भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १८:३:१६
११ जेठ, काठमाडौं । नेपालका ठूला उद्योगपति भनेर चिनिएका विनोद चौधरी र उनको परिवारभित्रको लगानी र त्यसको स्रोत खोजिने भएकाे छ । एकपछि अर्को गर्दै उनले गरेका राजश्व ठगी र स्वदेशी व्यवसायीमाथिका आतंकित व्यवहारले अब विस्तारै चौधरीलाई अधोगतिमा पुर्याउने व्यवसायीहरू बताउँछन् । सरकारका तर्फबाट उनले ठगेको राजश्व र देशभरी हडपेका सरकारी जग्गा खोज्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरिसकेको छ भने नेपालका वास्तविक उद्योगी र व्यवसायीहरूले पनि उनीविरुद्ध विस्तारै मोर्चाबन्दी बनाउन सुरु गरेका छन् ।
पछिल्लो समय सन् २०१३ को फोर्ब्स पत्रिकाले अर्बपतिको सूचीमा राखेपछि नेपालमा उनले अर्बपतिको पहिचान बनाएका थिए । खासमा उनी वाईवाई चाउचाउका उत्पादक हुन् । दुई महिना अगाडि उनी र उनका कान्छा भाइ अरुण चौधरी सरकारी जग्गा हिनामिना प्रकरणमा समातिएपछि चौधरी समूहको कर्तुतको व्यापक चर्चा बजारमा भएको थियो ।
पञ्चायतकालमा दरबार, बहुदल कालमा कांग्रेस, एमाले र माओवादीमा समेत प्रभाव जमाएर राज्य संयन्त्रलाई नै आफ्नो मुठ्ठीमा लिनसक्ने पहुँच बनाएका विनोद चौधरी यतिबेला मल्टिनेशनल कम्पनीको बिजनेस म्यान बन्ने महत्वाकांक्षी दौडमा लागेर अरु स्वदेशी व्यवसायीहरूलाई धम्क्याउँदै हिँड्न थालेकाे आरोप उनीमाथि लागेको छ ।
जानकारहरूका अनुसार नेपाल आएर उद्योगपति बनेका विनोद चौधरीको नेपालसँगको नातो भने उनीअघिको दुई पुस्ता मात्र जोडिन्छ । उनका हजुरबा भारतीय नागरिक थिए । विनोदले अहिले आफ्ना दुई जना छोरालाई समेत अर्ध नेपाली बनाएका छन् । विनोद चौधरीका हजुरबा भूरामल चौधरी किशोरावस्थामै मंगल साहुको कपडा पसलमा काम गर्न भारतबाट काठमाडौं छिरेका थिए । अहिले तिनै भुरामलका नातिहरू नेपालको शक्तिशाली व्यापारिक घराना बनेर देश ठगिरहेकाे आरोप उनीमाथि लागेकाे छ ।
भूरामल चौधरी साडी, चोलो, कछाड, दौरा सुरुवाल लगायतका कपडाको कुम्ला बाेकेर गल्ली गल्ली बेच्न हिड्ने गरेकाे जानकारहरू बताउँछन् । अहिलेका चर्चित उद्योगपति विनोद चौधरीका हजुरबुबा भुरामल चौधरी मखनटोलमा कपडा व्यापार गर्ने मखन साहुको कामदारका रुपमा राजस्थानबाट नेपाल आएका हुन् । उनले काठमाडौं आएर मखन साहुको कपडा गद्दीमा काम गर्न थाले । कपडा काट्ने कैंची उनको जागिरको मुख्य सहारा बन्न पुगेकाे बताइन्छ ।
स्राेतका अनुसार भूरामल चौधरी मखन साहुका लागि कपडा खरिद गर्न काठमाडौंबाट चिसापानीगढीको बाटो हुँदै वीरगञ्जसम्म हिँडेरै जान्थे । रक्सौलबाट रेल चढेर भारतका विभिन्न शहरका कपडा मण्डीहरुमा पुग्थे र कपडा किनेर मखन साहु कहाँ फर्कन्थे । भारतका कपडा मण्डीहरुमा सम्पर्क रहेको र काठमाडौंमा व्यापार गर्ने तरिकासमेत थाहा पाएपछि भूरामलले मखन साहुलाई छाडे । उनी आफैं कपडाको पोको बोकेर काठमाडौंका गल्लीमा डुल्न थाले । काँधमा कपडा बोकेर राणाका पटांगिनीसम्म पुग्थे । विनोद चौधरीका बुबा लुनकरणदास चौधरी पनि १०-१२ वर्षको उमेरदेखि नै लुखुर–लुखुर बाबुका पछिपछि दौडन्थे । कपडा बेच्न आफ्ना बुबालाई सघाउँथे । कपडा बेच्ने क्रममा लुनकरणदास चौधरी रानीका खोपीसम्म पुग्ने गरेकाे बताइन्छ ।
जानकारहरूका अनुसार भारतबाट नयाँ माल आउनासाथ भूरामल कपडाको कुम्लो लिएर बिक्रीका लागि दरबारतिर लागिहाल्थे । विसं १९९० को भुइँचालो आउनु अघिसम्म विनोद चौधरीका हजुरबा डुलुवा कपडा व्यापारीकै रुपमा रहे । त्यसबेला काठमाडौंमा बाहिरिया व्यापारीको विरोध हुन थाल्यो । राणा सरकारले केही भारतीय व्यापारीलाई देश निकाला पनि गर्यो । तर, ९० सालको भूकम्पपछि भूरामल चौधरीले भने अहिलेको विशालनगर छेउ (जुद्ध सडक) मा कपडा दोकान थापे । पसलको नाम थियो– ‘भूरामल लुनकरणदास चौधरीको कपडा पसल ।’
तर अहिले उनैका नाति विभिन्न व्यवसायी घरानाहरुलाई आतंकित बनाइरहेकाे व्यवसायीहरू बताउँछन् । विभिन्न गैरकानुनी कारोबारबाट नेपाल छिरेको तीन पुस्तामै अर्बपति बनेका विनोद चौधरीविरुद्ध यतिबेला नेपालका घराना उद्योगी व्यवसायीहरु एक भएर लड्ने तयारीमा जुटेकाे बताइएकाे छ । चौधरीले नेपालको पुराना औद्योगिक समूहको व्यवसायीक कारोबारमाथि कुनै न कुनै तरिकाले हतोत्साही र प्रभावित बनाउने काम गर्न थालेपछि अन्य औद्योगिक समूहहरु आक्रोशित भइरहेका छन् ।
चौधरीले पछिल्लो समय लामो समयदेखि भारतीय कम्पनी मोटाकर्पको नेपाली एजेण्ड बनेर उसले उत्पादन गर्ने हिरो मोटरसाइकल र यससँग सम्बन्धित पार्टपुर्जाको व्यवसायीक कारोबार ज्योति समूहबाट खोसेका थिए । ज्योति समूहमा पारिवारिक अंशवण्डा चलिरहेको मौका पारेर चौधरीले यो व्यवसायीक कारोबार आफ्नो हातमा पारेका हुन् । अंशवण्डाको क्रममा हिरो र होन्डा दुई जनाले बाँडेर बेचिरहेको अवस्थामा भारतीय कम्पनी मोटाकर्पलाई परिबन्दमा पारी चौधरीले सम्झौता तोड्न लगाएको व्यवसायीहरू बताउँछन् ।
अनेक प्रपञ्च रच्दै ज्योति समूह डुबाएर चौधरीले हिरो आफ्नो पोल्टामा पारेका हुन । उद्योगीहरुको भनाइमा विनोद चौधरीका हजुरबा भूरामल भारतको राजस्थानस्थित शेखावटीमा जन्मेका हुन । उनी भारतमा खान नपाएर नेपालमा काम खोज्दै आएका थिए । भूरामल चौधरी मखन साहुकोमा काम गर्दागर्दै उनका लागि कपडा खरिद गर्न काठमाडौंबाट चिसापानीगढीको बाटो हुँदै वीरगञ्जसम्म हिँडेरै जान्थे । रक्सौलबाट रेल चढेर विभिन्न शहरका कपडा मण्डीहरुमा पुग्थे र कपडा किनेर मखन साहु कहाँ फर्कन्थे,एक उद्योगीले नेपालबहससँग भने ।
भारतका कपडा मण्डीहरुमा सम्पर्क रहेको र काठमाडौंमा व्यापार गर्ने तरिकासमेत थाहा पाएपछि भुरामलले मखन साहुलाई धोका दिएर आफैं कपडाको पोको बोकेर काठमाडौंका गल्लीमा डुल्ने गर्थे । अहिले उनेकै नाति विनोद चौधरी अर्बपति भएर अन्य उद्योगी व्यवसायीहरूको व्यवसायमा कुदृष्टि लगाएर हडप्ने कोशिश गरिरहेकाे आरोप उनीमाथि लागेको छ । विश्वकै ठूलो मोटरसाइकल र स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पको आधिकारिक बिक्रेता ज्योति समूहबाट खोसेर सीजी मोटर्स बनाएका छन् ।
चौधरीले भारतीय एजेन्ट लगायतलाई आफ्नो पक्षमा पारेर ज्योति समूहबाट हिरो मोटोकर्पको सोल बिक्रेता आफ्नो पक्षमा पारेपछि व्यवसायीक जगतमा उनको विरोध भइरहेको छ । नेपालमा केही समय अघिसम्म एक कम्पनीले चलाउनै नसक्दा मात्र अर्को कम्पनी विकल्पको रूपमा जाने गरेको भए पनि चलिरहेको ब्राण्डलाई आफ्नो पक्षमा पार्ने अस्वस्थ प्रतिस्पर्धा चौधरी समूहले गरेको भन्दै नेपालका अन्य मोटर बिक्रेताहरू चौधरी विरुद्धमा एक हुन थालेका छन् ।
यसरी अस्वस्थ प्रतिस्पर्धा सुरु गरेका चौधरीले कसको कम्पनीमा कति बेला धावा बोल्ने हुन भन्न सकिने अवस्था छैन । सीजी समूहमा सुजुकी ब्राण्ड विनोद चौधरीका भाइ अरुणले बिक्री गरिरहेका छन् । छोरा निर्वाणले विद्युतीय गाडी बेच्न सुरु पनि गरिसकेका छन् । चौधरीले ज्योति समूहले गरिरहेका व्यवसायमा हात हालपछि अहिले हुलास समूहले पनि चौधरीमाथि निगरानी सुरु गरेको छ । गोल्छा समूहको हुलासले बजाज नेपालमा उत्पादन गरिरहेको अवस्थामा चौधरीले हिरो बदनियतपूर्ण ढंगले कब्जा गरेपछि निगरानी बढाएको हो ।
नेपालमा हिरोको आधिकारिक बिक्रेता ज्योति समूहको एनजीएम कम्पनी थियो । करिब ४० वर्षपछि हिरोको आधिकारिक बिक्रेताबाट अब ज्योति समूहलाई चौधरीले बाहिर पुर्याएका छन् । चौधरीले हिरो मोटोकर्पसँग अनैतिक ढंगले सम्बन्ध बढाएर एनजीएमसँग सम्झौता नवीकरण बदर गर्न लगाएका थिए ।
विनोद चौधरी आफूलाई मारवाडी समुदायको सदस्य भनेर चिनाउँछन् । तर, उनी गोल्छा, टिबडेवाला, केडियाजस्ता मारवाडी समुदायकाे नभएकाे दावी समाचार स्राेतकाे छ । पछिल्लो समय चौधरीको घरानियाँ उद्योगीसँग नकारात्मक सम्बन्ध बढिरहेको बताइएकाे छ । अहिले चौधरी व्यवसायीहरूको समूहबाट एक्लिदै गएका मात्र छैनन्, उनीमाथि कर छलेको र सरकारी जग्गा हडपेका आरोपहरू पनि पुष्टि हुँदै गएका छन् । अरूको व्यवसायमाथि सधैं कुदृष्टि लगाउने विनोद चौधरी र उनको समूह कुन बेला खाल्डोमा पर्ने हो यसै भन्न सकिने अवस्था छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार