मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी
राजेन्द्र सेञ्चुरी
असार ६, २०७८ आइतबार २३:८:५८
हिजो शनिबारका दिन “क्विक रेस्पोन्स सेन्टर”का स्वयंसेवकहरूसँग मेलम्ची खोलामा आएको बाढीले प्रभावित ठाउँहरूको स्थलगत अध्ययन गर्न मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको केही स्थानहरूमा पुगियो । द्रुत प्रतिकार्यका लागि वस्तुगत स्थिति यकिन गर्न सकियोस् भनेर स्थानीय जनप्रतिनिधि र लब्धप्रतिष्ठित व्यक्तिहरूलाई भेला गरेर गरिएको छलफलमा जे पाइयो, त्यसैको वर्णन गरिएको छ यस लेखमा ।
सिन्धुपाल्चोक जिल्लाभित्रै तिम्बुदेखि किउल, चनौटे, ग्याल्थुम, तालामारांग हुँदै मेलम्ची बजारसम्म पुग्दा यस बाढीले अपुरणीय क्षति पुर्याएको छ । खोलाले आफ्नो किनारको दुबैतिर धेरै परसम्म पुगेर कटान गर्दा कैयौं घरखेत बगाएको छ ।
बलौटे लेदो र ढुंगामुडा थुप्रिंदा खोलाको सतह नै झन्डै १०-२० फिट बढेको अनुमान छ स्थानीयहरूको । मान्छेहरुको बिल्लीबास भएको छ । ठुलो धनजनको क्षति भएको छ । रोपनीका रोपनी खेत बगाउँदा करोडौंको सम्पती हुनेहरू पनि रारारात बेघरबार बन्न पुगेका छन् ।
बाढी आउने सिलसिला अझै जारी नै छ र यो कहिलेसम्म चल्छ भनेर यकिनसाथ भन्न सकिने अवस्था छैन । बर्षा लाग्दैछ, यो संकटको सिलसिला अझै बढेर जाने हो कि भनेर सबैको मनपेट पोलेको छ । भूकम्पले थिलो थिलो बनाएको यस ठाउँमा फेरी यस्तो किसिमको दैवीप्रकोप जाँदा जसोतसो तंग्रिएर अगाडि बढ्ने चेस्टा गरिरहेका सपनाहरुमा तुषारापात भएको छ ।
अब जीवन कसरी अगाडि बढ्ला, बाढीमा बेपता भएका आफन्तजन भेटिएलान् कि नभेटिएलान्, घरखेत सबै बगाएकालाई सरकारले के कति क्षतिपूर्ति देला, विस्थापित भएकालाई काँहा र कसरी पुनर्स्थापित गराउला – बाढीसँगै यस्ता धेरै अनुत्तरित जिज्ञासाहरूसँग पनि जुध्नु परिरहेको छ यतिबेला यहाँका बासिन्दाले । उनीहरूको जीवनलाई कालान्तरसम्म प्रभाव पार्ने यस्ता बिषयमा ढिलो चाँडो राज्यले मुख खोल्ला नै, अहिलेलाई भने तत्काल के कुराको आवश्यकता छ भन्ने बारेमा हामीले बुझ्ने प्रयास गर्यौं ।
सबैभन्दा पहिला त सुरक्षित अस्थायी आवास र खानेकुरा नै हो । अस्तिसम्म सयौंमुरी धान बेच्नेहरूलाई समेत खानेकुरा कसरी जुटाउने भन्ने चिन्ताले सताएको देखिन्छ । केही धान बचाउन भ्याइहाल्नेको हकमा पनि बिजुलीको अभावमा मिलहरु चल्न नसक्दा धान कुटाउने अवस्था छैन । यतिबेला उनीहरूलाई खाद्यान्न सहयोगको खाँचो छ । यद्यपि यो ६ दिनमा जे नजरिया देखियो त्यसले गर्दा स्थानीयहरु राहतको कुरा गर्न सशंकित भएको देखिन्छ । राहत वितरणमा आउनेहरूले देखाउने हर्कत कहिलेकाँही अपाच्य हुने र राहत वितरण भन्दा नि आफ्नै विज्ञापनमा आएको जस्तो देखिने स्थानीयहरूको ठम्याई छ । “२ किलो आलु, ४ जना दिनदयालु” को परिपाटी देखिन गएकोले कुनै कुनै राहत संकलनमा आफूहरूले अपमान महसुस गर्नुपरेको छलफलमा उपस्थित एकजनाको अनुभव थियो ।
वासस्थानका हिसाबले अहिलेलाई उनीहरु आफन्त र ईस्टमित्रकोमा शरण लिइरहेका छन्, तर उनीहरू आफैं टेन्ट बनाएर बस्न चाहन्छन् । त्यसको लागि यो बर्खे झरीले बिगार्न नसक्ने खालको टेन्ट उपलब्ध गराउन आवश्यक देखिन्छ । कतिबेला बाढीको सतह काँहासम्म आइपुग्ने हो र फेरी के के बगाउने हो भनेर अनुमान गर्न सक्ने अवस्था छैन । राती त्यसैलाई हेर्न यतिबेला उनीहरूलाई चाहिएको छ पर–परसम्म देख्न सकिने टर्चलाईट ।
तत्काल जरुरत परेको अर्को कुरा हो दीर्घरोगीहरूले खाने औषधी । सँधै खाँदै आएको औषधी नपाउँदा दिर्घरोगीहरू कतै आफूलाई केही भैहाल्ने पो हो कि भनेर आत्तिएको अवस्था छ । त्यतिमात्रै नभएर जतिसक्दो चाँडो स्वास्थ्य घुम्ती शिविर पनि त्यहाँ पुर्याउनु पर्ने आवश्यक देखिन्छ । बाढीले खोलाको किनारै किनार बनाइएका सडकहरूलाई पनि बाँकी राखेको छैन । अहिले नै मेलम्ची बजारदेखि तारामारांगसम्म र तारामारांगदेखि चनौटेसम्मको सडकखण्ड अबरुद्द भएको छ ।
तारामारांग जान भोटेचौरको कच्ची बाटो प्रयोग गर्नुपर्छ, जुन ठुलो पानी परेको बेलामा गाडी गुड्न सक्छ जस्तो देखिंदैन । यसर्थ बाढीप्रभावित र त्यस भेगका स्थानीयहरू कुनै रोगब्याधीले चापेको खण्डमा कतै अस्पताल पुग्न नपाइने हो कि भनेर आत्तिएका छन् । यस घडीमा त्यहाँको स्वास्थ्य चौकीसँग समन्वय गरेर शिविर राख्न आवश्यक देख्छन् स्थानीयवासीहरु । यी नै स्वास्थ्यकर्मीहरूसँगै त्यहाँ पुर्याइनुपर्ने अर्को समूह हो मनोसामाजिक परामर्शकर्ताको ।
खेतबारी,वास्तुभाई, अनाजबाली र आफन्त समेत गुआउन पुगेका मान्छेहरू यतिबेला मनोवैज्ञानिक रुपमा विक्षिप्त छन् । हुनसक्छ, ।कतिपयलाई जीवन नै निरर्थक लागिरहेको पनि होला । त्यस्ता मानसिक हिसाबमा जोखिममा रहेकालाई यथाशिघ्र परामर्शको खाँचो देखिन्छ । स्थानीय व्यक्तिहरूमार्फत त्यस्ता जोखिममा रहेकालाई सजिलै पहिचान गर्न सकिन्छ ।
अर्कोतर्फ, यस प्रकोपले गर्दा होला मान्छेहरूले कोरोनालाई झन्डै झन्डै बिर्सिसकेको जस्तो दृश्य पनि देखियो । छलफलमा सहभागी हुनेहरूमा पनि अधिकांशले मास्क नलगाएको र सामाजिक दुरी कायम नगरेको पाइयो । बजारमा आवत–जावत गर्ने मान्छेको अनियन्त्रित घुइंचोहरूले कतै झन् कोरोना पनि फैलने पो हो कि भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ । स्वास्थ्यकर्मीहरू त्यहाँ हुने भो भने शायद केही हदमा जनचेतना फैलाउने काममा पनि उनीहरूको भूमिका हुन्थ्यो कि भन्ने आश गर्न सकिन्छ ।
बाढीकै कारण बिजुली समेत अबरुद्द हुन पुगेको छ र बिजुली जोड्न अझै कति समय लाग्ने हो एकिन गर्न सक्ने अवस्था छैन । त्यसले गर्दा सोलार बत्तीहरू वा मैनबत्तीहरु यथासक्य पुर्याउनु पर्ने आवश्यक देखिन्छ । बिजुली नभएकै कारणले संचार पनि नराम्रोसँग अबरुद्द हुन गएको छ । हाम्रो छलफलमा स्थानीयहरूले हरेक बजारहरूमा एकपटकमा ५/७ वटा मोवाइल चार्ज गर्न सकिने सोलार चार्जिंग स्टेशनहरूको आवश्यकता रहेको इंकित गरे । कतिखेर घर छोडेर भाग्नुपर्ने हो र कतिबेला चाँही घरमा बस्न सकिने हो भन्ने बारेमा लगातार जानकारी लिइराख्नु पर्ने कारणले गर्दा पनि यतिबेला संचारको आवश्यकता अति नै महत्वपूर्ण देखिन्छ ।
खोलापारी र खोलावारीको भौतिक सम्बन्ध जोड्ने अधिकांश पुलहरू बगाइसकेको छ । एकदुई ठाउँमा बाँकी रहेका पुलहरू पनि बगाइहाल्यो भने अवस्था झनै गम्भीर हुन सक्ने भएकोले एकान्तमा रहेका र उच्च जोखिममा देखिएका घरपरिवारलाई तत्काल स्थान्तरण गर्नुपर्ने अर्को आवश्यकता हो । पहिला बाढी रोक्कियोस् अनि तटबन्ध बनाउन सुरु गरौंला भनेर कुर्ने हो भने बाढीले झन् झन् खोतलेर बाँकी रहेको भूभाग र वस्तीहरू पनि सिध्याउन सक्ने हुँदा जतिसक्दो चाँडो सम्भव हुने स्थानहरुमा र बस्ति छेउछाउहरूमा तारजालीको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
त्यसरी नै, ठाउँ–ठाउँमा विद्यालयका भवनहरू पनि भत्केका छन् । त्यस्ता बिद्यार्थीलाई कसरी पढ्ने वातावरण मिलाइदिने भनेर पनि सोच्न आवश्यक छ । अस्थायी टहरा बनाएर हुन्छ या सानो सानो समूहमा वस्तीहरूमै पुगेर हुन्छ कि, जसरी हुन्छ बालबालिकालाई शिक्षाको ज्योतिबाट वन्चित हुने अवस्था नआओस् भन्नका लागि तत्काल कदम चाल्नु पर्ने देखिन्छ ।
मूलतः के गर्ने र कसो गर्ने भन्ने बारेमा यतिबेला चौतर्फी अन्यौलता छाएको छ । ठुला र दीर्घकालीन सरोकारका बिषयमा पछि योजना बनाउँदै गर्न सकिन्छ, अहिलेलाई कसरी प्रभावितहरूको जीवनरक्षा गर्न सकिन्छ भन्ने बारेमा सम्बन्धित सबैको ध्यान पुगोस्, यही नै छ स्थानीयको माग पनि । सेञ्चुरी नीति अनुसन्धान प्रतिस्ठानमा विश्लेषकका रुपमा कार्यरत छन् । ट्वीटर: @RSenchurey
राजेन्द्र सेञ्चुरी
राजेन्द्र सेन्चुरी नीति अनुसन्धान प्रतिस्ठानमा विश्लेषकका रुपमा कार्यरत छन् । ट्वीटर: @RSenchurey
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार