किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना
नेपालबहस संवाददाता
फागुन ५, २०८० शनिबार १२:१७:२७
कमलकुमार बस्नेत
५ फागुन, सिन्धुली । कमलामाई नगरपालिका–५ कि किसान गुणकुमारी घिमिरे आफ्नो गोठमा केही दिनअघि मात्रै जन्मिएको होलिस्टाइन (कोरली) गाईको बाच्छी उमा सुवेदीलाई उपहार दिँदै गर्दा निकै खुसी देखिइन् । उपहार दिने घिमिरे र लिने सुवेदी मात्रै होइन यो क्षणको साक्षी बन्न उपस्थित अन्य किसान पनि यो एतिहासिक पललाई रुचिपूर्वक नियालिरहेका थिए ।
गत वर्षको पुसमा हेफर इन्टरनेसनको अग्रसरता र कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक यहाँका ५१ किसानलाई ८० होलिस्टाइन (उच्च आनुवंशिक गुण भएका) बाच्छी वितरण गरिएको थियो । त्यसैमध्ये घिमिरेले पालेको ‘तोसेली’ नामक गाईले नेपालमै पहिलो पटक गत माघ २३ गते बाच्छी ‘गाम्सा’लाई जन्म दिएको थियो । कोरिया सरकारको सहयोगमा प्राप्त भएकाले पहिलोपटक जन्मिएको बाच्छीको नाम पनि कोरियन भाषामै राखिएको हो । ‘गाम्सा’ अर्थात् ‘धन्यवाद’ ।
बाच्छी उपहार प्रदानका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल, कमलामाई नगरपालिलकाका प्रमुख उपेन्द्रकुमार पोखरेल, कोइका नेपालका उपनिर्देशक युन्ही चुङ, हेफर इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष निना जोशी, हेफर नेपालका राष्ट्रिय निर्देशक डा तीर्थराज रेग्मी, कोरियाका सिओल डेरी सहकारीको पिएजेयु डेरी क्लिनिकका अध्यक्ष तथा प्रमुख पशु चिकित्सक डा यङ–चान किन, हेफर कोरियाका कार्यकारी निर्देशक हेवोन लीलगायतको उपस्थिति थियो ।
मेरो गोठमा जन्मिएको गाम्सा उमालाई उपहार दिन पाउनु मेरा लागि सौभाग्य हो, कलिलो गाम्साको शरीर मुसार्दै घिमिरेले भने, गत वर्ष पुसमा गाम्साजस्तै सानो बाच्छी जन्मिएकी थिइन् । आज त्यही गाईबाट जन्मिएको बाच्छी उपहार दिन पाउँदा निकै खुसी लागेको छ ।
उपहार स्वीकार्दै सुवेदीले पनि आफू निकै खुसी भएको बताए । गाईले जन्माएको बाच्छी उपहार दिने चलन पनि कोरियाबाटै चलेको हो । कोरियामा यसलाई ‘पासिङ द गिफ्ट’ भनिन्छ । अर्थात् आफूले प्राप्त गरेको गाईको पहिलो बेतबाट जन्मिने बच्चालाई आफूजस्तै किसानलाई अनिवार्यरुपमा उपहारका रुपमा दिनु हो । यसबाट गाईपालन गर्ने किसानको संख्या बढाउँदै लैजाने र धेरैभन्दा धेरै किसानको आयआर्जन बढाउनु हो ।
गुणकुमारीका पति भोला अधिकारीले गाईले ब्याएको आठ दिनसम्म दैनिक २८ देखि ३० लिटरसम्म दूध दिएको बताए । हामीले गत वर्ष ११ महिनाको उमेरको तोसिली (नेपाली नाम माली) गाई प्राप्त गर्दा तीन सय किलोको थियो । अहिले उसको तौल छ सय ७८ किलो पुगेको छ । बाच्छी जन्मने बेलामा ४५ किलो तौल थियो । गाईले अहिले दैनिक ३० लिटरसम्म दूध दिइरहेको छ, उनले भने ।
अधिकारीले गाई ब्याएको सातौँ दिनदेखि डेरीमा दूध बिक्री सुरु गरेको बताए । डेरीमा दूध प्रतिलिटर रु ७६ देखि रु ७७ सम्म बिक्री भएको छ । गाई ब्याएको २२ दिनदेखि दूध बढ्ने छ । तेह्र महिनासम्म गाई पाल्दा करिब रु एक लाख ७५ हजार खर्च भएको उल्लेख गर्दै उनले दूध बिक्रीबाट लागेको खर्च तीनदेखि चार महिनामा उठिसक्ने बताए । सो गाईको दूध बिक्रीबाट मासिक रु ६० हजारसम्म आम्दानी गर्ने अधिकारीको लक्ष्य छ ।
गत वर्ष यसरी होलिस्टाइन बाच्छी पाउनेमा तल्लोराजपानी महिला उद्यमी समूहकी सदस्य रुकमणि अधिकारी पनि हुन् । उनले तत्कालीन समयमा दुई गाई पाएकी थिइन् । अहिले दुवै गाई गर्भवती छन् । गत वर्षको पुसमा हामीले गाईका बाच्छी पाउँदै गर्दा कहिले ठूलो होलान र ब्याउलान, अनि आम्दानी गर्न पाइएला भन्ने लागेको थियो, तर तीमध्ये एउटा गाई ब्याएको छ, उनले भनिन् । होलिस्टाइन गाईले पर्याप्त दूध दिने भएकाले यसको बिक्रीबाट आम्दानी बढाउन सकिन्छ भन्ने विश्वास जागेको छ ।
कमलामाई नगरपालिकामा होलिस्टाइन गाईपालनका लागि विभिन्न नाममा महिलाका समूह पनि गठन भएका छन् । यहाँ दमार महिला समूह, गैँयादेवी महिला समूह, तल्लोराजपानी महिला उद्यमी समूह, माथिल्लो राजपानी महिला उद्यमी समूहलगायत छन् । यी समूहमा हाल एक सय नौ महिला आबद्ध छन् । विभिन्न समूहमा विभाजन भए पनि गाईपालनमा भने एक अर्काबीच सहकार्य भइरहने अधिकारीले बताउनुभयो । गाईलाई खुवाइने दाना पनि हेफरले ३० प्रतिशत छुटमा उपलब्ध गराउँदै आएको छ ।
गत वर्ष कमलामाई–४ र ५ मा हेफर इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सिन्धुली एकीकृत विकास सेवा नेपाल र लाभान्वित समुदायको सहकार्यमा दुग्ध क्षेत्र रुपान्तरण परियोजना सञ्चालन गरिएको थियो । उक्त परियोजना नेपाल सरकार तथा हेफर कोरियाबाट नेपालको दुग्ध क्षेत्र रुपान्तरण गर्ने उद्देश्यले सुरु भएको हो । तत्कालीन समयमा प्राप्त भएका ८० मध्ये पाँच गाई भने मरिसकेका छन् । हाल ७३ गाई गर्भवती छन् ।
‘मिल्की वे’ परियोजना
नेपाल सरकार, दक्षिण कोरिया सरकार र कमलामाई नगरपालिकाको संयुक्त पहल तथा हेफर इन्टरनेसनलको सहजीकरणमा यहाँ ‘मिल्की वे’ परियोजना सुरु भएको छ । सोही परियोजनाअन्तर्गत होलिस्टाइन गाई यहाँका किसानलाई वितरण गरिएको हो । गत वर्ष ५१ किसानलाई ती गाई वितरण गरिएका थिए । आगामी पाँच वर्षमा पाँच सय किसानलाई होलिस्टाइन गाई वितरण गर्ने लक्ष्य रहेको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले बताए ।
यसै परियोजनाअन्तर्गत अहिले यहाँ नेपाल–कोरिया मोडेल डेरी भिलेज उद्घाटन गर्न पाउँदा खुसी लागेको छ । नगरपालिकालाई दूध र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी परियोजना सुरु भएको हो । यस परियोजनामार्फत अन्तर्राष्ट्रिय गुणस्तरको दूध उत्पादन गर्दै किसानको जीवनस्तर उकास्ने लक्ष्य रहेको छ, उनले भने ।
हाल नगरपालिकामा मासिक ३० हजार लिटर दूध उत्पादन भइरहेकामा मिल्की वे परियोजनाअन्तर्गत प्राप्त भएका होलिस्टाइन गाईमार्फत आगामी दुई वर्षमा मासिक दुई लाख लिटर दूध उत्पादन हुने अपेक्षा गरिएको प्रमुख पोखरेलले जानकारी दिए । यहाँको माग मासिक ३० देखि ३५ हजार लिटर दूध हो, आगामी दिनमा दूधको उत्पादन बढेसँगै बजारीकरणका लागि नेपाल–कोरिया मोडेल डेरी भिलेज स्थापना गरेका छौँ, उनले भने ।
परियोजनामार्फत दूधको बिक्री बढाउन दुग्धजन्य पदार्थको उत्पादन गर्ने योजना रहेको प्रमुख पोखरेलले बताउनुभयो । “उत्पादन हुने दूधबाट ‘डट्स’ बनाएर विदेशमा निर्यात गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । मिल्की वे परियोजनाले दूधमा मात्रै आत्मनिर्भर नबनाएर किसानको आम्दानी पनि बढाउने छ ।
गत मंलबार मोडेल डेरी भिलेजको उद्घाटन गर्दै नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले यो कोरियाद्वारा अन्य मुलुकमा स्थापना गरिएको पहिलो डेरी भिलेज भएको बताए । यस वर्ष दक्षिण कोरिया र नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवस्थामा होलिस्टाइन गाईको पहिलो बाच्छीको आगमन दुई देशबीचको चिरस्थायी मित्रताको प्रतीक बनेको हो ।
सरकारी तथ्यांकअनुसार नेपालमा वर्षमा २५ लाख ७० हजार मेट्रिक टन दूध उत्पादन हुन्छ । साथै दैनिकरुपमा ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने र त्यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा, ३३ प्रतिशत अनौपचारिक क्षेत्र तथा बाँकी ५० प्रतिशत घरेलू प्रयोजनमा खपत हुने गरेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सरकारले २० रुपैयाँ थपेपछि प्रतिक्विन्टल ५८५ पुग्यो उखुको समर्थन मूल्य
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार