पहिरो पन्छाएपछि नारायणगढ—मुग्लिन सडक खुल्यो


Share This


नेपालबहस संवाददाता    10 Views

२८ भदौ, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ ।

रातभर पहिरो पन्छाएर बिहान १ बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

सो सडक खण्डमा मंगलबार साँझ ७ः४० बजे चट्टानसहितको पहिरो खसेको थियो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगेको थियो ।

पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सो सडकखण्डमा सवारी चाप बढेको छ ।

यसैवीच स्थानिय प्रसाशनले चाडपर्वमा यात्रुलाई सहज रुपमा घर जाने वातावरण बनाउन मुग्लिन–नारायणघाट सडकमा आउन सक्ने समस्या समाधान गर्ने बताएको छ ।

समस्या समाधानका लागि के गर्नुपर्छ भन्ने अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङको नेतृत्वमा सडक विभाग, मुग्लिन–नारायणघाट सडक आयोजनालगायत सरोकार भएका निकायका प्रतिनिधिले सडकको अवस्थाका बारेमा स्थलगत रुपमा अनुगमन गरेका थिए ।

अनुगमनपछि राज्यमन्त्री गुरुङले सडककै कारण यात्रु अलपत्र हुन नदिनेतर्फ मन्त्रालय सचेत रहेको बताए । यो सडकका सबै खाल्डा पुरी २४ सै घण्टा सवारी चलाउन योग्य बनाइएको छ ।

बुधबारदेखि नै बेलुकी ८ बजेदेखि राति १२ बजेसम्म उपत्यका बाहिर जाने रात्रि बसको चाप हुने भएकाले ट्रकलगायत मालवाहक सवारी प्रवेश निषेध गरिएको आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए।

सडक विस्तारका काम नसकिएकाले बाटोको धुलो कम गर्न दैनिक आयोजनाले पानी हाल्ने व्यवस्था मिलाएको पनि उनले बताए । यो सडकको अनुगमन गर्न दैनिक चार वटा सवारी प्रशासनलाई उपलब्ध गराएको आयोजनाले जनाएको छ । यी सवारीका माध्यमबाट आपतकालीन अवस्थामा उद्धारसमेत गरिनेछ ।

पहिरोको सम्भावित जोखिम भएका स्थानमा खस्नसक्ने माटो ढुंगा पन्छाउन डोजर र स्काभेटरलगायत सामग्रीको व्यवस्था गरिएको छ । अब पहिरोकै कारण सडक अवरुद्ध नहुने गरी काम गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार