अर्जुनधारा नपाको विवाद मिलाउन आयोगलाई जिम्मा


Share This


नेपालबहस संवाददाता    45 Views

१९ असार, काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाको मतगणनामा विवाद भएपछि समाधानका लागि निर्वाचन आयोगलाई पत्राचार गरिएको छ ।

दलहरुबीच विवाद बढेपछि समाधानका लागि आयोगलाई पत्रचार गरिएको निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले जानकारी दिए । “विवाद समाधानका लागि आयोगको निर्णय पर्खिरहेका छौँ”, निर्वाचन अधिकृत खतिवडाले भने, “आयोगबाट जे निर्णय हुन्छ, त्यही गर्छौं ।”

विवादका कारण त्यहाँको मतगणना आइतबार दिउसो १ बजेदेखि स्थगित भएको थियो । आइतबार दिनभर दलहरुबीच सहमतिको प्रयास गरिए पनि असफल भएको छ । वडा नम्बर २ को मतपत्रको अर्धकट्टी र खसेको मत बराबर भेटिए पनि मत फारममा केरमेट भएको पाइएपछि विवाद भएको हो ।

सात सय ८८ मतपत्र रहेको वडा नम्बर २ को एउटा मत पेटिकामा उल्टो सिल लागेको र मत पेटिकाको मत र खसेको मतअन्तर भएको नेपाली काँग्रेसले आरोप लगाएको छ । काँग्रेसले धाँधली भएको भन्दै पुनः मतदानको माग गर्दै निवेदनसमेत दर्ता गराएको छ ।

नेकपा (एमाले)का नेता प्रेमसागर सापकोटाले मतगणना रोक्नुपर्ने कुनै विवाद नभएको बताए ।

असार १५ गते बिहान १० बजेदेखि अर्जुनधाराको मत गणना सुरु भएको थियो । अर्जुनधाराको वडा नम्बर १ मा एमाले र ३ मा काँग्रेसको प्यानल नै विजयी भइसकेको छ ।

दीपायल सिलगढी नगरपालिकाको २० मतपत्र गायब
दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो । ९ नं वडाको मतगणना रोकिएको छ । ९ नं वडाका ३ वटाबुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताए ।

सो वडामा जम्मा एक हजार ८८ मत खसेका थिए त्यसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं ८ सम्मको मतगणना भइसक्दा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विजय खड्का (बाजी) ले तीन हजार ८५७ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा प्रोसिस महराले तीन हजार ७८३ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)की प्रमुख उम्मेदवार मन्जु मलासीले तीन हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा शिवराज खड्काले चार हजार ४६ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार