प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १५:३०:४६
१८ मंसिर, काठमाडौं । नेपालका प्रधानमन्त्रीले छिमेकी मुलुक चीन र भारतको भ्रमण गर्दा ठूला र महत्वाकांक्षी योजनामा हस्ताक्षर हुने कुराले चर्चा पाउँछ । प्रधानमन्त्री जाँदा चर्चा गरिएको एजेन्डा फर्किएर आउँदा सेलाइ सक्छ र चर्चै गर्नुनपर्ने विषय बहसमा आउँछ । यस अघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा पनि सीमा र बिजुलीका कुरालाई ओझेलमा परेर भैँसीकै चर्चा भएको थियो । हाल प्रधानमन्त्री रहेका केपी शर्मा ओली पनि अहिले चीन भ्रमणमा छन् । उनी चीन जानुअघि निकै ठूला र राष्ट्रिय महत्वका विषयमा समझदारी बन्ने कुराले चर्चा पायो । तर, यथार्थमा त्यस्तो भएन ।
मंगलबार नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–चीनबीच भैँसीको मासु निर्यातदेखि चिनियाँ भाषा शिक्षकसम्मका ९ वटा समझदारी पत्रमा हस्ताक्षर भयो । भैँसीको मासु निर्यात गर्न सहमति भएको कुरा बाहिरिए लगत्तै प्रधानमन्त्री ओलीको विरोध सुरु भएको छ । खासमा प्रतिपक्षमा रहेको नेकपा माओवादी पक्षबाट भैँसी प्रसंग उठाउन थालिएको छ । प्रचण्डको भारत भ्रमणका क्रममा त्यो बेला प्रतिपक्षी दलको नेता भएका केपी ओलीले नै संसदमा भारतबाट प्रधानमन्त्रीले राँगा (भैँसी) मात्र ल्याएको भनेर चर्को विरोध गरेका थिए ।
प्रधानमन्त्री ओली चीन गएपछि आज मंगलबार नेपाल र चीनबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको हो । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा विभिन्न समझदारी पत्रमा हस्ताक्षर भए । परराष्ट्र मन्त्रालयका अनुसार भैँसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । यो हस्ताक्षरपछि नेपालबाट चीनमा मासु निर्यात हुने बाटो खुलेको छ । भैँसीको मासु निर्यात गर्नु राम्रो भए पनि प्रधानमन्त्री ओली यसैका लागि मात्र चीन गएको हाे त ? भन्ने तर्क सुरु भएको छ ।
प्रचण्ड भारत गएका बेला भारतले नेपाललाई १५ वटा मुर्रा जातको भैँसी उपलब्ध गराएको थियो । उनी २०८० को १७ जेठ देखि २० जेठसम्म भारतको भ्रमणमा गएका थिए । प्रधानमन्त्रीका रुपमा प्रचण्ड भारत भ्रमणमा रहेका बेला त्यहाँको सरकारसँग भएको सम्झौताअनुसार ती भैँसी र राँगा उपलब्ध गराइएको थियो । त्यसअघि तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव दिल्ली गएर त्यहाँको कृषि मन्त्रालयसमक्ष भैँसी र रागो उपलब्ध गराउन प्रस्ताव गरेका थिए ।
सोही प्रस्तावअनुसार प्रधानमन्त्री प्रचण्डको भ्रमणमा सहमति भएको थियो । तर, उनी नेपाल फर्किए लगत्तै विपक्षी दलका नेता ओलीले भारतबाट भैँसी चढेर आएको प्रतिक्रिया मात्र दिएनन्, संसदमा यही विषयमा पट्यार लाग्दो भाषण पनि गरे । रास्वपाले पनि प्रधानमन्त्रीले भैँसी चढेर आएको बताएको थियो । प्रतिनिधिसभामा भैँसी चढेर आएको भन्ने शब्द नै हटाउनुपर्यो । तर उक्त शब्द हटाउन निर्देशन दिएकामा एमाले र रास्वपाका सांसदहरूले विरोध जनाए थिए । एमाले सांसद रघुजी पन्तले भैँसी चढेर आएको भन्ने शब्द पहिले प्रधानमन्त्रीले नै प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि उक्त शब्द हटाउनुपर्ने माग गरेका थिए ।
अहिलेका प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पनि यस्तै विषयमा मात्र सम्झौता भएको देखिन्छ । नेपाल–चीन व्यापार अभिवृद्धि गर्ने समझदारीपत्रमा भैँसीको मासु अग्रपङ्क्तिमा छ । यस बाहेक २०७२ सालको भूकम्पमा भत्किएको वसन्तपुरको नौ तल्लो दरबारको पुनर्संरचना, टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरी पत्र आदानप्रदान गरिएको छ । तर, नेपालबाट चीनसँग सहमति गर्ने भनेर लगिएका बीआरआई र पोखरा विमानस्थलको ऋणलाई अनुदानमा बदल्ने भन्ने कुरामा सहमति भएको देखिएको छैन ।
मंगलबार बेइजिङस्थित 'ग्रेट हल अफ द पिपल'मा प्रेसलाई दिएको जानकारीको विवरणमा बीआरआई भन्ने शब्दै देखिँदैन । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच निकै रस्साकस्सी पछि बनेको फ्रेमवर्कमा सहमति हुने भनिएको थियो । प्रधानमन्त्री ओली आफैले पोखरा विमानस्थलबारे ठूलो उपलब्धि हुने भनेका थिए । त्यो उपलब्धि भनेको पोखरा विमानस्थलमा भएको चिनियाँ ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई सहमति गराएर समझदारी गर्ने थियो । यी विषय आजको समझदारीमा हस्ताक्षर भएका छैनन् ।
प्रधानमन्त्री ओलीले यसपछि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गरिसकेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सम्झौतामा हस्ताक्षर पछि सीसँग भेटवार्ता गरेका हुन् । ऋणलाई अनुदानमा बदल्ने काठमाडौंका कुरा चीन पुगेपछि छुटेका छन् । बीआरआई परियोजनाबारे आज कुनै चर्चा नहुँदा चीनको विश्वव्यापी स्तरको महत्वाकांक्षी कदमप्रति नेपाललाई चासो नदिएको देखिएको छ । अब बीआरआईमा नेपाल कसरी अघि बढ्छ भन्ने पनि अन्योल बढेको छ ।
प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नु अघिल्लो दिन चिनियाँ राष्ट्रपति सीले सोमबार बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत उच्च गुणस्तरीय सहयोगलाई व्यापक रूपमा अगाडि बढाउने कुरामा जोड दिएका थिए । सीले बेल्ट एण्ड रोड निर्माण कार्यसम्बन्धी चौथो गोष्ठीलाई सम्बोधन गर्दै उक्त भनाइ राखेका थिए । बेल्ट एण्ड रोड सहकार्यको उज्यालो भविष्य निर्माण गर्न रणनीतिक विश्वासलाई सुदृढ गर्न, रणनीतिक फोकस कायम राख्ने र जिम्मेवारीको भावनाका साथ साहसका साथ काम गर्न आवश्यक रहेको सीको भनाइ थियो । तर, नेपालसँग समझदारी गर्दा यो विषय नै नउठेको चर्चा छ ।
मुलभूत विषयमा देखिए जस्तै थप उपलब्धि नभएको हो भने प्रधानमन्त्री ओलीको चीन भ्रमण पनि भैँसीमै सीमित हुने देखिएको छ । उनी नेपाल फर्किएपछि भैँसीको मासु बेच्न चीन गएको भन्ने आरोप प्रचण्ड बाटै सुरु हुनेछ । उनलाई भारतीय भैँसीको विषयमा ओलीले उठाएका प्रश्नको जवाफ दिनु पनि छ । अप्ठेरो परिस्थितिमा चीन गएका ओलीका अन्य उपलब्धि भने फर्किएपछि पुष्टि हुँदै जालान । अहिलेलाई भने चीनसँग भएका समझदारीबाट ठूलो अपेक्षा गर्न सक्ने अवस्था देखिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआई दुरदर्शी परियोजना हो: प्रधानमन्त्री
मंसिर १९, २०८१ बुधबार
राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना
मंसिर १९, २०८१ बुधबार
संघीय संसदका दुई समितिको बैठक बस्दै
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
रवि लामिछानेको दोस्रो दिनको बयान सुरु
मंसिर १९, २०८१ बुधबार
घिसिङलाई पत्तै नदिई उर्जामन्त्रीले विद्युत प्राधिकरणमा खोले कार्यकक्ष, अन्योलमा कर्मचारी
मंसिर १९, २०८१ बुधबार
गहुँबालीको हरियाली दृश्य
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा गोली चलाएर प्रहरीले लियो ६४१ किलो गाँजा नियन्त्रणमा
मंसिर १९, २०८१ बुधबार
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
मंसिर १९, २०८१ बुधबार