गठबन्धनको टाउको दुःखाइ बन्दै बागी उम्मेदवार


Share This


नेपालबहस संवाददाता    46 Views

७ कात्तिक, काठमाडौं । गोरखा २ मा चुनावी मैदानमा उत्रिएका शीर्ष नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले एकअर्काप्रति आरोप–प्रत्यारोप थालेका छन् । सोमबार बिहान छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूले जित्ने दाबीमात्रै गरेनन्, एकअर्काप्रति आरोप–प्रत्यारोप लगाउनसमेत भ्याए ।

भट्टराईले वाम गठबन्धन सत्ताको लोभमा लागेकाले आफू बाहिरिएको बताए । उनले भने, ‘देशलाई निकास दिन वाम वा लोकतान्त्रिक जुन शक्तिसँग भए पनि गठबन्धन गरेर अगाडि बढ्ने योजना थियो ।’ वाम गठबन्धन सत्ताको लोभमा लागेको र परिर्वतन हुन नसकेको आरोप लगाउँदै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनले भने, ‘वाम गठबन्धन सत्ता केन्द्रित भयो, त्यसैले त्यहाँबाट बाहिरिएको हुँ ।’ कांग्रेसलाई जरैदेखि सिध्याउनुपर्छ भन्ने अभिव्यक्ति दिएको भनेर गलत प्रचार गरिएको बताउँदै उनले आफूले त्यस्तो प्रतिक्रिया नदिएको प्रस्ट पारे ।

उनका प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठ सोमबार नै पत्रकार भेटघाट गर्दै बाबुरामको प्रवृत्तिका कारण उनीसँगको तालमेल टिकाउ नभएको बताए । जोसँग पनि मिल्न खोज्ने, आफूले भनेअनुसार सिट नपाएपछि जानेजस्ता प्रवृत्तिका कारण बाबुरामसँगको तालमेल हुन नसकेको उनको भनाइ थियो । कहिले फोरमसँग तालमेल गर्न खोज्ने, कहिले वाम गठबन्धनमा कहिले कांग्रेसमा जाने बाबुरामको ढुलमुले प्रवृत्ति रहेको उनले टिप्पणी गरे । स्थानीय तह निर्वाचनमा परिणाम हेरेपछि बाबुराम झनै अत्तालिएर गठबन्धन गर्न दल खोज्दै हिँडेको श्रेष्ठले आरोप लगाए । उनले भने, ‘बाबुरामजीले चुनाव जित्ने आधार देखिँदैन, कार्यदिशा र योजना केही प्रस्ट छैन ।’

शीर्ष नेताहरूबीच चुनावी प्रतिस्पर्धा हुन लागेको र आउने परिणामबारे सञ्चारकर्मीको जिज्ञासामा उनले बाबुरामको चर्को आलोचना गरेका खबर आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।

भट्टराईले नाम नै किटेर आलोचना नगरे पनि उनले वाम गठबन्धनको सम्बन्ध लामो समय जान नसक्ने र सत्तालिप्सा ध्येय रहेको ठोकुवा गरे । अर्थमन्त्री हुँदा गोरखा २ मा आफूले गरेको लगानी, यसअघि एकपटक विजयी हुँदा जनताले दिएका मत र जनआधारमा जित्ने दाबी गरे ।

‘कृषि, बाटोघाटो, जलविद्युत, पर्यटन र तिब्बतसँगको गोरखाको नाका सधैं खुलाउने अजेन्डामा अगाडि बढेको छु,’ आफूले निर्वाचन जित्ने आधारबारे नेता श्रेष्ठले भने । गोरखाको समृद्धि र सिंगो नेपालको विकासका लागि वाम गठबन्धनले बहुमतको सरकार बनाएर देशको कायपलट गर्ने दाबी उनले गरे । वाम एकता चुनावी मात्रै नभएर पार्टी एकता हुनेमा दुविधा नराख्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे । भट्टराई र श्रेष्ठ माओवादी पार्टीभित्र सँगै काम गरेका थिए । माओवादी युद्धकालको समयमा भट्टराई गोरखासँग नजिक रहेको र नेता कार्यकर्तासँग पनि निकट भएकाले उनले भोट बटुल्न सक्ने आकलन गरिएको छ । श्रेष्ठले भने संगठन बलियो रहेको र वाम तालमेलले जित पक्का भएको दाबी गरेका छन् ।

यी दुई शीर्ष नेताबीच चुनावी प्रतिस्पर्धा हुन लागेको गोरखा २ मा सबैको चासो छ । नयाँ शक्तिका संयोजक भट्टराई र माओवादी नेता श्रेष्ठले उम्मेदवारी दर्ता गराएपछि दुवै नेता मत बटुल्न, नेता र कार्यकर्ताको ध्यान खिच्न सोमबार पनि गोरखा सदरमुकाममा भेटघाट गरिरहेका छन् ।

उनको गोरखाको विकास निर्माणमा मध्यपहाडी लोकमार्ग, बुढीगण्डकी आयोजनाजस्ता राष्ट्रिय गौरवका योजनालाई सम्पन्न गर्न आफूले प्रयत्न गर्ने बताएका छन् । संविधान निर्माणक्रममा आफूले ठूलो योगदान गरेको स्मरण गर्दै उनले भने, ‘जनताले विकास निर्माण र संविधान कार्यान्वयनको जिम्मेवारी दिनेछन्, मत दिएर जिताउनेछन् भन्नेमा आशावादी छु ।’

भष्ट्राचारविरुद्ध विवेकशील साझाको उम्मेदवार
गोरखामा विवेकशील साझा पार्टीले दुवै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । गोरखा १ मा अमृत पुडासैनी र २ मा नवराज थापाले उम्मेदवारी दिएका हुन् । पुडासैनीले कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र माओवादी प्रदेश नम्बर ४ का इन्चार्ज हरि अधिकारीसँग प्रतिस्पर्धा गर्दैछन् । यस्तै थापाले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठसँग चुनाव लड्दैछन् ।

दूरदर्शिता, इमानदारी राख्दै समग्र गोरखा र देशको समृद्धिका लागि उम्मेदवारी दिएको गोरखा २ का उम्मेदवार थापाले बताए । उनले भने ‘भष्ट्राचार, कुसंस्कृति र माफियातन्त्रविरुद्ध हाम्रो उम्मेदवारी हो ।’ शीर्ष नेतासँग निर्वाचनमा जानु जटिल भए पनि प्रतिस्पर्धा गर्न कुनै डर नभएको उनीहरूले बताए ।

उम्मेदवारलाई आचारसंहिताको जानकारी
गोरखास्थित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई आचारसंहिताबारे जानकारी गराएका छन् । निर्वाचन आचारसंहितामा भएका कुरा, ध्यान दिनुपर्ने विषय, उम्मेदवारले गर्न हुने र नहुने कामका बारेमा सोमबार बिहान जानकारी गराइएको हो ।
जिल्ला समन्वय समितिको सभाकक्षमा गरिएको उक्त छलफलमा गोरखा २ बाट चुनावी मैदानमा उत्रिएका डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, १ का चिनकाजी श्रेष्ठ, हरि अधिकारीसहित प्रदेशका उम्मेदवारहरूको उपस्थिति थियो ।

रामेछाप : वाम गठबन्धनविरुद्ध माओवादीकै बागी उम्मेदवार
वाम गठबन्धनलाई सबैभन्दा ठूलो झड्का रामेछापमा लागेको छ । प्रतिनिधिसभा र प्रदेश सभाका दुईवटै क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट बागी उम्मेदवार खडा भएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा माओवादीका श्यामकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनको विरुद्धमा माओवादीकै पूर्वसभासद् लक्ष्मी गुरुङले उम्मेदवारी दिएकी छिन् । त्यस्तै, प्रदेश सभाका दुईवटा क्षेत्र एमालेको भागमा परेको छ । क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र २ बाट कैलाश ढुंगेल उम्मेदवार बनेका छन् ।

उनीहरूको विरुद्ध पनि माओवादी नेताहरू बागी उम्मेदवार बनेका छन् । क्षेत्र नं. १ मा हेमन्त पौडेल र क्षेत्र नं. २ मा मयनकुमार मोक्तानले उम्मेदवारी दिएका छन् । स्रोतका अनुसार उनीहरूलाई माओवादी केन्द्रकै नेता युवराज चौलागाईं, पेमा लामा, रामकुमार लामा, यशु चौलागाईं, नेत्र लामा, खड्ग घिसिङ, रेम थापा, धनदेवी श्रेष्ठलगायतको पनि समर्थन छ ।

मनाङ : पहिले भर गरिएका मनाङेबाट नै एमालेलाई डर
प्रदेश सभा क्षेत्र नं. २ का लागि एमाले मनाङले दीपक मनाङेको नाम सिफारिस गरेको थियो । नेतृत्वबाट पनि मनाङेले टिकटको आश्वासन पाएका थिए । तर, अन्तिम समयमा एमालेले खाण्ड लामा गुरुङलाई उम्मेदवार बनायो । त्यसका विरुद्ध मनाङेले बागी उम्मेदवारी दिएका छन् । पाँच हजार आठ सय ८० मतदाता रहेको मनाङमा मनाङेले थोरै प्रभाव पार्दा पनि नतिजा तलमाथि हुने डर एमालेलाई छ ।

ओखलढुंगा : आधिकारिक उम्मेदवार विरुद्ध कांग्रेसकै बागी उम्मेदवार

प्रदेश सभाको क्षेत्र नं. २ मा कांग्रेसले जिल्ला सभापति प्रदीपकुमार सुनुवारलाई उम्मेदवार बनाएको छ । तर, टिकट वितरण गर्दा नेतृत्वले गलत निर्णय गरेको भन्दै तरुण दलका जिल्ला सभापति ज्ञानेन्द्र रुम्दालीले पनि उम्मेदवारी दर्ता गरेका छन् । सुनुवारलाई टिकट दिएको विरोधमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसहितका जिल्लाका ३१ नेता÷कार्यकर्ताले विज्ञप्ति निकालेका छन् ।

दोलखा : पशुपति चौलागाईंविरुद्ध पुराना एमाले नेता लालकुमार विद्रोही

प्रदेश सभाको क्षेत्र नं. २ मा वाम गठबन्धनका तर्फबाट एमाले नेता पशुपति चौलागाईं उम्मेदवार छन् । उनका विरुद्ध एमालेकै पुराना नेता लालकुमार केसीले उम्मेदवारी दिएका छन् । एमालेले टिकट नदिएपछि केसी मालेबाट उम्मेदवार बनेका हुन् । उनी ०५४ मा जिल्ला विकास समितिको सभापति थिए ।

पूर्वरुकुम : माओवादीकै केन्द्रीय नेता विद्रोही उम्मेदवार
वाम गठबन्धनका तर्फबाट पूर्वीरुकुममा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रकी कमला रोक्का र प्रदेश सभाको क्षेत्र नं. १ बाट माओवादीकै तेजबहादुर ओली उम्मेदवार बनेका छन् । उनीहरू दुवैविरुद्ध माओवादीकै नेताहरू विद्रोही उम्मेदवार बनेका छन् । रोक्काको क्षेत्रमा माओवादीको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तेजेन्द्र खाममगर र ओलीको क्षेत्रमा पुणीराज घर्तीले उम्मेदवारी दिएका छन् । नेतृत्वले पिछडिएको क्षेत्रलाई उपेक्षा गरेर टिकट वितरण गरेको भन्दै स्थानीय केही माओवादी नेताहरूले पनि विद्रोही उम्मेदवारलाई नै साथ दिएका छन् ।

नुवाकोट : जगदीश्वरनरसिंहविरुद्ध कांग्रेसकै बागी उम्मेदवार
कांग्रेसले नुवाकोटको प्रदेश सभा क्षेत्र नं. १ मा जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाएको छ । उनका विरुद्ध कांग्रेसकै बद्री त्रिपाठीले बागी उम्मेदवारी दिएका छन् । कांग्रेस कार्यकर्तामाझ लोकप्रिय रहेका उनी साबिकको मदानपुर गाउँ कमिटीका पूर्वसभापति हुन् । स्थानीय तह निर्वाचनमा त्रिपाठी बेल्कोटगढी नगरपालिकाको मेयरका दाबेदार थिए ।

लमजुङ : दिलबहादुर घर्तीविरुद्ध द्वारिकाप्रसाद मिश्रको उम्मेदवारी
प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका कांग्रेस नेता दिलबहादुर घर्तीविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । स्थानीय तह निर्वाचनमा समेत बागी उम्मेदवार बनेका द्वारिकाप्रसाद मिश्रले घर्तीविरुद्ध पनि उम्मेदवारी दिएका छन् । कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

जाजरकोट र मुगु : दुई जिल्लाका ६ वटै क्षेत्रमा वाम गठबन्धनका बागी
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले उम्मेदवारी दिएका छन् । शाहको बागी उम्मेदवारी परेपछि एमालेको भागमा परेको प्रदेश सभामा माओवादीले र माओवादीको भाग परेको क्षेत्रमा एमालेले पनि उम्मेदवारी दिएको छ । त्यस्तै, मुगुमा प्रतिनिधिसभा र प्रदेशका सबै सिट एमालेलाई दिएको भन्दै तीनै क्षेत्रमा माओवादीले उम्मेदवारी दिएको छ ।

संखुवासभा : वाम र लोकतान्त्रिक दुवै गठबन्धनका बागी उम्मेदवार
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका राजेन्द्र गौतम र कांग्रेसका तर्फबाट दीपक खड्का उम्मेदवार छन् । उनीहरू दुवैविरुद्ध स्थानीय कांग्रेस नेता बालकुमार राई र एमालेका डा। गुप्तबहादुर श्रेष्ठ बागी उम्मेदवार छन् । त्यस्तै, प्रदेश सभाका दुवै क्षेत्रमा पनि कांग्रेसका बागी उम्मेदवार खडा भएका छन् ।

म्याग्दी : कांग्रेस र एमाले दुवैका बागी उम्मेदवार

प्रदेशसभा क्षेत्र नं. १ बाट एमाले र कांग्रेसका नेताहरूले बागी उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादीका विनोद केसी र लोकतान्त्रिक गठबन्धनका तर्फबाट भीमबहादुर गौचन उम्मेदवार बनेका छन् । उनीहरूविरुद्ध कांग्रेसका पुराना नेता नेत्रबहादुर महत र कर्णबहादुर भण्डारी तथा एमालेका केपी अधिकारीले बागी उम्मेदवारी दिएका छन् । ‘मैले पार्टी निर्णयविरुद्ध नभएर कार्यकर्ताको मनोबल बढाउन उम्मेदवारी दिएको हुँ,’ महतले भने, ‘दुवैखाले अधिनायकवादको विपक्षमा रहेका मतदाताको सहयोग मलाई हुन्छ ।’

हुम्ला : वाम गठबन्धनविरुद्ध माओवादीका विद्रोही उम्मेदवार
दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका छक्कबहादुर लामाले प्रतिनिधिसभाका वाम गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिमीदोर्जे उम्मेदवार छन् । त्यस्तै, प्रदेशसभाको क्षेत्र नं. १ बाट माओवादी केन्द्रका लालकेस जैसी वाम गठबन्धनका उम्मेदवार हुन् । उनीविरुद्ध पनि माओवादीकै सुनम ग्याल्जेन लामा विद्रोही उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार