गृहमन्त्री र आईजीपीबीच खटपट ?
यी प्रहरीलाई किन जोगाउन खोजिदैछ ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार ११:७:२०
६ कात्तिक, काठमाडौं । गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरबीच खटपट उत्पन्न भएको छ । प्रहरी प्रधान कार्यालयले गर्ने सरुवामा गृहमन्त्रीलाई सामान्य शिष्टचार पनि नराखेपछि खटपट उत्पन्न भएको हो । 'जता मल्कु उतै ढल्कु' स्वभावका आईजीपी कुँवर आजकल गृहमन्त्री लेखकसँग भन्दा प्रधानमन्त्री ओलीलाई खुशी बनाउने रणनीतिमा रहेको बताइन्छ ।
प्रहरी प्रधान कार्यालयले मोरङका एसपी नवराज कार्कीलाई तानेपछि त्यहाँ राजन लिम्बूलाई पठाइएको थियो । गृहमन्त्रीलाई सामान्य शिष्टचार पनि नराखी मोरङमा प्रहरी उपरीक्षक (एसपी) पठाएपछि कोशी प्रदेशका कांग्रेस नेताहरूले असहमति प्रकट गरेका थिए । त्यसपछि लिम्बूको काज सरुवा भएको तीन दिनमै प्रहरी प्रधान कार्यालयले एसपी नारायण चिमोरियालाई पठाउनु परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कार्की आर्थिक अनियमिततामा मुछिएको भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियो । आर्थिक विवाद आएपछि प्रहरी प्रधान कार्यालयले उनलाई फिर्ता बोलाएर एसपी लिम्बूलाई पठाएको थियो । तर गृहमन्त्रीले लिम्बूको स्थानमा अरु नै पठाउन भनेपछि चिमोरियालाई मोरङ पठाइएको हो । २०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा तानिएका हुन् । उनले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोप छ । क्रिप्टोको कारोबारीको सूचना लिएर पक्राउ नगर्ने र मुद्दा नचलाउने शर्तमा कार्कीले २२ लाख रकम बुझेको आरोप छ ।
क्रिप्टो कारोबार गर्नेसँग रकम बुझ्न उनले जिप्रकामा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराईलाई पठाएको प्रदेश प्रहरी कार्यालयले गरेको प्रारम्भिक छानबिनबाट थाहा भएको स्रोतको दावी छ । छानबिनका लागी निगरानीमा राखिएका इन्स्पेक्टर भट्टराईले आफूले रकम लिएर कार्कीलाई बुझाएको ‘साबिति बयान’ छानविन समितिसमक्ष दिएको बताइएको छ ।
घटना छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा समिति गठन गरिएको कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले बताए । खापुङले भने, ‘छानबिन समितिले काम गरिरहेको छ, प्रतिवेदन आएपछि मात्रै तथ्य थाहा हुन्छ ।’
छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउतलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको छ । घटना बाहिरिएसँगै छानबिन गर्न गठित समितिले एकजना बिचौलियाबाट ३ लाख रुपैयाँ बरामद गरेको छ । प्रहरीले ती बिचौलियाको नाम भने सार्वजनिक गरेको छैन । सो रकमबारे अनुसन्धान भइरहेको छानविनमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
कार्की प्रहरी प्रधान कार्यालय तानिएपछि उनको स्थानमा लिम्बुलाई पठाउँदा कोशी प्रदेशका कांग्रेस नेताहरूले गृहमन्त्री रमेश लेखकलाई फोन गरेर असहमति प्रकट गरेका थिए । त्यसपछि नारायण चिमोरियालाई पठाइएको छ । उनी पनि एमाले निकट झापाली हुन । नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीमा कार्यरत थिए । मोरङमा काज सरुवा भएपछि उनले गणबाट बिदाइ लिएका छन् र १–२ दिनभित्र मोरङमा हाजिर हुने छन् । कात्तिक २ मा प्रहरी प्रधान कार्यालयले एसपी लिम्बूलाई पठाउने निर्णय गरेको थियो ।
गृहमन्त्री लेखकलाई कांग्रेस नेताहरूले लिम्बूको सरुवाप्रति आपत्ति जनाएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरले आफ्नो निर्णय सच्चाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । एसपी लिम्बू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) थिए । उनी डीएसपीमा ताप्लेजुङको इन्चार्ज हुँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामलाई ज्यान मार्ने धम्की दिएका थिए । जो हाल प्रदेशका मन्त्री हुन् । उनीसँगको खटपटकै कारण लिम्बूको काज सरुवा रोकिएको हो ।
प्रदेश प्रहरीले किन लुकाउँदै छ यी प्रहरीको नाम ?
बेलबारीमा सञ्चालित महोत्सवका बेला क्रिप्टो कारोबारीबाट रकम असुल्ने मध्य मुख्य भूमिका निर्वाह गर्ने प्रहरी जवान सुलभ चौधरीका बारेमा भने कोशी प्रदेश प्रहरी मौन रहेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट बेलबारी एरिया हेर्ने जिम्मा पाएका घुमुवा प्रहरी चौधरीलाई यही काण्डमा प्रदेश प्रहरी कोशीले तानेपनि उनको नाम मिडिया समक्ष लिने गरिएको छैन । उनलाई जोगाउन निकै ठूलो कसरत भइरहेको बताइएको छ । मोरङका पुराना घुमुवा मध्ये सिपालु मानिने चौधरीले सुन्दरहरैंचा, लेटाङ, बेलबारी क्षेत्रका तस्कर र गिट्टी बालुवा ठेकेदारबाट मोटो रकम असुलेर हाकिमहरूलाई बुझाउने गरेका छन् ।
यस्तै जागीर खाएदेखि मोरङ नछाडेका अर्का घुमुवा सहायक हबल्दार उत्तम कार्कीले आईपीएल सट्टेबाजी, हुण्डी, ट्रान्सपोर्ट, गजल, डान्स रेण्टुरेन्टहरुबाट कुस्त रकम उठाएर मोरङ एसपीदेखि प्रदेश डीआईजी तथा हेडक्वार्टरसम्म नै हप्ता बुझाउने गरेको बताइन्छ । विगत १०–१२ वर्षदेखि मोरङ मै घुमुवा खटिएका उनी मोरङ, इलाम दरबन्दी हुँदै हालै बढुवा भएर पुन मोरङ मै सरुवा मिलाउनेमा पर्छन् । इलाम लगायतमा दरबन्दी हुँदा पनि उनी काजमा मोरङ नै बस्ने गरेका छन् ।
यसबाहेक मोरङ मै अड्डा जमाएर कुस्त उठाउने अर्का खुंखार घुमुवाहरुमा रंगेली इलाका प्रहरी कार्यालयका घुमुवा सई भूवन श्रेष्ठ र जवान मनि तामाङ रहेका छन् । सो एरियाबाट हुने सम्पूर्ण तस्करीको उठ्तीपुठ्ती यिनै दुई घुमवाले असुली माथिल्लो तहमा पठाउने गरेकाले उनीहरू पनि विगत ५–७ वर्षदेखि मोरङ छोड्नु परेको छैन । सई भुवन श्रेष्ठको दरबन्दी भने दुहबी दंगा गणमा रहेको छ । अन्य सबैलाई आ–आफ्नो दरबन्दीमा रमाना गर्दा यिनले भने मोरङ मै रजगज गर्ने मौका पाइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार