गर्ने निर्णय गरेको छ ।
आजको बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’ र बद्रीप्रसाद पाण्डेले धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार