उखान टुक्का तथा व्यंङगबाणको अत्याधिक प्रयोगले रङ्गमञ्च बनेको नेपालको राजनीति
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार २३:९:१९
नेपालीमा एउटा उखान छ ‘जो चोर उसैको ठूलो स्वर’ । यो उखान हामी बच्चा हुँदादेखि नै हामीले सुन्दै आयौं । हामी भन्दा अघि हाम्रा बा, हजुरबाहरुले पनि सुनेको हुनुपर्छ र त यसले अहिलेसम्म निरन्तरता पाउँदै आईरहेको छ । उखान टुक्काहरु त्यसै बन्दैनन् । जुन लामो समयसम्मको अनुभव र प्रयोगबाट खारिएर निस्किएका हुन्छन् ।
अझ भनौं दही मत्थिएर मख्खन निस्किएझैं समाजमा भोगिएका समस्याहरु र प्राप्त गरिएका सफलताका कथाहरुबाट खारिएर निस्किएका परिणामहरु हुन । नेपाली साहित्यको बाङ्गमयमा उखान टुक्काहरुको छुट्टै महत्व रहँदै आएको छ ।
म आज उखान टुक्काको उत्पत्ति, बिकास र यसको महत्वको बिषयमा जान चाँहिन तर माथिको उखानलाई भने पुनः स्मरण गर्न किन पनि चाँहे भने वर्तमानको अवस्थामा हेर्दा यहाँ चोरहरुकै जमातको बाहुल्यता र स्वरहरु ठूलो हुने गरेको यथार्थता जीवितै रहेको देखिन्छ । त्यसैले बिषय उठानको शुरुवात यहीबाट गर्न चाँहे ।
हुन त वर्तमान नेपाली राजनीतिमा उखानेश्वर महादेवहरुको विगविगी नै चलेको छ । नेपाली साहित्य संसारमा यत्तिका उखान टुक्काको प्रयोग सम्भवत यो भन्दा अघि कहिल्यै पनि थिएन होला भन्दा अत्युक्ति नहोला । तर वर्तमानको नेपाली राजनीतिमा उखान टुक्काको बेग्लै महत्व रहँदै आईरहेको छ ।
देशका महामहिम राजनीतिज्ञहरुले नै उखानेश्वर महादेवको उपमा पाईरहेको वर्तमान समयमा जावो उखान टुक्का कै भरमा सिंगो मानव सागरलाई हसाउन मात्रै भ्याएको छैन सिंगो हाँस्यब्यङ्गय कार्यक्रम चलाउने मिडियाकमीहरुलाई समेत मात खुवाएको छ । फरक यत्ति हो, त्यही कुरा कलाकारले ब्यङ्गगात्मक ढंगले प्रतुतिकरण गर्न हप्तौसम्म रिहल्सल गर्नु पर्छ तर हाम्रा नेतालाई भने कुनै रिहल्सलको आवश्यकता नै पर्दैन मात्र कसैको उक्साहट र पछाडिबाट मज्जाले पम्प हालिदिए मात्रै पनि पुग्छ ।
रङ्गमञ्चको हाँस्यब्यङ्गय राजनीतिमा प्रवेश गरेपछि नेपालको राजनीति पनि हाँस्यब्यङ्गयमय बन्दै गैरहेको छ । नेताहरुलाई एक अर्काको क्यारिकेचर गर्नमै आफ्नो सम्पूर्ण शक्ति लगाउनु परिरहेको छ । नेपालको राजनीतिले अब बेग्लै मोड लिने अवस्थामा पुगेको देखिदैछ । नेपालमा क्रियाशील राजनीतिक दलहरु क्रमशः एकपछि अर्को फुटको बाटोतर्फ अग्रसर भैरहेका छन् । यो देशको दिगो बिकास र राजनीतिक स्थिरताको बाधकको रुपमा देखिदैछ । राजनीतिक दलहरु जति बढी एकताबद्ध र ईमान्दारिताका साथ राजनीतिमा क्रियाशील हुन्छन् नागरिकहरुमा पनि त्यत्तिकै बढी हौसला र खुशीको सञ्चार हुने गर्छ ।
यसले देशमा अमनचयन र शान्ति सुरक्षा कायम गराउन समेत सहयोग पुग्नुका साथै देश बिकासको कार्यमा समेत अग्रसर गराउन सहयोग गरिरहेको हुन्छ । तर सधैं फुट र जालझेलको राजनीतिले नेपालका राजनीतिक दलहरु अत्यन्तै धेरै बदनाम र दुर्गन्धित भैसकेका छन् । वर्तमान नेपालको सबैभन्दा ठूलो र शक्तिशाली दल भनेर चिनिएको, जनताका मताधिकारबाट झण्डै दुईतिहाईको नजिक पुग्न सफल भएको नेकपा नामको भकुण्डोको हावा खेल मैदानमा गेमओभर नभई खुस्किएपछि अहिले मैदानमा उत्रिएका खेलाडीहरु नै एक आपसमा दोषारोपण र ब्यङ्गयबाण प्रयोग गर्न मै तल्लिन देखिएका छन् ।
बेला न कुबेला अदालतले फ्याट्ट दुईटुक्रा बनाई दिएपछि नेकपाबाट कोही खुशी हुँदै नेकपा एमाले भन्दै उफ्रिदैछन् भने कोही पुनः मुसी भवः भएकोमा सडकमा रोईलो गरिरहेका छन् । झण्डै झण्डै पार्टीको साधारण सदस्यता समेत गुमाउनु पर्ने अवस्थाबाट भने नेकपाका तत्कालिन अध्यक्ष तथा वर्तमानका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भने मज्जाको पुर्नजीवन पाएका छन् ।
केही समय अघिसम्म दलको बैठकमा समेत बस्न नसक्ने अवस्थाका प्रधानमन्त्री ओलीको अहिलेको ताहुर माहुर दिनचर्या भने बढो रोमाञ्चकारी देखिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्न जान समेत सुरक्षा थ्रेट देख्ने प्रधानमन्त्री अहिले खुलमखुल्ला मेची महाकाली भ्रमणमा निस्कन सक्ने भएका छन् ।
बेबुझको पढाई झैं “पुरै नास हुनुभन्दा आँधी नै बरु नास होस्, आधीले काम टारिन्छ पुरै नास कबै नहोस्” भनेर डुब्नै लागेको आफ्नो साथीको जुल्फी समातेर गर्धन गिँडेर मैले त आधा साथी बचाँए भन्ने ठूलो बर्णमालाको कथा कण्ठस्थ पारेका प्रधानमन्त्री ओलीले पार्टीलाई एकताबद्ध बनाउनु भन्दा केहीलाई कार्यवाही गर्न गर्दै मानमर्दन गर्न उचित ठाने । कसकसलाई कार्वाही गरौं भनेर सल्लाहकारहरुको सल्लाह र सुझाव समेत लिन भ्याए । सल्लाहकारहरुले जसजसलाई कार्यवाही गर्न सुझाए तिनै तिनै नेतालाई ६ महिनासम्म निलम्बन गरें भनेर आफ्नो फोश्रो बहादुरी सुनाए ।
नेकपाका वरिष्ठ नेताहरुको कार्वाही प्रकृयामा आम मानिसहरुको भनाई भने बेग्लै रहेको छ । जसले ३ बर्षसम्म पनि देश र जनताका पक्षमा माखो मार्न सकेन । बिरामीबाट तङ्गग्रीएर पार्टी कार्यालयसम्म पुग्न सकेन, आफनाे पार्टीको नियमित राख्नु पर्ने बैठकहरु राख्न सकेन । जसले जोडिएको सिसाको चेपबाट चुहिएको मह चाटनमै आफ्नो बहादुरी सम्झ्याे, उसैले अरुलाई पार्टी भित्र बिद्राेही र अराजक देख्यो ।
देशले महामारीको उपचार चाहिरह्यो, देशका प्रधानमन्त्रीले भने अध्यादेशको पोको बोकेर सधैं शितलनिवास धाई रह्यो । देशका सारथीहरु भने आफैं भ्रष्टप्रसाद भतुवाहरुलाई वरिपरी राखेर देश लुटने र देशलाई खोक्रो बनाएर आफ्नो ब्यक्तिगत स्वार्थ सिद्ध गर्ने तर्फ लागिरह्यो । बालुवाटार र सिंहदरबारले देश खोत्र्याउने र जनता घोत्र्याउने अनि आफ्नो आसेपासेहरुको स्वार्थ सिद्ध गर्ने खालका योजनाहरु मात्रै पस्किरह्यो ।
आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुसँगै सधैं बिनाकारण झस्किरह्यो । आसेपासे, हरुवा, चरुवा, बासीभाते र एकछापेहरुले भने यस्ता महान प्रधानमन्त्रीलाई इतिहासकै बहादुर प्रधानमन्त्री भनेर गीत गाउन पाए । उखान टुक्का र हाँस्यब्यङ्गय कलाकारका उपमा पाएका प्रधानमन्त्रीलाई बर्षकै उत्कृष्ट गीतकार भनेर बिधा मिचेर जीउ हजुरी गर्नसम्म भ्याए । बास्तवमै यस्तै बाँदर प्रवृत्तिका मनुवाहरुले नै प्रधानमन्त्री केपी ओलीलाई ईतिहासमै बिसन नसकिने गरी हुनसम्म बदनाम गराए ।
देशको सर्बोच्च स्थानमा पुगेका महामहिमहरुदेखि वर्तमानका प्रधानमन्त्रीका समेत हरेक अभिब्यक्तिमा तुच्छ शब्दबाँण प्रहार बाहेक देश र जनताको दुःख र दर्दको बिषयमा कुनै उच्चारण गरिएको पाईदैन । सधैं आफ्नो सहपाठीको भावना र ब्यक्तिगत ईज्जतमा समेत आँच आउने, ठेस पुग्ने र जनता हँसाउने हाँस्यब्यङ्गयरुपी क्यारिकेचर बाहेक प्रधानमन्त्रीबाट थप कुनै नयाँ आशा र भरोषायुक्त भावनाहरु प्रष्फुटित भएको देखिदैन ।
त्यसैले त अहिले आम नेपाली नागरिकहरु भन्न थालेका छन्, अब ओलीसँग ओम्नीका ठेकेदार र भानुभक्त ढकाल, गोकुल बाँस्कोटा र सूर्य थापा जस्ता ब्यक्तिहरु बाहेक राम्रा नेता र ईमान्दार कार्यकर्ताहरु बस्नै रुचाउन छाडेका छन् । ओलीसँग भएका थोर बहुत नेता तथा कार्यकर्ताहरु पनि बिस्तारै माधव, झलनाथ समूह तिर बसाई सर्ने तैयारीमा लागेका छन् ।
भएका नेताहरु पनि “बा” यो त गलत भो भनेर भन्नसम्म रुचाउँदैनन् । “बा” का बिरुद्धमा आवाज निकाल्ने मात्रै हो भने पनि ६ महिनासम्म कार्वाहीमा परिएला कि ? भन्ने डर छ । भने जति कमाउन पाईएकै छ, यो मौका फेरी आउने हो कि हैन ? भन्दै जीउहजुरी गर्दै द्रब्य आर्जन गर्ने एकमात्र मिशनमा लागेका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओलीलाई कुन भड्खालोमा पुर्याएर छोडने हुन ? निकट भविष्यले नै बताउला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार