जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार १९:१२:४०
७ जेठ, सिमकोट (हुम्ला) । एक मात्र यहाँको जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गए पनि जिल्ला अस्पतालमा औषधिको अभाव छ ।
पन्ध्र शैयाको जिल्ला अस्पतालमा बैशाखयतादेखि औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका हुन् । चिकित्सकले लेखेको औषधि निजी मेडिकलमा किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ । पानी नपर्दा यो समय जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । रूघाखोकी, पखालालगायत सबैखाले बिरामीले उपचारका लागि जिल्ला अस्पताल पुग्दा उपचारपछि औषधि वितरण कक्षमा औषधि नपाउने गरेको गुनासो गरेका छन् ।
जिल्ला अस्पतालमा पाइने निःशुल्क औषधिसमेत पाउन नसकेको खार्पुनाथ गाउँपालिका–३ रायका धनबहादुर टमाटाको गुनासो छ । आफू बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना गरेर अस्पतालमा रहे पनि चिकित्सकको लेखिदिएको अनुसारको औषधि मेडिकलबाट किनेर ल्याएको उनले बताए । रु चार हजारसम्मको औषधि निजी मेडिकलबाट किनेको र अस्पतालमा भिटामिनसमेत नभएको टमटाले गुनासो गरे ।
जाँचपछि औषधि लिन जाँदा जिल्ला अस्पतालको औषधि वितरण कक्षमा औषधि नपाएर सेवाग्राही फिर्ता हुन्छन् । चिकित्सकले लेखेको औषधि जिल्ला अस्पतालमा नपाउँदा निजी मेडिकलमा जानुपर्ने बाध्यता छ । निजी मेडिकलमा औषधि किन्नका लागि आर्थिक अवस्था कम भएको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका झप्री सुनारको गुनासो छ । जिल्ला अस्पतालले निःशुल्क दिने औषधिसमेत नपाएको उनको गुनासो छ । चिकित्सकले बिरामी पुर्जामा औषधि लेखिदिए पनि औषधि वितरण कक्षमा औषधि नभएको भनेर निजी मेडिकलमा खरिद गर्न पठाउने गरेको उनको भनाइ छ ।
वैशाख यतिदेखि जिल्ला अस्पतालमा बिरामीको चाप बढेको मेडिकल अफिसर तथा चिकित्सक सुर्जनकुमार सिंहले बताए । उनका अनुसार आइतबार र सोमबार ८० जनासम्म बिरामी पुग्छन् भने अन्य दिन ५० जनाभन्दा कम हुँदैनन् । लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उनको भनाइ छ । गाउँघरबाट एक–दुई दिनको पैदल हिँडेर सवारी साधन पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेको चिकित्सक सिंहले बताए ।
उनी भन्छन्, “जिल्ला अस्पतालमा औषधिको चरम अभाव छ, आकस्मिक कक्षमा आकस्मिक सेवाका लागि भर्ना भएका बिरामीले समेत बान्ता रोक्ने लगायत औषधि नभएको समस्या मैले भोगेको छ ।” बिरामीलाई अति आवश्यक पर्ने औषधि पनि नभएको चिकित्सक सिंह बताउँछन् । आकस्मिक कक्षमा औषधि अभावको समस्या आफूले प्रत्यक्ष भोगिरहेको चिकित्सक सिंहले बताए । बहिरङ्ग सेवामा झन् औषधि अभावको समस्या रहेको छ ।
अस्पतालमा औषधिको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंह स्वीकार्छन् । जहाज नचल्दा खरिद गरेर हुम्ला पुग्ने औषधि नेपालगन्जमा थन्किएको प्रमुख सिंहको भनाइ छ । अबको एक–दुई दिनमा जहाज सञ्चालन भएमा नेपालगञ्ज थन्किएका औषधि ढुवानी भएर हुम्ला आइपुग्ने प्रमुख सिंहले बताए ।
उनले भने, “गाउँमा भएका स्वास्थ्य चौकीमा औषधि पाउन मुस्किल हुन्छ, अस्पतालमा पुग्दा राम्रो औषधि र चिकित्सकको जाँचको आशामा बिरामी पुग्छन्, चिकित्सकबाट जाँच पाएको भए पनि चिकित्सकले लेखेको औषधि नपाउँदा सेवाग्राही बिरामी रित्तो हात लिएर फिर्ता हुन बाध्य छन्, जिल्ला अस्पतालमै औषधिको चरम अभावको समस्या समाधान चाँडो गर्न आवश्यक छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था
माघ १४, २०८१ सोमबार
सुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार