पर्यटनको प्रचुर सम्भावना बोकेको ‘रामगुफा’ ओझेलमा


Share This


नेपालबहस संवाददाता    67 Views

२० भदौ, काठमाडौं । पाल्पा, रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ ।

पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वनवास जाँदा रामपुर नगरपालिका–५ को कालीगण्डकी नदीस्थित रामघाटमा नुहाएको भनाइ छ ।

सोही घाट नजिकै रहेको गुफामा भगवान् रामले रामघाटमा नुहाएर तपस्या गरेको किंवदन्ती रहेको त्यस गुफा परम्परादेखि नै रामगुफाका नामले चिनिँदै आएको छ । त्यस गुफाले रामपुर नगरपालिकाको पर्यटकीय क्षेत्रमा निकै प्रचुर सम्भावना बोकेको छ, तर यसको संरक्षण, विकास र प्रवद्र्धनमा अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकिरहेको छैन ।

यस गुफाभित्र शंखाकार तथा विभिन्न भगवान्का आकृति रहेका छन् । झण्डै ५० मिटरको लम्बाइमा फैलिएको गुफाको संरक्षण नहुँदा त्यहाँ चमेराले यसलाई वासस्थान बनाउँदै आएका छन् ।

भगवान् रामले तपस्या गरेको यस गुफाका विषयमा प्रचारप्रसार नहुँदा यसको धार्मिक, पर्यटकीय महत्व नै ओझेलमा पर्दै गइरहेको छ । त्यसले गर्दा रामगुफाको सट्टा कतिपयले चमेरे गुफा पनि भन्ने गरेको पाइन्छ । त्यहाँका स्थानीयवासी नै गुफाका विषयमा अनभिज्ञ छन् । त्यस गुफाभित्र पानीका मुहान पनि प्रशस्त मात्रामा भेटिन्छन् ।

गुफा संरक्षणका लागि कहीँ कतैबाट पनि सहयोग प्राप्त नहुँदा गुफाको महत्व ओझेलमा परेको स्थानीय बुद्धिप्रकाश रेग्मीले बताए । अब रामपुर नगरपालिकासँग सहयोग माग गरेर गुफा संरक्षणतर्फ लाग्ने उनले बताए।

गुफासम्म जाने बाटो, गुफा वरिपरिको क्षेत्र सरसफाइ, गुफाले ओगटेको जमिनको बाहिरी भाग घेराबार, गुफाभित्र भगवान् रामको मन्दिर निर्माणलगायतका काम तत्काल गर्न सकेमा पनि त्यहाँ पर्यटकको आवागमन ह्वात्तै बढ्ने प्रचुर सम्भावना छ । अहिलेसम्म त्यहाँ गुफामात्र अवलोकन गर्न आउनेको संख्या एकदमै न्यून रहेको छ ।

रामगुफा रामपुरको पर्यटन विकासका लागि एक बलियो मेरुदण्ड हो । यसको पर्यटन प्रवद्र्धनले गति लिन नसक्दा पर्यटकको नजरमा यो आफैँ ओझेलमा परिरहेको छ । त्यहाँसम्म पुग्नका लागि सडकको राम्रो व्यवस्था नहुँदा पनि गुफाका विषयमा जानकार भए पनि खासै चासो दिएको पाइँदैन ।

गुफाको भौतिक पूर्वाधार क्षेत्रको विकास हुन सकेको खण्डमा गुफा अवलोकन गर्नका लागि त्यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटक भित्रने सम्भावना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार