सर्वोच्चप्रति कांग्रेस र माओवादीभित्रै असन्तुष्टि, बारामा अदालत घेर्नेदेखि आन्दोलनसम्मको तयारी
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १८:२:५६
१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले बिहीबार बारा जिल्लामा निर्माण गरिने भनिएको ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ रोक्न आदेश दिएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बाहेकका दलहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।
सर्वोच्चको आदेशलाई लिएर कांग्रेस र माओवादीका शीर्ष नेताहरु मौन बसिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा), नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका नेताहरुले भने आक्रोश व्यक्त गरेका छन् ।
अदालतको आदेश आएलगत्तै नेताहरुले सामाजिक सञ्जालहरुमा आफ्ना धारणा राख्न सुरु गरेका हुन् । कांग्रेस र माओवादी नेताहरुले भने आफ्नो धारणा राखेका छैनन् । पूर्वप्रधानमन्त्री तथा जसपा, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्चले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमाथि बन्चरो प्रहार गरेको प्रतिक्रिया दिएका छन् ।
‘मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाडौं–तराई फास्टट्रयाक र निजगढ विमानस्थललाई संयुक्त १ नं र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नं महत्वको भनेको थिएँ ! अहिलेसम्म यी सबै रोकिदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु । आज सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ ! लज्जित छु,’ डा. भट्टराईले ट्वीटर मार्फत भनेका छन् ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई दुर्भाग्यपूर्ण बताएका छन् । अदालतले कार्यकारीको क्षेत्राधिकार अतिक्रमण गरेको समेत उनले जनाएका छन् ।
‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ,’ ज्ञवालीले भनेका छन्, ‘यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर्याएको छ । आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला ?’
नेकपा एमालेका अर्का नेता भीम रावलले पनि सर्वोच्च अदालतको आदेशप्रति असन्तुष्टी व्यक्त गरेका छन् । सर्वोच्चको आदेशले राष्ट्रहितमाथि घात गरेको उनले बताएका छन् । नेकपा एमालेका नेता योगेश भट्टराईले पनि सर्वोच्च अदालतको आदेश अत्यन्तै घातक र प्रतिगामी भएको बताएका छन् ।
‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा वातावरणमा प्रतिकूल प्रभाव पर्न नदिन यस्ता उपाय सरकाले अपनाओस् भनी सर्वोच्च अदालतले भन्न सक्थ्यो । तर राज्यले लामो समय अध्ययन गरी निर्माण शुरू गरिसकेको आयोजना रोक्नु राष्ट्रहितमाथि घात गर्ने गैर जिम्मेवार निर्णय हो । सरकारले उपाय निकालोस्,’ एमाले नेता रावलले भनेका छन् ।
नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘निजगढ अन्तर्रास्ट्रिय विमानस्थलका बारेमा सर्बोच्च अदालतको आजको निर्णय अत्यन्तै घातक र प्रतिगामी छ । नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यस मार्फत मुलुकको समृद्धिको यात्रामाथिको बलत हस्तक्षेप हो । माननीय न्यायधिशज्युहरु यो निर्णय सच्याउनु होस् ।’
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सर्वोच्चको आदेशले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो सदाको लागि बन्द भएको जनाएका छन् । ‘सर्वोच्चको परमादेशबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो सदाका लागि बन्द भएको छ । एउटा आशलाग्दो राष्ट्रिय गौरवको आयोजनाको यसप्रकारको अन्त्य दुःखद छ,’ लिङ्देनले भनेका छन् ।
राप्रपा, नेपालका अध्यक्ष कमल थापाले पनि सर्वोच्च अदालतको आदेशलाई दुर्भाग्यपूर्ण बताएका छन् । उनले अदालतको आदेश आश्चर्यजनक रुपमा आएको जनाएका छन् ।
‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसला अनुपयुक्त र दुर्भाग्यपूर्ण छ । वन, वन्यजन्तु र पर्यावरण संरक्षण गरेर चाँडो विमानस्थल बनाउन निर्देशन दिनुको सट्टा दशकौदेखिको राष्ट्रिय गौरव र आर्थिक दृष्टिकोणबाट महत्वपूर्ण आयोजना रोक्नु आश्चर्यजनक छ,’ थापाले भनेका छन् ।
यता, सर्वोच्च अदालतले निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थाल बनाउन रोक लगाएपछि बाराका जनता आन्दोलित भएका छन् । राष्ट्रिय गौरवको आयोजना बारामै बन्ने चर्चा चलेको तीन दशकपछि प्रक्रियाले गति लिँदै गर्दा अदालतबाट रोक लगाउने कार्यले जिल्लाबासीमा असन्तुष्टि छाएको छ ।
निर्णय सार्वजनिक भएसँगै स्थानीयले सर्वोच्चले त्रुटिपूर्ण निर्णय गरेर विकासमा अवरोध गरेको भन्दै सोको विरोध गरेका छन् । जिल्लामा बन्ने राष्ट्रिय महत्व बोकेको गेमचन्जर योजनामाथि अकल्पनीय ढंगले अदालतबाट आदेश हुनु दुर्भाग्यपूर्ण भएको पूर्वमन्त्री एवं एमाले नेता पुरुषोत्तम पौडेलको भनाइ छ ।
उनले विमानस्थल बन्न नदिन दक्षिण (विदेशी)को इसारामा भएको आदेशको प्रतिवाद गर्नु सबै देशभक्त नेपालीको कर्तब्य हो भनेका छन् । ‘सर्वोच्चको आदेश विकास विरोधी फर्मान हो,’ पौडेलले भने ।
संघीय सांसद रामबाबुकुमार यादवले तराई मधेसको विकाससँग मात्रै नभई जीवनसँग खेलवाड गर्नेगरी अप्रत्यासित ढंगबाट आएकाले सर्वोच्चको आदेशले गम्भीर बनाएको बताए । अदाललले सुझाव गर्ने हो । ‘यस विषमा आजसम्म भएका सबै निर्णय नै बदर गर्ने र अर्को स्थानमा बनाऊ भनेर आदेश गर्ने कुराले देश अदालतले देश सञ्चालन गर्ने बाटोबाट अघि बढेको भान हुन्छ’, उनले भने ।
तीन अर्बभन्दा बढी बजेट खर्चेर प्रारम्भिक तयारी पूरा गरिरहेको सन्दर्भमा आएको सर्वोच्चको आदेश पूर्वाग्रही र अदूरदर्शी भएको उनको भनाइ छ । ‘यसले देश र खासगरी मधेस प्रदेशलाई नै बर्वाद पार्छ । भएका निर्णय बदर गर्नु, अर्को ठाउँमा ब्यवस्थापन गर्नु भन्नुभन्दा अदालतले नै देश सञ्चालन गर्नुपर्ने आवस्था आयो । यो निर्णयले मधेस प्रदेशलाई नै असर पारेको छ,’ सांसद यादवले भने ।
नेपाली कांग्रेसका युवा नेता महासमिति सदस्य लोकेश सिंहले सर्वोच्चको यो निर्णयले मधेस प्रदेशसँग सतप्रतिशत धोका भएको बताए । उनले अन्तर्राष्टिय विमानस्थल निर्माणको चर्चाले तराईवासीमा बढेको उत्साह र समृद्धिको सपनालाई सर्वोच्चको निर्णयले तुसारापात गरेको बताए । ‘यो दुर्भाग्यपूर्ण निर्णयले बाराका जनतामा निराशा पैदा भएको छ । कतिका घरमा खाना पाकेन । जिल्लावासीले दबाबका कार्यक्रमको तयारी गरिरहेका छन् । ब्यापक विरोध भइरहेको छ । सर्वोच्चले यो आदेशलाई सच्याओस् भन्ने चाहन्छौं,’ सिंहले भने ।
माओवादी केन्द्रका मधेस प्रदेश कमिटीका सदस्य रविराज दंगालले सर्वोच्चको आदेश नेपाली जनताको भावनाविपरीत भएको बताए । उनले सरकारले २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विमानस्थल निर्माणको कार्यक्रममा अगाडि बढाएकै भोलिपल्ट आएको सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी गर्नुपर्ने बताए । सर्वोच्चको निर्णयविपरीत तत्काल अदालत घेर्न र आन्दोलनमा उत्रन जिल्लावासीलाई दंगालले अपिलसमेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार