तामाको छानो छाइएपछि मन्दिर आकर्षक, दातालाई सम्मान
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १५:३४:५७
१ चैत, तनहुँ । हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी बजेट पार्न दौडधुप गर्ने प्रचलन कायमै छ । तर तनहुँको व्यास नगरपालिका–७ कोटथोकमा स्थानीयको चन्दा सङ्कलनबाट प्रसिद्ध क्यामिन कालिका मन्दिरमा तामाको छानो छाउने काम सम्पन्न भएको छ । क्यासमिरी पदमार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल क्यामिन कालिका मन्दिरमा तामाको छानो छाउने काम सकिएपछि चन्दा दातालाई सम्मान गरिएको छ ।
चन्दा सङ्कलन गरी उक्त मन्दिरमा तामाको छानो छाएर चन्दा दातालाई सम्मान गरिएको मन्दिर निर्माण अनुगमन समितिका अध्यक्ष शम्शेरबहादुर कुँवरले बताए । उनका अनुसार क्यामिन घर भई देश तथा विदेशमा रहेका क्यामिनवासीसँग चन्दा सङ्कलन गरिएको थियो । मन्दिरमा तामाको छानो छाउन करिब रु २१ लाख चन्दा सङ्कलन भएको थियो । त्यसमध्ये रु २० लाख खर्च भएको कुँवरले जानकारी दिए ।
“मन्दिरलाई धार्मिकस्थल बनाउने उद्देश्यले चन्दा सङ्कलन अभियान चलाएका थियौँ, क्यामिन घर भई देशका विभिन्न ठाउँमा रहेका स्थानीयवासीले यसमा सहकार्य गरे । हामीले सरकारीस्तरको बजेटको मुख ताक्नुभन्दा स्थानीयवासीबाटै चन्दा सङ्कलन अभियान चलाएका हौँ”, उनले भने ।
यसअघि मन्दिरमा ढुङ्गाको छानो थियो । तामाको छानो छाइएपछि मन्दिर आकर्षक देखिएको छ । ललितपुरबाट कालीगढ ल्याएर तामाको छानो छाइएको हो । तामाको झल्लरमा बुट्टा कुँदिएको छ । ढोका पनि आकर्षक बनाइएको छ । क्यामिन कालिका मन्दिर प्रसिद्ध धार्मिकस्थल हो । कालिका मन्दिर साविक क्यामिन गाविसमा पर्दछ । यस मन्दिरमा साविकका १ देखि ८ वडासम्मको पूजा हुन्छ । पुस र साउन महिनाबाहेक प्रत्येक महिनाको अष्टमीको दिन पूजा गरिने यस मन्दिरमा बडादशै र चैते दसैँमा विशेष पूजा गरिँदै आएको छ । पूजा गर्दा हरेक वडाबाट एउटा पाठी अनिवार्य ल्याउनुपर्छ ।
मन्दिरमा पाठी, राँगो, हाँस, परेवा र भेडा गरी पञ्चबली दिने प्रचलन रहेको छ । यहाँ पञ्चबली दिँदा इच्छाएको पुग्ने जनविश्वास रहिआएको छ । मन्दिरमा तीन, चार सय वर्ष पुराना घण्टासमेत अवलोकन गर्न पाइन्छ । साथै मन्दिर परिसरमा दुई हजार चार सय राज्यको पालोमा सुरक्षाका लागि बनाएको गढीसमेत छ । क्यामिन कालिका मन्दिरलाई गोरखा कालिकाको बहिनीसमेत भनिने स्थानीय बताउँछन् ।
एक हजार दुई सय ३० मिटर उचाइमा अवस्थित क्यामिन कालिका मन्दिर सदरमुकाम दमौलीबाट १४ किलोमिटरको दूरीमा छ । यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीयवासी कस्सिएका छन् । कुँवरले भने, “यस ठाउँ प्रचारप्रसारको अभावमा ओझेलमा परेको महसुस हुँदै आएको छ । हामीले यसको धार्मिक महत्वसहित प्रचारप्रसारमा जोड दिएका छौँ ।” सदरमुकामबाट नजिक रहेकाले पनि यस ठाउँ गन्तव्यस्थलका रुपमा विकास हुनसक्ने उनको भनाइ छ ।
मन्दिर परिसरमा गाह्रो लगाई चाइनिज इँटाको टायल लगाउने योजना बनाइएको छ । तर त्यसका लागि आर्थिक अभाव छ । क्यामिन कालिका मन्दिर पूजा तथा संरक्षण समितिका अध्यक्ष इमानसिंह गुरुङले मन्दिरको थप विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने बताए ।
दसैँको घटस्थापनाको दिन पहिला मन्दिरमा पूजा गरेर मात्र घरघरमा जमरा राख्ने प्रचलन रहेको छ । उक्त मन्दिर चौबिसे राज्यको पालामा स्थापना भएको धार्मिक मान्यता छ । यहाँ विसं १७०० सालको घण्टी भेटिएको स्थानीय बताउँछन् । मन्दिरमा एक ब्राह्मण पुजारी छन् ।
क्यामिन कालिका मन्दिरसमेत समेटिएको क्यासमिरी पदमार्गलाई प्रबर्द्धनका लागि व्यास नगरपालिकाले पनि चासो देखाएको छ । साविक क्यामिन, सतिस्वाँरा, मिर्लुङ र रिस्ती गाविसलाई समेटेर बनाइएको ‘क्यासमिरी’ पदमार्गको नगरपालिकाले सम्भाव्यता अध्ययन गरिसकेको छ ।
तत्कालीन जिल्ला विकास समिति तनहुँले यो मार्गको अध्ययन गरेको थियो । त्यसबेला पदमार्गको अध्ययन गरेर नक्सा तयार पारिएको थियो । व्यास नगरपालिका–७ सादीबैगैँचाबाट सुरु हुने २८ किमी दूरीको पदमार्ग लमजुङको कुन्छासम्म पुगेर टुङ्गिन्छ ।
पर्यटनविद् हरिसिंह गुरुङले सांस्कृतिक, प्राकृतिक र धार्मिक दृष्टिकोणले पदमार्ग उपयुक्त रहेको बताए । उनका अनुसार यो पदमार्गमा ७५ प्रतिशत टाकुरैटाकुरोमा पदयात्रा गर्न पाइन्छ ।क्यासमिरी जिल्लाका उत्कृष्ट पाँच पदमार्गमध्ये एक हो । जिल्लाको साविक क्यामिन, सतिस्वाँरा, मिर्लुङ र रिस्ती गाविसको पहिलो अक्षर मिलाएर क्यासमिरी नामकरण गरिएको हो । हाल क्यासमिरीका अधिकांश क्षेत्र व्यास नगरपालिका भित्र पर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार